NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अत्यन्तै कमजोर प्रतिस्पर्धीसँग चुनाव लड्दै शीर्ष नेताहरू

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासहित चार पूर्वप्रधानमन्त्रीहरूका प्रतिस्पर्धी अत्यन्तै कमजोर देखिएका छन् । टिकट पाउँन एकसे युवासहितका नेताको दाबेदारी रहँदै गर्दा प्रमुख पार्टीका शीर्ष नेताविरुद्ध यी दलले प्रभावशाली उम्मेदवार खडा नगरेका हुन् ।

यसअघि प्रतिनिधिसभा र संविधानसभा गरी ६ पटक निर्वाचन जितेका प्रधानमन्त्री देउवा योपटक पनि आफ्नो अपराजित यात्रा कायमै राख्ने कसरतमा छन् । पूर्वप्रधानमन्त्रीमध्ये डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द चुनावी प्रतिस्पर्धाबाट बाहिर छन् । बाँकी निर्वाचनमा भाग लिएकामध्ये प्रचण्डबाहेक ओली, खनाल र नेपाल २०४८ को प्रतिनिधिसभामा निरन्तर उठ्दै आएका छन् । भट्टराईले आगामी निर्वाचनमा भागै नलिने घोषणा गरी आफ्नो निर्वाचन क्षेत्र गोरखा २ पूर्वसहकर्मी प्रचण्डलाई सुम्पिएका छन् ।

चारपटक प्रधानमन्त्री भएका राप्रपा नेता चन्द उमेरहदका कारण अघिल्लो निर्वाचनबाटै बाहिरिएका छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेका खिलराज रेग्मी राजनीतिक गतिविधिभन्दा बाहिर छन् । उनले सर्वोच्चको बहालवाला प्रधानन्यायाधीश रहेकै बेला चैत १ २०६९ मा मन्त्रिपरिषदको अध्यक्ष बनेर कीर्तिमान राखेका थिए ।

शक्तिशाली उम्मेदवारका कमजोर प्रतिस्पर्धी

कार्यकारी प्रमुख देउवासहित चारजना पूर्वप्रमुख चुनावी मैदानमा होमिएपनि उनीहरूलाई चुनौती दिने प्रतिद्वन्द्वी निकै कमजोर देखिएका छन् । संविधान र कानुन अनुसार जुनसुकै तहको नेता भए पनि उम्मेदवारको हैसियत बराबर नै हुनेगर्छ । तर प्रभाव, पहुँच र शक्ति आडमा यिनै नेताहरू हावी हुँदै आएका छन् । केही अपवादबाहेक ३० वर्षे बहुदलीय संसदीय यात्रामा यिनै पात्रहरू नै सधैं निर्वाचित हुँदै आएका छन् । यी पात्रहरूको वरिपरी नेपालको शासनसत्ता घुम्दै आएको छ । परम्परागत राजनीतिक शक्ति भनिएका यी नै व्यक्तिहरूको भागबण्डाको सिण्डिकेट अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनदेखि परम्परागत शक्तिको तीनै सिण्डिकेट तोड्न वैकल्पिक शक्ति निर्माणको बहस जोडतोडले चल्यो । राजनीतिक बजारमा केही नयाँ अनुहार र पात्रहरूले नयाँ दल खोल्ने होड नै चलाएइ । तर नयाँ शक्तिको दुहाइ दिने नै पाँच वर्ष नपुग्दै परम्परागत शक्तिमै ओत लाग्न आइपुगेका छन् ।

योपटक पनि पुराना शक्तिलाई विस्थापित गरी पुस्तान्तरण गर्ने अभियानका साथ धेरै युवा तथा स्वतन्त्र व्यक्तिहरू चुनावी मैदानमा उत्रिएका छन् । राजनीतिक दलहरूभित्र पनि पुस्तान्तरणको धेरै बहस र छलफल भएका छन् । तर टिकट पाउनेमा उनै पुरानै अनुहार र प्रवृत्ति दोहोरिएका छन् ।

शीर्ष नेताहरूविरुद्ध विपक्षी दलहरूले कमजोर उम्मेदवार उठाएका छन् । राज्यसत्ताका बहालवाला पदाधिकारी, पूर्वपदाधिकारी तथा दलका शिर्ष नेताहरूविरुद्ध कमजोर उम्मेदवार उठाएर विपक्षी दलहरूले कर्मकाण्डी व्यवहार देखाएका छन् । यस हिसाबले आगामी निर्वाचनपछि पनि नेपालको राजनीतिमा खासै परिवर्तन आउने छाँट देखिएको छैन । आगामी दिनमा पनि मिलिजुली सत्ता राजनीतिले निरन्तरता पाउने देखिन्छ ।

विपक्षी नेतालाई दबाब दिनैका लागि भए पनि दलहरूले प्रभावशाली र लोकप्रिय उम्मेदवारलाई शीर्ष नेताविरुद्ध उतानुपर्ने हो । तर अघिल्लोपटक शर्मनाक पराजय बेहोरेका, लो प्रोफाइल भएका र प्रभाव नभएकालाई नै कांग्रेस, एमाले, माओवादी, र नेकपा एससहितकाले उम्मेदवार बनाएका हुन् ।

बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका प्रतिद्वन्द्वी कस्ता छन् ?

शेरबहादुर देउवा

२७ फागुन २०५२ मा देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देउवा ४९ वर्षका थिए । त्यसयता उनी पाँचौंपटक प्रधानमन्त्री भइसकेका छन् । निर्वाचनपछि उनी छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । ज्योतिषिले सातौंपटकसम्म प्रधानमन्त्री हुने भविष्यबाणी गरेको विषयलाई उनले गर्वसाथ सुनाउँदै आएका छन् । सुदूरपश्चिमको डडेलधुराको गन्यापधुरास्थित विकट गाउँमा २००३ सालमा जन्मिएका हुन् । सामान्य परिवारमा हुर्केको मानिसले २७ वर्षमा पाँचौंपटक प्रधानमन्त्री हुन पाउन आफैंमा सौभाग्य हो ।

२०४८ देखि निरन्तर प्रतिनिधिसभा निर्वाचन जित्दै आएका देउवाविरुद्ध कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्लले उम्मेदवारी दिएका छन् । देउवाकै पूर्व स्वकीयसचिव रहेका उनलाई देउवाले अनुशासनको कारबाही गरेका थिए । यसपछि दुईबीचको सम्बन्ध बिग्रिएको थियो । गत बैशाखमा मल्ल बिपी कांग्रेसमा लागेका थिए । स्थानीय तह निर्वाचनमा एमालेसँग मिलेर देउवाकै वडामा कांग्रेसलाई पराजित गरेका थिए । एमालेसँग मिलेर आगामी निर्वाचनमा देउवालाई चुनौती दिने सहमति भएपनि अन्तमा एमालेले मल्लको साथ छोडेको छ । स्थानीय निर्वाचनभन्दा संसदीय निर्वाचन फरक हुनेहुँदा देउवालाई मल्लले टक्कर दिन नसक्ने कांग्रेसकै कतिपय नेताहरूको बुझाइ छ ।

देउवालाई परमादेशी सरकारको आरोप लगाउँदै आएको विपक्षी एमालेले देउवालाई हराउन सक्ने उम्मेदवार खडा गरेको छैन । गठबन्धनलाई पराजित गरेर एकल नेतृत्वको सरकार बनाउने दाबी गरेको एमालेले शीर्ष नेताहरू उठेका क्षेत्रमा कमजोर उम्मेदवार पठाएर विपक्षी उम्मदेवाराई सहजीकरण गरेको जस्तो देखिएको छ । देउवाको क्षेत्रमा एमालेले राष्ट्रियसभाका पूर्वसदस्य चक्र स्नेहीलाई उठाएको छ । योपटक देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिएका छन् । ढकाल तीनै व्यक्तिहुन् जो २०७२ मा देउवालाई अक्सफोर्डमा पढेको प्रधानामन्त्री कहिले पाउँछौं भनि प्रश्न गरेका थिए । गुल्मीमा जन्मेका उनी अक्सफोर्ड युनिभर्सिटिबाट इन्जिनियरिङ सकेर नेपाल आएका हुन् । अबको प्रधानमन्त्री ४० वर्ष मुनिका हुनुपर्ने अभिव्यक्ति दिँदै आएका उनले देउवालाई चुनौती दिन सक्छन् वा सक्दैन त्यसका लागि मंसिर ४ कुनैपर्ने हुन्छ ।

अघिल्लो निर्वाचनमा देउवाले २८ हजार ४४६ मत ल्याइ वाम गठबन्धनका उम्मेदवार भट्टलाई पराजित गरेका थिए । उनका प्रतिद्वन्द्वी भट्टले २१ हजार ४९८ मत पाएका थिए । देउवाको मतान्तर ६ हजार ९४८ रहेको छ । योपटक माओवादीसहितको गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गर्न लागिएकाले उनको जित सहज रहेको अनुमान गरिएको छ ।

