NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमालेमा पूर्व माओवादीका ९ जनामध्ये चुनाव जित्नेमा एक जना पनि ढुक्क किन छैनन् ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट पूर्वमाओवादीका ९ जना उम्मेदवार रहेका छन् । नेकपा विभाजनपछि माओवादी नफर्किएर एमालेमै रहेका उनीमध्ये ११ जनाले टिकट पाएका थिए । प्रभु साह र कुन्दन कुशवाहले मनोनयन दर्ताको अन्तिम समयमा एमालेसँग विद्रोह गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभातर्फ १६५ सीटमध्ये १४२ ठाउँमा एमालेले उम्मेदवार उठाएको छ । प्रचण्डका साथमा रहेका केही नेताले केपी ओलीलाई साथ दिंदै आएका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल स्थायी समिति सदस्य मणि थापाले उम्मेदवार बन्न चाहेनन् ।

यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वमाओवादीबाट लीलादेवी भण्डारी, नैनकला थापा, टंक आङ्बोहाङ लगायत नेताहरू उम्मेदवार भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा २४ जनाले टिकट पाएका छन् । प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यमा १४ जना उम्मेदवार भएका छन् ।

पूर्वमाओवादीबाट प्रदेशतर्फ बागमतीमा चितवनका प्रकाश खनाल, सिन्धुपाल्चोकका अमानसिंह तामाङ, सिन्धुलीका रामकुमार पौडेललगायत उम्मेदवार छन् । गण्डकीबाट समानुपातिकतर्फ लिलाबहादुर थापा उम्मेदवार छन् ।

लुम्बिनीमा प्रदेश सांसद पद त्यागेर एमाले बनेका रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका दिनेश पन्थीलगायत पनि उम्मेदवार छन् । कर्णालीका ठम्मर विष्ट, धर्म रेग्मी र छक्कबहादुर लामा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् ।

उम्मेदवार भएपनि बेचैन पूर्वमाओवादी

माओवादीको जनमतसमेत चोर्ने रणनीतिसाथ ओलीले पूर्वमाओवादीलाई विशेष प्राथमिकता दिएका छन् । नेकपाको असली अनुहार एमालेमा देखिएको दाबी गर्दै आएका ओली चुनावको मुखमै प्रभुको विद्रोहले झस्किएका छन् । प्रभुको गतिविधिलाई संदिग्धको संज्ञा दिँदै उनले मधेशमा एमालेलाई शून्य बनाउने षड्यन्त्र भएको आरोप लगाए ।

‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । पाँच बजेसम्म टिकट खल्तीमा राख्नुभयो । म उम्मदेवारी दिँदैछु भन्नुभयो र पाँच बजे वारिस पठाएर स्वतन्त्र ढंगले गर्नुभयो भनेपछि त्यो त धोका भयो, बेइमानी भयो’, ओलीले भनेका थिए, ‘पार्टीमा उहाँ अलिक लामो समयदेखि संदिग्ध गतिविधि गरिरहनुभएको थियो । त्यस्ता रिपोर्टहरू पनि आइरहेका थिए । तर मैले त्यति विश्वास गरिरहेको थिइनँ । हिजो उहाँको तरिका देखेपछि जे रिपोर्टहरू आएका थिए ती सही रहेछन् भन्ने भयो ।’

एमालेमा पार्टी नीति, विधान र सिद्धान्त विपरित ओलीको एकल आदेश चल्ने गरेको आरोप लगाउँदै माओवादी पृष्ठभूमिका नेताहरू पहिल्यै ओलीसँग असन्तुष्ट देखिन्थे । ओलीले निर्वाचनमा माओवादी जनमत प्रभावित पार्न मात्र आफूहरूलाई उपयोग गर्न खोजेको आरोप उनीहरूको थियो । त्यहाँभित्रका पूर्वमाओवादीका एक नेताले नाममात्रको पद लिएर ओलीसँग धेरै बस्न नसकिने बताएका छन् ।

