NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेसले पाएका ९१ सिटमा देउवा र शेखर पक्षका उम्मेदवार को– को हुन् ?

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले चुनावी तालमेलमा पाएका ९१ सिटमा डा. शेखर कोइराला पक्षले प्रतिनिधिसभामा २० हाराहारी मात्रै टिकट पाएको छ ।

समानुपातिकमा ११० जनाको सूची बुझाउँदा शेखर पक्षका १२/१३ मात्रै सदस्य परेपछि असन्तुष्टि र विरोध बढेको थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले क्लस्टर अनुसारको सूची संसोधन गरेर शेखर पक्षकालाई पारेका थिए ।

समानुपातिकपछि प्रत्यक्षमा पनि शेखर पक्षले उल्लेख्य उम्मेदवार नपाएको हो । १४ औं महाधिवेशनमा ४० प्रतिशत भोट ल्याएको आधारमा यस्तै हिस्साको दाबी यो पक्षको हुँदै आएको छ । तर ९१ सिटमा पाउँदा शेखर पक्षले २० सिट अर्थात २२ प्रतिशत हाराहारी मात्रै पाएको हो ।
बाँकी ७१ जनामा ७ जना सिटौला सिटौला निकटका प्रत्यक्ष देखिने उम्मेदवार छन् । समग्रमा ७ जनाजति रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह निकटका छन् । यस्तोमा झण्डै ५७ जना उम्मेदवार सभापति शेरबहादुर देउवा निकटका देखिएका छन् ।

प्रदेश १ मा शेखर पक्षले ५ उम्मेदवार पाएको छ । जसमा सोलुखुम्बुमा बलबहादुर केसी मोरङ १ मा डीगबहादुर लिम्बु, मोरङ २ मा सुजाता कोइराला, मोरङ ३ मा सुनिल शर्मा र मोरङ ६ डा. शेखर कोइराला छन् । शेखर कोइरालाले प्रतिनिधित्व गर्ने क्षेत्र रहेकोले पनि मोरङमा भने यो पक्षले राम्रै संख्यामा टिकट पाएको छ । यो प्रदेशबाट कोइरालाद्वय र केसीले स्वभाविक उम्मेदवार हुन् ।

मधेस प्रदेशमा ३ सिट डा. शेखर पक्षले पाएको छ । यो पक्षबाट सप्तरी १ मा रामदेव साह, सप्तरी ४ मा तेजुलाल चौधरी र धनुषा २ मा रामकृष्ण यादव छन् ।

वागमती प्रदेशमा धादिङ २ मा रामनाथ अधिकारी, नुवाकोट २ मा अर्जुननरसिंह केसी, काठमाडौं ४ मा गगन थापा र काठमाडौं ३ मा सन्तोष चालिसे छन् । चालिसे पहिले देउवा निकटका हुन् । तर यसपटक महामन्त्री गगन थापाले उनलाई टिकट दिलाएको गगन निकटका एक नेताको दाबी छ । यो प्रदेशबाट परेकामा गगन महामन्त्री हुन् भने केसी सिनियर नेता हुन् । भागबण्डामा नपरे पनि यी कांग्रेसका स्वभाविक उम्मेदवार हुन् ।

गण्डकी प्रदेशको स्याङजा २ मा धनराज गुरुङमात्रै शेखर पक्षका उम्मेदवार देखिएका छन् । गुरुङले पहिलोपटक टिकट पाएका हुन् । उनी कांग्रेसका उसभापति भएकोले कुनै गुटमा नपरी पनि टिकट पाउने स्वभाविक नेता हुन् ।

लुम्बिनीमा दाङ ३ बाट दीपक गिरी, गुल्मी १ बाट चन्द्रकान्त भण्डारी र बर्दिया १ बाट सञ्जयकुमार गौतम छन् । सभापति देउवाले यसपटक गौतमलाई उम्मेदवार बनाउन चाहेका थिएनन् । तर अघिल्लोपटक वामदेव गौतमलाई हराएर चर्चामा आएका उनको टिकट देउवाले यसपटक काट्न सकेनन् ।

कर्णालीमा कांग्रेसले ४ सिट पाउँदा शेखरपक्षले २ सिट पाएको छ । जसमा सुर्खेत २ मा हृदयराम थानी र दैलेख २ मा दिक्पाल शाही छन् ।

सुदूरपश्चिममा दार्चुलामा दीलेन्द्रप्रसाद बडू र बाजुरामा बद्रि पाण्डे शेखर पक्षका उम्मेदवार हुन् । यी दुवै भागबण्डाका आधारभन्दा पनि पदाधिकारी र सिनियर नेताको रुपमा अटाएको देखिन्छ ।