केपी ओली

एमाले अध्यक्षसमेत रहेका केपी ओली अघिल्लो निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट सबैभन्दा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए । उनी ५७ हजार १३९ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जहाँ ओलीको मतान्तर २८ हजार ८४२ रहेको थियो ।

एमालेसहित माओवादी र राप्रपाको संयुक्त मतको आधारमा ओली अत्याधिक मत ल्याउन सफल भए । योपटक पनि झापामा राप्रपासँग चुनावी तालमेल गरेका ओलीसँग भिड्न कांग्रेसले उनै शर्मनाक हार बेहोरेका पुरानै अनुहार पठाएको हो । स्वतन्त्रबाट ओलीलाई युग पाठकले चुनौती दिएका छन् ।

स्थानीय तह निर्वाचनमा राप्रपाले गठबन्धनसँग चुनावी तालमेल गरी उनकै गृहनगर दमक राप्रपाले हात पारेको थियो । तर संसदीय निर्वाचनमा पार्टीले एमालेसँग सहकार्य गरेपछि दमकका मेयर राम थापा अप्ठ्याराेमा परेका छन् । झापामा निर्णायक भोट राप्रपाको भएकाले दुवै गठबन्धनको तानातानमा राप्रपा परेको छ । राप्रपाले सत्ता गठबन्धनलाई साथ नदिए ओलीकै पल्लाभारी हुने सम्भावना बलियो देखिन्छ ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्र झापा ५ मा ४१ हजार ६१९ मत पाएको छ । यो वडाध्यक्षले पाएको मत हो । त्यस्तै वडाध्यक्षमा कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७७८, नेकपा एसले १९८८, राप्रपाले ८ हजार ३५३ मत पाएको छ । गठबन्धनको जम्मा मत ३४ हजार ७८८ रहेको छ । जबकी एमाले एक्लैको मत ४१ हजार ६१९ छ । एमाले ६ हजार ८३१ मतले अगाडि देखिन्छ ।

प्रचण्ड

२०७४ को निर्वाचनमा गृहजिल्ला चितवनबाट अत्याधिक मत ल्याइ विजयी भएका माओवादी अध्यक्ष प्रचण्डले योपटक गोरखा २ रोजेका छन् । यसअघि कांग्रेससहितको सहयोगमा चितवन ३ बाट चुनावी प्रतिस्पर्धा गर्ने उनले दाबी गर्दै आएका थिए । तर कांग्रेसभित्रको आन्तरिक कलह र एमालेसँग राप्रपाको सहकार्यले झस्किएका उनी निर्वाचनको पूर्वासन्ध्यामा चितवन ३ छोडी गोरखा २ पुगेका हुन् । अघिल्लो तीन निर्वाचनमा गोरखा २ बाट पूर्वप्रधानमन्त्री भट्टराईले निर्वाचन जित्दै आएका थिए । योपटक भट्टराईले चुनावमा भाग नलिने घोषणा गरेपछि प्रचण्डका लागि सहज भएको हो ।

अघिल्लो निर्वाचनमा भट्टराईले श्रेष्ठलाई ६ हजार ८७२ मतले पराजित गरेका थिए । त्यतिबेला नयाँ शक्तिको अध्यक्षसमेत रहेका उनी ३१ हजार ८०७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए ।

माओवादी युद्धको उद्गम स्थलसमेत रहेकाले गोरखा प्रचण्डका लागि आगामी निर्वाचन निकै सुरक्षित मानिएको छ । उनकोविरुद्ध त्यहाँ एमालेले भर्खर पार्टी प्रवेश गरेका अब्दुष मियाँलाई पठाएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकोसमेत निर्वाचन क्षेत्ररहेकाले एमालेको उम्मेदवारीले उनलाई फरक नपर्ने देखिन्छ । गोरखामा एमालेको उपस्थिति पहिल्यैदेखि कमजोर छ ।