‘टिकट वितरण गर्दा माओवादी पृष्ठभूमिका नेताहरूलाई सहज जित हुने ठाउँमा दिएको छैन । उम्मेदवारी दिएकाहरू पनि चुनाव जित्नेमा ढुक्क छैैनन्’, ती नेताले भने, ‘असुरक्षित क्षेत्रमा हामीहरूलाई ओलीले उम्मेदवार बनाएका छन् । एक त विपक्षी गठबन्धनसँग भिड्नुपर्ने जोखिम छ । त्यसमा पनि हामीमाथि पार्टीभित्रबाट अन्तर्घात हुने देखिन्छ । यस्तो अवस्थामा उम्मेदवार भएकाहरू पनि बेचैन अवस्थामा छन् ।’

एमालेबाट टिकट पाएर पनि विद्रोह गरेका रौतहट ३ का उम्मेदवार साहले अनुदारवादी नेता उपेन्द्र यादवसँग ओलीले साँठगाँठ गरेकाले आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको दाबी गरेका छन् । रौतहट लगायत सिंगो मधेशमा प्रभुको प्रभाव देखिएकाले ओलीले उनीमाथि बढि विश्वास गरेका थिए । प्रदेश इन्चार्ज रघुवीर महासेठले साहको गतिविधिबारे ओलीलाई पहिल्यै सूचना दिएपछि ओलीले पत्याएका थिएनन् । पार्टीले दिएको सूचना सत्य भएपछि ओली अहिले हच्किएका छन् । चुनावको मुखमै भएको प्रभुको विद्रोहले मधेश लगायत केही क्षेत्रमा एमालेलाई धक्का लाग्न सक्ने पार्टीले निष्कर्ष निकालेको छ । अहिले साहसहित उनी निकट नेताहरूलाई ओलीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् ।

एकातर्फ टिकट नपाएर एमालेकै नेताहरूले विद्रोह गरेको अवस्था छ । अर्कोतर्फ असुरक्षित ठाउँमा आफूहरूलाई फसाउन खोजिएको पूर्वमाओवादीका नेताहरूको ठम्याइ छ । आगामी निर्वाचनमा गठबन्धन र पार्टीभित्रकै अन्तर्घातले हारिने होकी भन्ने चिन्ता उनीहरूलाई छ । अघिल्ला निर्वाचनमा माओवादीबाट लगातार जित्दै आएका अर्घाखाँचीका रायमाझी, कैलाली ४ का भट्ट, कैलाली ३ का चौधरीले पनि योपटक चुनाव जित्ने आत्माविश्वस देखाएका छैनन् । साहले त एमालेबाट चुनाव हारिने डरले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका पूर्वमाओवादीका ९ जना नेताहरूको सम्भावित चुनावी परिणामबारे पार्टीभित्र र बाहिर विभिन्न टिकाटिप्पणी हुन थालेको छ । एमालेबाट टिकट पाएका चार जना शीर्ष नेतामध्ये रायमाझी र साहले चुनाव जित्न सक्ने धेरैको अनुमान थियो । तर साहले विद्रोह गरेका र उम्मेदवार भएर पनि चुनाव जित्न सहज नदेखिएका उनीहरूमाथि धेरैको चासो देखिन्छ । एमालेबाट पूर्वमाओवादीले उम्मेदवारी दिएका क्षेत्रगत अवस्थबारे लेखाजोखा गरिएको छ ।

