NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चुनावका बेला प्रहरीको केन्द्रीय निर्वाचन सेल नेतृत्वविहीन

काठमाडौं । चुनावको वेला नेपाल प्रहरीको कार्य विभाग नेतृत्वविहीन बनेको छ । कार्यमा कार्यरत एआइजी सहकुलबहादुर थापा प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएसँगै प्रहरी परिचालनको महत्वपूर्ण केन्द्रीय निकाय कार्य विभागको नेतृत्व रिक्त भएको हो । निर्वाचन सुरक्षाको समन्वयका लागि कार्यविभागकै एआइजीको नेतृत्वमा प्रहरीमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो । एआइजीको थापाको सरुवासँगै केन्द्रीय सेल नै नेतृत्वविहीन भएको हो । अन्य एआइजीलाई सेलको नेतृत्व तोकिएको छैन ।

कार्य विभागमै कार्यरत डिआइजी वसन्त कुँवरलाई विभागको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । तर, उपत्यका प्रहरी कार्यालयमा एआइजी प्रमुख छन् भने तीन प्रदेशमा उनीभन्दा सिनियर डिआइजी कार्यरत रहेकाले चेन अफ कमान्डका दृष्टिले समस्या हुने देखिन्छ । कार्य विभागले देशभरिबाटै रिपोर्टिङ लिने र आवश्यक निर्देशन दिने भूमिका हुन्छ ।

आठमध्ये प्रहरीमा हाल दुई एआइजीको दरबन्दी रिक्त छ । रिक्त पदमा तत्काल बढुवाको तयारी नभएको स्रोत बताउँछ । कार्य तथा प्रदेश समन्वय विभाग रिक्त छ । प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भने एआइजी नहुँदा पनि कार्य विभागबाट नियमित काम भइरहेकाले ठूलो समस्या नभएको बताउँछन् ।

सेनासँग हतियार माग, गाडी खरिद अन्योलमा

प्रहरीले निर्वाचनका लागि नेपाली सेनासँग साढे २७ सय पेस्तोल माग गरेको छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा पनि प्रहरीले सेनासँग एक हजार पेस्तोल लिएको थियो । यसपटक पनि करिब एक हजार मात्र पेस्तोल दिन सकिने जानकारी सेनाले गराएको छ । पर्याप्त पेस्तोल नभएपछि ठूला हतियार नै प्रयोग गरी निर्वाचन गराउन लागिएको छ ।

उता सरकारले गाडी खरिदका लागि ७५ करोड रुपैयाँ दिएकोमा निर्वाचनसम्म खरिद प्रक्रिया सम्पन्न नहुने देखिएको छ । प्रहरीले एक सय ८० गाडीका लागि खरिद प्रक्रिया अघि बढाएको छ । अब दुई महिनाको मात्र समय बाँकी भएकाले गाडी चुनावपछि मात्र आइपुग्ने सम्भावना देखिएको स्रोत बताउँछ । जसअनुसार प्रहरीले यो चुनावमा पनि भाडामा लिने तयारी अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयले एक हजार चार सय ९२ गाडी भाडामा लिनुपर्ने प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले एक हजार ५० गाडी भाडामा लिन मात्र बजेट दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।