गोरखामा प्रचण्डविरुद्ध कांग्रेसकी माधवी भट्टले बागी उम्मेदवारी दिएकी छिन् । प्रचण्डले चितवनका कांग्रेस पनि सिध्याएको छ र अब गोरखाका कांग्रेस पनि सिध्याउन खोजेको भन्दै आफूले उनलाई हराउन उम्मेदवारी दिएको घोषणा उनले गरेकी छिन् ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ११ पालिकामध्ये ९ पालिका प्रमुख माओवादीले जितेको थियो । अघिल्लो निर्वाचनमा ९ पालिका जितेको कांग्रेस योपटक २ पालिकामा सीमित हुन पुग्यो । एमाले वडाध्यक्षमा मात्रै चित्त बुझाउन बाध्य भयो । स्थानीय तह निर्वाचनमा गोरखा २ का वडाध्यक्षमा माओवादीले २२ हजार २५० भोट पाएको छ । कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको जम्मा ८७८ मत रहको छ ।

यस क्षेत्रमा गठबन्धनको जम्मा मत ५० हजार ८९० रहेको छ । तेस्रो स्थानमा रहेको एमालेको मत जम्मा ७ हजार ९२६ रहेको छ । एमालेसँग गठबन्धनको मतान्तर ४२ हजार ९६४ रहेको छ ।

माधव नेपाल

अघिल्लो निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार रहेका नेपाल काठमाडौं–२ बाट विजयी भएका थिए । योपटक उनले गृहजिल्ला रौतहटबाट चुनावमा भाग लिने भएका छन् । एकीकृत समाजवादीको पकड क्षेत्र रहेको रौतहट–१ बाट चुनावमा उठ्न लागेका हुन् । माधव नेपाललाई पत्तासाफ बनाउने घोषणा गरेका ओलीले विद्रोही नेताविरुद्ध लोसपाबाट भर्खर एमाले प्रवेश गरेका अजय गुप्तालाई उम्मेदवार बनाएका छन् । लोसपा गठबन्धनमै रहेकाले नेपाललाई थप सहज देखिन्छ । तर मधेशका सबैभन्दा ठूलो दल जसपा एमालेसँग सहकार्य गरेकाले त्यसको प्रभाव नेपाललाई पर्न सक्छ ।

रौतहट–१ मा अघिल्लोपटक राष्ट्रिय जनता पार्टीका उम्मेदवार अनिल झाले जितेका थिए । झा २१ हजार ४७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए । झाको मतान्तर ५ हजार ५९५ रहेको छ । माओवादीका सत्यनारायण भगले १२ हजार ३३१ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा रौतहट– १ बाट एसले १९६९८, कांग्रेसले १६९२८, लोसपाले १२०६२, जसपाले ८२४१, माओवादीले ८१९१ र एमालेले ७३८५ मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ४४ हजार ८१७ रहेको छ । एमालेसँगको मतान्तर ३७ हजार ४३२ रहेको छ ।
नेपाल २०७० को निर्वाचनमा पनि काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचित भएका थिए । मतपरिणाम हेर्दा नेपाल रौतहट–१ मा सुरक्षित रहेका देखिन्छन् । नेपाल २०६४ सालमा दुईदुई ठाउँबाट चुनाव हार्दा पनि प्रधानमन्त्री बन्न सफल भएका थिए ।

झलनाथ खनाल

२०५६ को निर्वाचनबाहेक इलाम क्षेत्र–१ बाट लगातार प्रतिनिधिसभामा निर्वाचित रहेका पूर्वप्रधानमन्त्री एवं नेता खनाल योपटक पनि साविक क्षेत्रबाट नै निर्वाचनमा भाग लिएका छन् । जीवनको अन्तिमपटक निर्वाचनमा भाग लिन लागेको घोषणा गरेका उनी अघिल्लो निर्वाचनमा ३८ हजार ८०५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । उनको मतान्तर १७ हजार १६७ रहेको छ ।

गतवर्ष एमालेसँग विद्रोह गरी नेकपा एकीकृत समाजवादी रोजेका खनालविरुद्ध एमालेले महेश बस्नेतलाई उठाएको छ । उनी एमाले जिल्ला कमिटी अध्यक्षसमेत हुन् । इलाम नगरपालिकाका पूर्वमेयर हुन् ।

स्थानीय तह निर्वाचनमा इलाम–१ मा एमालेको २६२३३, कांग्रेसको २५७७२, एसको ९४८१, जसपा १८२९, माओवादी १२३५ र राप्रपाको ११६९ मत रहेको छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ३६ हजार ४८८ मत रहेको छ । एमालेसँगको मतान्तर १० हजार २५५ रहेको छ । गठबन्धनको भोट प्रभावित नभए आगामी निर्वाचनमा पनि चुनाव जित्ने देखिन्छ ।