एमाले सचिवसमेत रहेका रायमाझी अघिल्लो निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए । वामगठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार रहेका उनी ५० हजार ८३७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए । उनी २०६४, २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रायमाझीको मतान्तर १८ हजार २९३ रहेको छ । २०७२ मा बाबुराम पार्टीबाट अलग हुँदासमेत उनी माओवादीमै बसेका थिए ।
योपटक गठबन्धनबाट कांग्रेसले निर्वमान उपसभामुख भुष्पा भुसाललाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसका प्रभावशाली नेता हुन् । त्यहाँ गठबन्धनबाट माओवादीका डिलाराम आचार्यलाई उम्मेदवार बनाउने अनुमान गरिएको थियो । तर भागबण्डामा अर्घाखाँची कांग्रेसलाई परेपछि रायमाझीलाई धक्का लाग्ने देखिन्छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेको ४८ हजार २६० मतसंख्या रहेको छ । कांग्रेसको ३७ हजार ९२५, माओवादीको ७ हजार ७९० र राजमोको ४ हजार २९४ र नेकपा एसको ३ हजार ७६३ मत रहेको छ ।

गठबन्धनका कारण रायमाझीलाई निर्वाचन जित्न निकै कठिन देखिन्छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ५३ हजार ७७२ रहेको छ । गठबन्धन ५ हजार ५१२ मतले अगाडि रहेको छ । त्यो क्षेत्रमा भुसालको राम्रो प्रभाव रहेकाले गठबन्धनविरुद्ध जित निकाल्न रायमाझीले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

अघिल्लोपटक गठबन्धनतर्फ माओवादीका उम्मेदवार रहेका अर्का सचिव भट्टलाई योपटक चुनाव जित्न त्यति सजिलो देखिँदैन । २०६४ देखि जित्दै आएको यो क्षेत्रमा योपटक गठबन्धनले कांग्रेसका प्रभाशाली नेता वीरबहादुर बलायरलाई उम्मेदवार बनाएको छ । उनी पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत हुन् । सुदूरपश्चिमकै प्रभावशाली एमालेका नेता भीम रावलको टिकट खोसिएपछि त्यहाँ भट्ट थप दबाबमा रहेका छन् । २०७४ को निर्वाचनमा भट्ट कैलाली–४ बाट ३१ हजार ३५९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए । उनको मतान्तर १० हजार ३९९ रहेको छ । २०६४, २०७० र २०७४ मा लगातार निर्वाचन जितेका भट्टलाई योपटक विरासत कायमै राख्न चुनौती देखिन्छ ।

स्थानीय तह निर्वाचनमा कैलाली–४ मा कांग्रेसको जनमत राम्रो देखिएको छ । कांग्रेसले २२ हजार ९९७ मत पाएको छ । एमालेले २० हजार ८१ मत पाएको छ । माओवादीले १० हजार १२३, नेकपा एसले ४ हजार २९, राप्रपाले ३ हजार २३४ र अन्यले १२८ मत पाएको छ । यो क्षेत्रमा पनि गठबन्धन बलियो देखिएको छ । गठबन्धनको जम्मा मत ३७ हजार १४९ रहेको छ । यहाँ १७ हजार ६८ ले एमाले पछि परेको छ ।

यसैगरी अघिल्लो निर्वाचनमा कैलाली–३ बाट माओवादीका उम्मेदवार चौधरी निर्वाचित भएका थिए । उनी २४ हजार ८७९ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । उनको मतान्तर ४ हजार ३८५ रहेको छ । नेकपा विघटनसँगै एमालेमा लागेका उनी योपटक पनि उम्मेदवार बन्न सफल भएका छन् । उनको क्षेत्रमा पनि गठबन्धन बलियो रहेकाले चुनाव जित्न मुस्किल देखिन्छ । भागबण्डामा माओवादीको भागमा परेका यो क्षेत्रमा उसले कृष्णकुमार चौधरीलाई उठाएको छ । त्यो क्षेत्रमा कृष्णको प्रभाव राम्रै रहेको छ । दुई परिचित नेताबीच रोचक भिडन्त हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा कैलाली–३ मा कांग्रेसले १९ हजार ९९२ मत पाएको थियो । माओवादीले ११ हजार ७१६ मत पाएको छ । तेस्रो स्थानमा रहेको एमालेको ११ हजार २५७ मत छ । राप्रपाको ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४७, जसपाको २ हजार ८५९ र नेकपा एसको १ हजार ९७८ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ३६ हजार २४५ रहेको छ । २४ हजार ९८८ मतले गठबन्धन अगाडि देखिन्छ ।

