NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कसरी पुगे रवि लामिछाने चितवन ?

काठमाडौं । गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि धेरैको चासो थियो, रवि लामिछानेले कहाँबाट उम्मेदवारी देलान् ? टेलिभिजनको पर्दाबाट चर्चा बटुलिरहेका बेला सञ्चारकर्म छाडेर नयाँ दल गठन गरेपछि उनी कहाँबाट उठ्लान् भन्ने चासो सुरु भएको थियो । चितवन–२ बाट आइतबार प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपछि धेरैको सोधीखोजी छ, आखिर रविले चितवन–२ नै किन रोजे ?

काठमाडौंका स्थायीबासिन्दा भए पनि रवि चितवनका लागि नौला होइनन् । ०७६ साउनमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेपछि उनी ९ दिन जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासतमा बसेका थिए । त्यतिबेला उनको पक्षमा दिनहुँ प्रदर्शन भएको थियो । धरौटीमा छुटेपछि उनले नारायणी नदी किनारामा हजारौं समर्थकलाई धन्यवाद दिन सभा नै राखेका थिए । सोही सभापछि धेरैले रवि राजनीतिक बाटोमा जान खोजेको आकलन गरेका थिए । धेरैले नदी किनारको त्यही भेलाका कारण रविले चितवनमा उम्मेदवारी दिएको लख काटेका छन् तर उनी चितवन झर्नुका पछाडि यही मात्रै कारण होइन ।

यतिबेला चितवनमा रविलाई चिनाउने अभियानको नेतृत्व लिएका छन्, स्थानीय धमेन्द्र सापकोटाले । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन अध्यक्ष सापकोटाको घर भरतपुर महानगरपालिका–५ हो । डिस होमको सुरुवाती लगानीकर्ता सापकोटासँग विभिन्न टेलिभिजनको व्यवस्थापनमा बसेर काम गरेको अनुभव छ । भ्रष्टाचारविरोधी अभियानमा समेत लागेका उनले स्थानीय चुनाव र त्यसपछि पनि स्वतन्त्र उम्मेदवारी अभियान चलाउँदै आएका छन् । कान्तिपुर दैनिकका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा भने अलिक पछि जोडिएका हुन् । सुरुमा पार्टीका जिल्ला अध्यक्ष देवघाटका यमकान्त शर्मा थिए । शर्मा बिरामी भएपछि उनकै प्रस्तावमा आफू जिल्ला अध्यक्ष भएको सापकोटाले बताए ।

सापकोटाले चितवन–३ मा आफ्नो पार्टीले नेपाली कांग्रेसका असन्तुष्ट पक्षका उम्मेदवार जगन्नाथ पौडेललाई समर्थन गर्ने र पौडेल समूहले क्षेत्र नं. २ मा रवि लामिछानेलाई सहयोग गर्ने सहमतिका आधारमा यस्तो निर्णय लिएको बताए ।

एमालेबाट तेस्रो पटक चुनाव लड्दै गरेका कृष्णभक्त पोखरेलप्रति मतदाता सन्तुष्ट नरहेको आकलन गरेर लामिछाने त्यहाँ पुगेको धेरैको बुझाइ छ । तर लामिछानेले आकलन गरेजस्तो स्थिति क्षेत्र नं. २ मा छैन । स्थानीय तह निर्वाचनमा यहाँ एमाले बलियो देखिएको थियो ।

जिल्ला अध्यक्ष सापकोटा यस्ता विषय सामना गर्न आफूहरूले रणनीति बनाएको सुनाउँछन् ।