सन्तुष्ट छैन शेखर पक्ष

प्रतिनिधिसभाको प्रत्यक्षको अगाडि समानुपातिकको बन्द सूची बुझाउँदा थोरै संख्यामा मात्रै आफ्ना नेता अटाएपछि शेखर पक्षले आक्रोश व्यक्त गरेको थियो । यसपछि सभापति शेरबहादुर देउवाले समानुपातिकको सूचीको क्रम मिलाएर शेखर पक्षबाट केही सांसद थपिन सक्ने बनाए । यसपछि शेखर पक्षको असन्तुष्टि मत्थर भयो । डा. शेखर कोइराला आफैंले मोरङ पुगेर अब देउवासँग आफ्नो कुनै समझदारी र गुनासो नरहेको प्रष्ट्याएपछि कांग्रेसको विवाद साम्य भएको रुपमा हेरिएको छ । गुट भत्किसकेको, देउवा र आफू मिलिसकेकोसमेत शेखरले बताउन भुलेनन् । चुनावको मुखमा असन्तुष्टि व्यक्त गर्दा उल्टै हानी गर्ने भएर शेखरले रणनीतिक रुपमा यस्तो बोलेको पनि बताइन्छ ।

तर प्रत्यक्षमा भने शेखर पक्षका धेरै उम्मेदवार बन्न सकेनन् । यो पक्षका पदाधिकारी सिनियर र टिकट पाउनैपर्नेले पाएजस्तो देखिए पनि भागबण्डाका आधारमा देउवाले संख्या निर्धारण नगरेका हुन् । यस्तो हुँदा यो पक्षमा असमझदारी कायम छ ।

‘हामीले आन्दोलन गरेर अलिअलि समानुपातिकमा बढाए । तर शेखर पक्षले आफ्नैलाई टिकट दिलाउन सकेनन् । आफू सुरक्षित भए । आफ्ना निकटलाई टिकट दिलाउन सकेनन् । आ–आफ्नो टाउको जोगाउने काम भयो ।’ शेखर पक्षकै एक नेता भन्छन् ।

सम्मानजनक संख्या नपाए चुनावमा नै नउठ्ने अडानबाट नेताहरू भागेको ती नेता बताउँछन् ।

‘हामीले समानुपातिकमा देउवालाई दबाब बढाउँदा सूची केही सच्चिएको छ । यसले प्रत्यक्षमा हाम्रा उठाउनैपर्ने साथीहरू समेट्न दबाब बढाएको थियो । तर राम्रो प्रोफाइल भइसकेका जो टिकट पाउनैपर्ने लायकका थिए  उनीहरूले नै पाएको टिकटलाई भागबण्डा भनियो । यिनैलाई देखाएर टिकट पाउनुपर्नेलाई अलपत्र पारिएको छ ।’ ती नेता भन्छन्, ‘पहिले हामीले नै सूची सच्यायौं तर मिलेर हामीलाई सिध्याउने काम भयो । भागबण्डामा धेरै पाइयो भनेर हाम्रा अगुवाले चित्त बुझाउँदा धेरै साथी अन्यायमा परे ।

शेखर पक्षबाट डा. मीनेन्द्र रिजाल, स्वार्णिम वाग्ले, डा. गोविन्दराज पोखरेल, गुरु घिमिरे, भुपेन्द्रजंग शाहीसहितका नेताले टिकट पाएनन् । जितेका अमरेशकुमार सिंहलाई समेत यसपटक कांग्रेसले टिकट दिएन ।

कहाँ कुन गुटका उम्मेदवार ?

प्रदेश १

संस्थापन पक्ष

इलाम २ – डम्बर खड्का
धनकुटा – सुनिलबहादुर थापा
तेह्रथुम – सीता गुरुङ
ओखलढुंगा – रामहरि खतिवडा
उदयपुर १ – डा. नारायण खड्का
सुनसरी २ – सीताराम मेहता
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
पाँचथर– भीष्मराज आङदेम्बे

शेखर पक्ष

सोलुखुम्बु – बलबहादुर केसी
मोरङ १ – डीगबहादुर लिम्बु
मोरङ २ – सुजाता कोइराला
मोरङ ३ – सुनिल शर्मा
मोरङ ६ – डा. शेखर कोइराला

सिटौला पक्ष

झापा ३– कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
झापा ५ – खगेन्द्र अधिकारी

