NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

ग्लोबल हंगर इन्डेक्स : ८१ औं स्थानमा नेपाल, चीनलगायत १७ मुलुक शीर्ष स्थानमा

काठमाडौं । वैश्विक भोकमरी सूचकाङ्क (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१ औं स्थानमा परेको छ । विश्वका १२१ को वरियतामा नेपाल १९.१ अंकका साथ ८१ औं स्थानमा समेटिएको हो ।

भर्खरै सार्वनजिक भएको सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको छ ।

गत वर्ष ११६ देशको वरीयतामा नेपाल यो सूचकांकको ७६ औं स्थानमा थियो ।

दक्षिण एसियाली मुलुक भारत १०७ औँ स्थानमा छ भने पाकिस्तान ९९औं र बंगलादेश ८४ औं स्थानमा छ ।

यस सूचीमा दक्षिण एसियाको सबैभन्दा राम्रो स्थानमा श्रीलंका छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यस सूचकाङ्कमा ६४ औँ स्थानमा रहेको छ ।

अफगानिस्तानबाहेक सबैको अवस्था भोकमरी सूचकाङ्कमा भारतभन्दा राम्रो छ । यस सूचीमा अफगानिस्तान १०९ औँ स्थानमा छ ।

ग्लोबल हंगर इन्डेक्स (जिएचआई) विश्वव्यापी, क्षेत्रीय र राष्ट्रियस्तरमा भोकमरीको विस्तृत मापन र ट्र्याकिङ हो।

जिएसआई स्कोर सामान्यतया कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदरसहित चार सूचकहरूको मानमा मापन गरिन्छ।

जिएसआईको कुल १०० अंक छ, जसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइएको छ। अर्थात् कुनै देशको अङ्क शून्य छ भने त्यो राम्रो अवस्थामा छ र कसैको १०० अंक छ भने त्यो निकै खराब अवस्थामा छ ।

कुल १७ देश शीर्ष स्थानमा छन् जसको स्कोर ६ भन्दा कम छ। यी देशहरूमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिली छन् ।

मुस्लिम बाहुल्य देश यूएई १८औँ, उज्वेकिस्तान २१औँ, काजकिस्तान २४औँ, ट्युनिसिया २६औँ, इरान २९औँ, साउदी अरब ३० औँ स्थानमा छ ।