नेकपा विघटनसँगै एमाले प्रवेश गरेकी ज्वालाकुमारी साह एमालेबाट बारा ३ मा उम्मेदवारी दिएकी छिन् । उनी प्रभु साह निकट नेता हुन् । तर निर्वाचनको मुखमा प्रभुले विद्रोह गरेपछि उनलाई थप धक्का लाग्ने देखिन्छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा संघीय समाजवादीका उम्मेदवार रामकुमार यादव २१ हजार ३३६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अदयानन्द पाण्डेयले १६ हजार ३६२ मत पाएका थिए । योपटक भागबण्डामा बारा ३ लोसपालाई परेको छ । उसले लालबाबु सिंहलाई उठाएको छ ।

स्थानीय तहको मतपरिणाम अनुसार बारा ३ मा एमालेको २३ हजार ६५४ मत रहेको छ । कांग्रेसको १७ हजार ५५४, जसपाको ११ हजार २७९, माओवादीको ८ हजार २४८ रहेको छ । त्यस्तै नेकपा एसको ३ हजार ३९५, लोसपाको २ हजार २०६ र राप्रपाको ८३८ रहेको छ । यहाँ गठबन्धनको ४२ हजार ६५८ मत रहेको छ । गठबन्धन १९ हजार ४ मतले अगाडि रहेको छ । मतपरिणाम अनुसार यो क्षेत्रमा लोसपाको अत्यन्तै थोरै मत रहेपनि गठबन्धनका कारण जित सहज देखिन्छ । एमालेसँग सहकार्य गरेपनि जसपाले यहाँ आफ्नै उम्मेदवार उठाएको छ ।
अछाम १ मा एमालेका बलिया उम्मेदवार रहेका भीम रावललाई टिकट नदिएपछि शेरबहादुर कुँवरको जित सहज भएको अनुमान गरिएको छ । पूर्वउप्रधानमन्त्री तथा उपाध्यक्षसमेत रहेका प्रभावशाली नेता रावललाई ओलीले टिकट नदिएर पूर्वमाओवादी पृष्ठभूमिका झपटबहादुर बोहरालाई टिकट दिएका हुन् । ताकि बोहराकै रोहबरमा रावललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको थियो । ओलीले जिल्लाबाट सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएर रावललाई झट्का दिएका थिए । रावलले टिकट नपाएपछि अछाम एमालेमा विद्रोह भएको छ । चार प्रदेश सचिवालय सदस्यसहित ४० बढीले एमाले परित्याग गरेका छन् । यसको असर अछाममा मात्र नभइ पूरै सुदूरपश्चिमा पर्ने स्थानीय नेता तथा कार्यकर्ताले बताएका छन् ।

स्थानीय तह निर्वाचनको अंकगणित अनुसार अछाम–१ मा सत्ता गठबन्धन एमालेभन्दा ९ हजार बढी मतले अघि छ । यहाँ सत्ता गठबन्धनको मत २६ हजार २७० छ । एमालेको मत १६ हजार ७२८ छ ।