प्रकाशमान सिंह निकट

विश्वप्रकाश शर्मा
संखुवासभा – दीपक खड्का (देउवा र शशांक दुवैतिरको सम्पर्कमा)

मधेस प्रदेश

संस्थापन पक्ष

सप्तरी ३ – दिनेशकुमार यादव
सिरहा १ – पद्यनारायण चौधरी
सिरहा २ – चित्रलेखा यादव
सर्लाही ४ – नागेन्द्रराय यादव
रौतहट २ – फिर्दोष आलम
रौतहट ४ – देवीप्रसाद तिमल्सिना
धनुषा ४ – महेन्द्र यादव
महोत्तरी ४ – महेन्द्रकुमार यादव
पर्सा २ – अजयकुमार चौरसिया
पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा ४ – रमेश रिजाल

शेखर पक्ष

सप्तरी १ – रामदेव साह
सप्तरी ४ – तेजुलाल चौधरी
धनुषा २ – रामकृष्ण यादव

सिटौला पक्ष

बारा १ – उमाकान्त चौधरी

वागमती

संस्थापन पक्ष

सिन्धुली १ – श्याम घिमिरे
रामेछाप – पूर्णबहादुर तामाङ (कान्छाराम)
रसुवा – मोहन आचार्य
सिन्धुपलाञ्चोक २ – मोहनबहादुर बस्नेत
ललितपुर १ – उदयशमशेर राणा
भक्तपुर २ – दुर्लभ थापा
चितवन १ – विश्व पौडेल
चितवन २ – उमेश श्रेष्ठ
मकवानपुर १ – महालक्ष्मी उपाध्याय डिना

शेखर पक्ष

धादिङ २ – रामनाथ अधिकारी
नुवाकोट २ – अर्जुननरसिंह केसी
काठमाडौं ४ – गगन थापा
काठमाडौं ३ – सन्तोष चालिसे

सिटौला पक्ष

काभ्रे २ – शिवप्रसाद हुमागाईं
काठमाडौं ५ – प्रदीप पौडेल
काठमाडौं ६ – भीमसेनदास प्रधान

प्रकाशमान सिंह

काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं १० – राजेन्द्रकुमार केसी

गण्डकी प्रदेश

संस्थापन पक्ष

मनाङ – टेकबहादुर गुरुङ
कास्की १ – किशोरदत्त बराल

नवलपरासी २ – विष्णुकुमार कार्की
म्याग्दी – खम्बीर गर्बुजा
पर्वत – अर्जुनप्रसाद जोशी
स्याङ्जा १ – राजु थापा
तनहुँ २ – शंकर भण्डारी
गोरखा १ – राजेन्द्र बजगाईं

शेखर पक्ष

स्याङजा २ – धनराज गुरुङ

अन्य

नवलपुर १ – डा. शशांक कोइराला

तनहुँ १ – रामचन्द्र पौडेल
मुस्ताङ – योगेश गौचन थकाली (देउवा र शेखर दुवैतिर सम्पर्कमा)

लुम्बिनी प्रदेश

संस्थापन पक्ष

नवलपरासी १ – विनोदकुमार चौधरी
नवलपरासी (बर्दघाट सुस्ता) २ – देवेन्द्रराज कँडेल
पाल्पा १ – ज्ञानबहादुर गाहा
कपिलवस्तु २ – सुरेन्द्रप्रसाद आचार्य
कपिलवस्तु ३ – अभिषेकप्रताप शाह
बाँके २ – सुदीपनरसिंह राणा
बाँके ३ – किशोरसिंह राठौर
अर्घाखाँची – पुष्पा भुसाल
रूपेन्देही ३ – बालकृष्ण खाँण
रुपन्देही ४ – प्रमोद यादव
रुपन्देही ५ – भरत शाह

शेखर पक्ष

दाङ ३ – दीपक गिरी
गुल्मी १ – चन्द्रकान्त भण्डारी
बर्दिया १ – सञ्जयकुमार गौतम

कर्णाली प्रदेश

संस्थापन पक्ष

सुर्खेत १ – पूर्णबहादुर खड्का
मुगु – ऐनबहादुर शाही

शेखर पक्ष

सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – दिक्पाल शाही

सुदूरपश्चिम

संस्थापन पक्ष

डडेलधुरा – शेरबहादुर देउवा
अछाम २ – पुष्पबहादुर शाह
कञ्चनपुर २ – एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक
कैलाली १ – रामजनम चौधरी
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – डिल्लीराज पन्त

शेखर पक्ष

दार्चुला – दीलेन्द्रप्रसाद बडू
बाजुरा – बद्रि पाण्डे