NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

को–कोविरुद्ध पर्यो उजुरी ?

निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारविरुद्धको उजुरी दर्ता गरेको छ । आयोगले एक सय ६५ निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरी लिए पनि कति संख्यामा परे भन्ने विवरण भने सार्वजनिक गरेको छैन ।

उजुरी प्रधानमन्त्री शेरबहादुर देउवादेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीविरुद्धसम्म परेको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको उजुरी परेको छ । उनीविरुद्ध अर्का उम्मेदवार कर्ण मल्लले उजुरी गरेका हुन् । उजुरीमा नागरिकतामा २००३ जेठ ३१ जन्ममिति उल्लेख भएको र मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख गरिएको छ । मल्ल बिपी कांग्रेसबाट उम्मेदवार रहेका छन् ।

कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीले आफ्नो बाबु लालवीर चौधरीमार्फत बर्दिया– २ मा उम्मेदवारी दर्ता गराएका थिए । उनीविरुद्ध माओवादी उम्मेदवार सुरेश पन्थले फौजदारी अभियोगमा जेल सजाय काटिरहेको चौधरी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी गरेका हुन् ।

बर्दिया– १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमविरुद्ध अरुणप्रकाश राठोरले उजुरी दिएका छन् । सो क्षेत्रमा कांग्रेसले राठोर र गौतम दुवैलाई टिकट दिएपछि राठोरले आफू नै कांग्रेसको आधिकारिक उम्मेदवार रहेको भन्दै उजुरी दिएका हुन् । कांग्रेसले टिकट दिएपछि दुवैले आइतबार मनोनयन दर्ता गराएका थिए । मनोनयनका क्रममा गौतमले राठोरभन्दा अघि उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसबाटै दुईजनाको नाम लिखित रूपमा दर्ता भएको थियो । तर, आयोगले नाम प्रविष्ट गर्ने क्रममा एकै पार्टीबाट दुई उम्मेदवार हुन नसक्ने व्यवस्थाका कारण कम्प्युटर इन्ट्रीमा भने राठोरको नाम समावेश भएको थिएन । यसबारे राठोरले आयोगलाई जानकारी गराएका थिए ।

सुनसरी– ३ मा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा गच्छदारविरुद्ध आयोगमा उजुरी परेको छ । उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा भने कुनै उजुरी नपरेको निर्वाचन अधिकृत उमाकान्त पौडेलले बताए । तर, गच्छदारविरुद्ध एक व्यक्तिले निर्वाचन आयोगमा उजुरी दिएका छन् । यसबारे अनौपचारिक जानकारी आफूले पाएको निर्वाचन अधिकृत पौडेलले बताए ।

काठमाडौं–४ मा कांग्रेसबाट उम्मेदवार रहेका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका ठाकुरमोहन श्रेष्ठले मनोनयनका क्रममा पेस गरेको टिकटको फर्म्याट नमिलेको भन्दै उजुरी परेको छ । काठमाडौं– ४ की निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार तीनजनाविरुद्ध एकै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार दीपककुमार पोखरेलले उजुरी दिएका हुन् । ‘पार्टीको लेटरप्याडमा राख्दा अनुसूची ७ बमोजिमका ढाँचा नमिलेको भन्दै एकै निवेदनमा तीन उम्मेदवारविरुद्ध उजुरी परेको छ,’ पौडेलले नयाँ पत्रिकासँग भनिन् ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले परेका उजुरीका सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी उम्मेदवारी कायम रहने–नरहनेबारे टुंगो लगाउने बताए ।

‘उम्मेदवारविरुद्ध उजुरी परेका छन् । उजुरीबारे सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी उजुरी पुष्टि हुने आधार भेटेमा उम्मेदवारी रद्द गर्ने र नभएमा उम्मेदवारी कायम रहनेबारे टुंगो लगाउनेछ,’ उनले भने, ‘यसको अधिकार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई नै रहन्छ । केन्द्रमा जानकारी गराउनुपर्ने बाध्यता रहँदैन । आयोग केन्द्रमा के–कति संख्यामा उजुरी परे र कस्ता उजुरी परे भन्ने जानकारी आएको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष