यसरी मनाइँदैछ आज धनतेरस
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।
यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ ।
धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साजसज्जा गरी राखिएको छ ।
यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदैछ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ ।
केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन् ।
दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो ।
आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धन्वन्तरि जयन्ती पनि आइतबार नै मनाइन्छ ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया