NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

 प्रचण्डमाथि अब्दुसको टिप्पणी : तीन दशकदेखिका अस्थिरताको प्रमुख कारकलाई विदा गर्छु

काठमाडौं । भर्खर एमाले प्रवेश गरेका विवेकशील साझाका पूर्वनेता अब्दुस मियाँले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । भेटपछि उनले माओवादीका अध्यक्ष तथा प्रतिद्वन्द्वी पुष्पकमल दाहाल प्रचण्डलाई तीन दशकदेखि राजनीतिका अस्थिर नेता भएको आरोप लगाएका छन् । योपटक प्रचण्डलाई गोरखामा राजनीतिबाटै विदा गर्ने उनले जिकिर गरेका छन् ।

एमालेको तर्पबाट गोरखा २ मा उम्मेदवारी दिएका उनले शुक्रबार ओलीसँग भेट गरेका हुन् । मियाँ आजमात्र गोरखाबाट काठमाडौं आएका हुन् । निर्वाचन तयारी सम्बन्धमा छलफल गर्न ओली निवास बालकोट पुगेको उनले जानकारी दिएका छन् ।

‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यसपटक राजनीतिबाटै विदा गर्दैछ। साथ दिनुहोला है’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पेशाले इन्जिनियर रहेका मियाँ वैकल्पिक शक्ति निमार्ण गर्ने भन्दै  २०७४ मा रवीन्द्र मिश्रको साझा पार्टीबाट राजनीतिमा प्रवेश गरेका थिए । साझा हुँदै विवेकशील साझाका सचिवालय सदस्य रहेका उनी पार्टी छिन्नभिन्न भएपछि निष्किृय रहेका थिए ।

काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उनी केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।