NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यी वस्तु जुन नेपालले विदेश पठाउँछ

काठमाडौं । नेपालका लघु, घरेलु तथा साना उद्योगमा उत्पादित सामग्री छिमेकी भारतदेखि युरोप–अमेरिकासम्म निर्यात हुन्छ । परिमाण सानो भए पनि यसको अर्थपूर्ण महत्व रहेको व्यवसायीहरूको भनाइ छ । राज्यले प्रवर्द्धन गरे सानो लगानीमै उत्पादन हुने यस्ता वस्तु आयात रोक्ने गरी निर्यात बढाउन सकिने उनीहरूले बताएका छन् ।

‘नेपालमा केही उत्पादन हुँदैन, यहाँ सियोसमेत विदेशबाटै ल्याउनुपर्छ’ भन्ने टिप्पणी चिया–चौतारीमा सुनिन्छ । सरकारी तथ्यांकले पनि नेपालमा वार्षिक करिब आठ करोड रुपैयाँबराबरको सियो वा यस्तै (घरायसी र व्यावसायिक दुवै प्रयोजनका) वस्तु आयात भएको देखाउँछ । तर, सियो आयात गर्ने नेपालले वार्षिक ७० करोडको कुचो र पौने चार करोडको अचार निर्यात पनि गर्छ । नेपालमा उत्पादित टाँकको माग छिमेकी भारत र चीनमा मात्र होइन, अमेरिका, जर्मनी, नेदरल्यान्ड र हङकङसम्म छ ।

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित यस्ता वस्तु निर्यातले व्यापार घाटा न्यूनीकरणमा भरथेग मात्रै गरेको छैन, महिला, अशक्त, पिछडिएको वर्ग तथा विपन्नलाई उद्यमीसमेत बनाएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा नेपालमा ६ करोड ६९ लाख कुचो र दुई करोड ९६ लाखबराबरको अचार आयात भएको छ । जब कि यही आर्थिक वर्षमा ७१ करोड ८९ लाखको कुचो र तीन करोड ८६ लाखको अचार निर्यात भएको छ । यस्ता लघु, घरेलु तथा साना उद्योगका उत्पादन जति आयात भएको छ, त्यति नै हाराहारी वा त्योभन्दा बढी निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन तथा निर्यात हुने यस्ता वस्तुको मूल्य परिमाण थोरै भए पनि महत्व भने धेरै देखिने कार्यकारी निर्देशक राणाको भनाइ छ ।

सियोमा परनिर्भर नेपालले माछा मार्ने बल्छी, दाह्री काट्ने रेजर, भेटेरेनरी भ्याक्सिन, टाँकलगायत वस्तु निर्यात गर्छ । त्यस्तै, छुर्पी (कुकुर र बिरालोको खाना), कपाल र त्यसबाट बनेका जुँगा, आँखीभौँ, परेला आदि, यार्सागुम्बा, डाइपर, स्यानेटरी प्याड, क्रिसमसका सामग्री, वाद्यवादन (सांगीतिक उपकरण), कन्ट्याक्ट लेन्स, मूर्ति, सस, घन्टी, चुरा र टीका, टोपी, ह्याट्स, क्यापलगायत वस्तुसमेत निर्यात भइरहेका छन् । सानो लगानीमा उत्पादन हुने यस्ता वस्तु निर्यातले एकातर्फ सम्भावित आयात वृद्धि रोक्न मद्दत गरिरहेको छ भने अर्कोतर्फ स्थानीयस्तरमा रोजगारी एवं उद्यमशीलता विकास गरिरहेका छन् ।

७२ करोडको कुचो भारत, बंगलादेश पुग्छ

आर्थिक वर्ष ०७८/७९ मा नेपालले ७१ करोड ८९ लाख रुपैयाँबराबरको कुचो निर्यात गरेको छ । मुख्यगरी अम्रिसोको कुचो निर्यात हुने गरेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले बताए । त्यस्तै, बाँस, नरिवलको सिन्कालगायतका कुचो पनि निर्यात हुन्छ, तर त्यसको परिमाण भने थोरै छ । कुचोको मुख्य बजार भारत हो । नेपाल कुचोमा आत्मनिर्भर भएर निर्यात गर्न सक्ने भएको कार्कीको भनाइ छ । विभागको तथ्यांकअनुसार गत आवमा भारतमा ६९ करोडको र बंगलादेशमा ११ लाखको कुचो निर्यात भएको छ ।

नेपाली टाँक भारतदेखि युरोप र अमेरिकासम्म

भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा नेपालबाट २९ लाखको टाँक निर्यात भएको छ । नेपालबाट थोरै परिमाणमा निर्यात हुने टाँकको गन्तव्य भने धेरै देश छन् । भन्सार विभागका अनुुसार गत आवमा भारत, अमेरिका, चीन, जर्मनी, नेदरल्यान्ड र हङकङमा टाँक निर्यात भएको छ । सबैभन्दा बढी हङकङमा १७ लाखको निर्यात भएको छ ।

हस्तकला सामग्री वार्षिक ६५ करोडको निर्यात

गत आवमा ६४ करोड ८० लाख मूल्यबराबरको हस्तकलाका सामग्री निर्यात भएका छन् । यो आव ०७७/७८ को तुलनामा १६.७६% ले बढी हो । नेपालको कुल निर्यातमा हस्तकलाका सामग्रीले ०.३२% हिस्सा ओगटेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । विभिन्न ४२ विधामा हस्तकलाका सामग्री जर्मन, बेलायत, फ्रान्स, अमेरिका, चीन, जापानलगायत देशमा निर्यात हुन्छ ।

युरोप–अमेरिका पुग्छ नेपाली कागज

हिमाली क्षेत्रमा पाइने लोक्ताबाट नेपाली कागज (हातेकागज) उत्पादन गरिन्छ । लघु, घरेलु तथा साना उद्यमबाट उत्पादित यस्तो कागज गत आवमा ५२ करोड ७२ लाखको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । युरोप र अमेरिकासम्म निर्यात हुने गरेको हातेकागज संघका अध्यक्ष किरणकुमार डंगोलले बताए । ‘यसले स्थानीयस्तरमा रोजगार सिर्जना गरेको छ, ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्,’ उनले भने, ‘नेपाली कागजमा देश आत्मनिर्भर छ, निर्यात भइरहेको छ, राज्यले प्रोत्साहन गरे अझै बढ्छ ।’

नेपाली अचार र सस अस्ट्रेलिया, क्यानडादेखि कतारसम्म

गएको आर्थिक वर्ष नेपालबाट तीन करोड ८६ लाखको अचार र ६ करोड २० लाखको सस निर्यात भएको छ । लघु, घरेलु तथा साना उद्योगबाट महिला उद्यमीले उत्पादन गरेका यी वस्तुको निर्यातको महत्व बढी हुने नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष रिता सिम्हाले बताइन् । अचार बेलायत, अस्टे«लिया, बेल्जियम, क्यानडा, हङकङ र जापानमा निर्यात भएको छ । अस्ट्रेलियामा मात्र दुई करोड १० लाखको निर्यात भएको छ । सस भने क्यानडा, भारत र कतारमा निर्यात हुन्छ । सबैभन्दा बढी कतारमा २५ लाखको निर्यात भएको छ ।

कपाल र यसका उत्पादन १५ करोडको निर्यात हुन्छ

सैलुन तथा ब्युटिपार्लरमा काटिएका कपाल संकलन गरेर निर्यात हुने गरेको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालबाट दुई करोड १६ लाख रुपैयाँबराबरको कपाल र १३ करोड ३४ लाख रुपैयाँबराबरको कपालबाट बनेका जुँगा, आँखीभौँ, परेलालगायत निर्यात भएको छ । यस्ता सामग्री भारत, कोरिया, जापान, बंगलादेश, चीन, म्यानमार, अमेरिकालगायतका मुलुकमा निर्यात हुन्छ ।

माछा मार्ने बल्छी निर्यात हुन्छ अमेरिका

भन्सार विभागको तथ्यांकअनुसार दाह्री काट्ने रेजर र माछा मार्ने बल्छी पनि निर्यात गर्छ । गत आवमा सात करोड ५८ लाखको रेजर र ६३ लाखको बल्छी निर्यात गरेको छ । अमेरिकामा सात लाख रुपैयाँ र क्यानडामा ५६ लाखको बल्छी निर्यात भएको विभागको तथ्यांक छ । रेजर भने युएईमा निर्यात गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।