माओवादीबाट विद्रोह गरी गाउँपालिका अध्यक्ष त्यागेका जालिम मियाँ मन्सुरीलाई एमालेले पर्सा ४ मा उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धामा कांग्रेसका नेता रमेश रिजाल चुनावी मैदानमा उत्रिएका छन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट लोसपाका नेता लक्ष्मणलाल कर्ण विजयी भएका थिए । कर्णले २० हजार ७३८ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिजालले १४ हजार ७०२ मत पाएका थिए । रिजालको यो परम्परागत चुनावी क्षेत्र हो ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम अनुसार पर्सा ४ मा कांग्रेसको २३ हजार ९१, एमालेको १८ हजार ११८, जसपाको १३ हजार ६२७, माओवादीको ५ हजार ८९६, लोसपाको २ हजार १२३, नेकपा एसको १ हजार ३३६ र राप्रपाको ३८९ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ३२ हजार ४४६ रहेको छ । एमालेभन्दा गठबन्धन १४ हजार २२८ मतले अगाडि रहेको छ ।

यसअघि माओवादीका उपमहासचिव हरिबोल गजुरेलले जित्दै आएको क्षेत्र सिन्धुली २ मा एमालेले पूर्वमाओवादीका मनोजजंग थापालाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धामा गठबन्धनले माओवादीका लेखनाथ दाहाललाई अघि सारेको छ । माओवादी जिल्ला अध्यक्षसमेत रहेका दाहालले प्रभावशाली नेता गजुरेललाईसमेत माथ ख्वाएर टिकट हात पारेका थिए । उनको उम्देवारीले असन्तुष्ट रहेका गजुरेलले असहयोग गरेमा थापाको पल्ला भारी हुने देखिन्छ । तर गठबन्धनको साथ र जिल्लामा दाहालको प्रभावका कारण थापालाई जित निकाल्न त्यति सजिलो छैन ।

स्थानीय तहमा दलका वडाध्यक्षले पाएको मतपरिणाम अनुसार सिन्धुली २ मा एमालेको २१ हजार ४५५, माओवादीको १९ हजार ४८८, कांग्रेसको १९ हजार १२८, जसपाको ४१६, राप्रपाको ३०७ र नेकपा एसको ३५ मत रहेको छ । यहाँ गठबन्धनको ३८ हजार ६५१ मत रहेको छ ।

रोल्पामा माओवादीका नेता वर्षमान पुनसँग भिड्न एमालेले माओवादी युद्धका फौजी कमाण्डर पूर्णबहादुर बुढामगरलाई मैदानमा उतारेको छ । पूर्वनेता तथा युद्धकालका डेपुटी कमाण्डरसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका उनलाई जित निकाल्न त्यति सहज भने देखिँदैन । वर्षमान केन्द्रीय राजनीतिकै प्रभावशाली नेता हुन् । पुन सत्ता गठबन्धनका उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा पनि उनी ४२ हजार ८४ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए । पुनको मतान्तर २१ हजार ७४७ रहेको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार रोल्पामा माओवादी एक्लैको मत ४० हजार ७९१ रहेको छ । कांग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको १ हजार २१८ र नेकपा एसको ९५० मत रहेको छ । यो क्षेत्रमा गठबन्धनको मत ६६ हजार ४०५ रहेको छ । एमालेभन्दा गठबन्धन ५१ हजार १०४ मतले अगाडि रहेको छ । रोल्पा माओवादी प्रभावित क्षेत्र पर्ने भएकाले वर्षमानकै पल्लाभारी हुने देखिन्छ ।

माओवादीको अति प्रभावित क्षेत्र रहेको पूर्वी रुकुममा एमालेले कैलाशकुमार मल्ललाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट माओवादीका नेता कमला रोक्का निर्वाचित भएकी थिइन् । योपटक लुम्बिनीका सभामुखसमेत रहेका पूर्णबहादुर घर्तीमगर लाई माओवादीले उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा रोक्का १० हजार ४३४ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिशंकर घर्तीमगरले ४ हजार ४०६ मत पाएका थिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम अनुुसार माओवादीको ११ हजार ६२१, कांग्रेसको ६ हजार ५३३ र एमालेको ४ हजार ५२१ मत रहेको छ । यहाँ गठबन्धनको मत १८ हजार १५४ रहेको छ । एमालेसँगको मतान्तर १३ हजार ६३३ रहेको छ ।