NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते
च्याम्पियन्स लिग

बार्सिलोनालाई दोस्रो चरणमा पुग्नै कठिन, यस्तो छ गएराति भएका ८ खेलको नतिजा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनालाई युइएफए च्याम्यियन्स लिगको दोस्रो चरणमा जानै कठिन भएको छ ।

गएराति घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानसँग ३–३ गोलको बराबरीमा रोकिएसँगै बार्सिलोनाको अन्तिम १६ मा पुग्ने बाटो कठिन बनेको हो ।

उस्मान डेम्बेलेको गोलले घरेलु टोलीलाई पहिलो हाफमा अग्रता दिलायो । तर दोस्रो हाफको सुरुमै इन्टरले खेललाई फर्काउन सफल भयो ।

जब जेरार्ड पिकेले बक्समा गल्ती गर्दै क्रस क्लियर गर्न नसक्दा निकोलो बरेलाले बराबरी गोल गरे । लगत्तै लाउटारो मार्टिनेजले कमजोर डिफेन्सको फाइदा उठाउँदै इन्टरलाई अग्रता दिलाए ।

रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि आठ मिनेट बाँकी रहँदासम्म खेल बराबरीमा आयो । तर इन्टरको बेन्चबाट आएका रोबिन गोसेन्सले ८९औं मिनेटमा गोल गर्दै पुनः इन्टरलाई तीन अंकको नजिक पुर्याए ।

इन्जुरी समयमा लेवान्डोस्कीको उत्कृष्ट हेडरले बार्सिलोनाको हार टार्यो । यद्यपि, यस बराबरीसँगै बार्सिलोना इन्टरसँग ३ अंकले पछि पार्दै तेस्रो स्थानमा सीमित भएको छ ।
अब समूह सीमा दोस्रो स्थानमा रहेको इन्टरलाई तीन अंकले पछि पार्न बार्सिलोनालाई मुस्किल छ । इन्टरसँग बलियो हेड टू हेड रेकर्डसमेत छ । सिमोन इन्जाघीको टोलीले चेक क्लब भिक्टोरिया प्लाजन वा बायर्नलाई हराएमा मात्र पनि दोस्रो चरणमा पुग्नेछ ।

यता बार्सिलोनाको सम्भावना भने धेरै नै कम देखिन्छ । उसलेई जर्मन महारथी बायर्न म्युनिख र प्लाजनलाई हराएर मात्र पुग्दैन इन्टरले दुवै खेल हारेमा मात्र उ सुरक्षित हुनेछ ।

अघिल्लो सिजन पनि बार्सिलोना समूहमा तेस्रो स्थानमा सीमित भएको थियो ।

गएराति नै भएको यसै समूहको अर्को खेलमा बायर्नले प्लाजनलाई ४–२ गोल अन्तरले हराउँदै दोस्रो चरणको लागि टिकट काटिसकेको छ ।

यस्तै, गएराति नै भएको समूह एको खेलमा डच क्लब आयाक्सलाई ४–२ गोल अन्तरले पाखा लगाउँदै इटालियन क्लब नापोली नकआउट चरणमा प्रवेश गरेको छ ।

यसै समूहको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्सलाई ७–१ को भारी अन्तरले पाखा लगाउँदै नकआउटमा जाने सम्भावना बलियो बनाएको छ ।

यसैगरी, समूह बीको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड घरेलु मैदानमा बेल्जियन क्लब ब्रुगसँग गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजाले ब्रुग अन्तिम १६ मा प्रवेश गरेको छ । यता, एट्लेटिकोको अन्तिम १६ मा पुग्ने सम्भावना कठिन बनेको छ ।

यसै समूहका रहेको पोर्चुगिज क्लब पोर्टोले भने जर्मन क्लब बायर लेभरकुसनलाई ३–० ले हराउँदै दोस्रो चरणमा जाने सम्भावना बलियो बनाएको छ ।

समूह डीको खेलमा फ्रेन्च क्लब मार्सेईले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई २–० ले हराएर दोस्रो चरणमा जाने सम्भावना जीवितै राखेको छ ।

यसै समूहको अर्को खेलमा इंग्लिस क्लब टोटनहम हटस्परले जर्मन क्लब फ्रान्कफर्टलाई ३–२ ले हराएको छ । टोटनहम समूहको शीर्ष स्थानमा छ ।

स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

हेरौं पछिल्ला ८ खेलको नजिता :

च्याम्पियन्स लिगका ९ खेल : अधिकांश ठूला टोलीले जिते, केहीले भोगे अप्रत्यासित नतिजा