NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

८ प्रतिशत ब्याजदरमा ऋण दिने तयारीमा सरकार

काठमाडौं । सरकारले सर्वसाधारणलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । सरकारले अधिकतमा ८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

सरकारले विशेष गरी किसान लक्षित सस्तो व्याजदरमा विनाधितो ऋण प्रवाह गर्ने तयारी गरेको छ । त्यस्तै सीप सिकेर उद्यम गर्न चाहनेहरूले पनि यस्तो ऋण पाउने गरी कार्यविधि बनेको छ ।

सरकारले लघुवित्त कोषमार्फत सस्तो व्याजदरमा ऋण प्रवाह गर्नेछ । यसका लागि कार्यविधिको मस्यौदा बनेको छ । मस्यौदामा अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । मस्यौदा मन्त्रिपरिषदमा पेस गर्ने गरी छलफल भइरहेको अर्थले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा यतिबेला कोरिया भ्रमणमा छन् ।  कोरिया भ्रमणबाट फर्केलगत्तै कार्यविधि मन्त्रिपरिषदमा लैजाने मन्त्रालयको तयारी छ । मन्त्रालयका बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सल्लाहकार डा.शालिकराम पोखरेलका अनुसार सरकारले लघुवित्तलाई चार प्रतिशतमा ऋण उपलब्ध गराउनेछ । लघुवित्तले अधिकतम ८ प्रतिशतसम्म ब्याज लिन पाउनेछन्   लघुवित्त कोषमा ५ खर्ब रुपैयाँ राखिनेछ । बैंक तथा वित्तीय संस्थाले अहिले डिप्राइभ्ड सेक्टरमा प्रवाह गरिरहेको कुल कर्जाको ५ प्रतिशत रकम यो कोषमा जम्मा गर्नुपर्नेछ । डिप्राइभ्ड सेक्टरको ऋण लक्षित विपन्न वर्गसम्म नपुगेका कारण कोषमै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको डा.पोखरेलको भनाइ छ ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा लघुबीमा कोषमार्फत सस्तो ब्याजदरमा ऋण प्रवाह गराउने घोषणा गरेका थिए ।