NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओली आफैंले सर्वसाधारणलाई फोन गर्दा …

काठमाडौं । समकालीन नेताहरूमध्ये एमाले अध्यक्ष केपी शर्मा ओली फरक शैलीका नेता मानिन्छन् । उमेरले ७१ वर्ष लागेका ओली कुनै युवाभन्दा कम सक्रिय छैनन् । उनी राजनीतिमा नयाँ नयाँ फण्डा प्रयोग गर्न रुचाउँछन् ।

दुई–दुई पटक मृगौला प्रत्यारोपण गरेका ओलीको सक्रिय जीवनशैली देखेर जोकोही पनि लोभिन्छन् । विपक्षीमाथी कडा प्रहार, निर्भिक र निडर स्वभाव र आफ्नो अडान नछोड्ने नेतामा ओली पर्छन् । विपक्षीले गरेको आलोचना मन नपराउने ओली आफैं भने विपक्षीमाथि व्याङ्यात्मक शैलीमा शब्दबाँण प्रयोग गर्न निकै पोख्त छन् ।

उनी फरकमत राख्नेप्रति जति निर्मम देखिन्छ त्यतिनै आफ्ना प्रशंसकप्रति त्यति नै उदार छन् । ओली २०२८ सालमा झापा विद्रोहबाट उदाएका हुन् । उनले २१ वर्षको उमेरमा १४ वर्षसम्म कठोर जेल जीवन बिताएका थिए । २०४६ को जनआन्दोलन सफल भएपछि उनी खुला राजनीतिमा आएका हुन् । रातको चार घण्टा मात्र सुत्ने दाबी ओली गर्छन् । भाषणमा उखानटुक्का मिसाएर मास आकर्षण गर्नु उनको अर्को विशेषता हो ।

ओलीले २०६४ को निर्वाचनबाहेक २०४८ देखि झापा ५, ६ र ७ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा लगातार निर्वाचित हुँदै आएका छन् । उनी २०७१ सालमा एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । गतवर्ष चितवनमा भएको १० महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भए । उनी २०७२ र २०७४ मा गरी दुई पटक प्रधानमन्त्री भइसकेका छन् । एमालेले आगामी निर्वाचनपछि भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।
कहिले फुटबल, कहिले ब्याटमिन्टन त कहिले सारंगी त कहिले मादल बजाएर चर्चामा आउने गरेका उनी आगामी निर्वाचन जित्नका लागि युवहरूसँग प्रत्यक्ष फोन संवाद थालेका छन् ।

ओलीले सामाजिक सञ्जालमा आफूसँग प्रत्यक्ष फोनमा कुराकानी गर्न भन्दै एक अपील जारी गरेका थिए । यही अपीलपछि दुई लाख बढी नागरिक आफूसँग फोन गर्न इच्छुक रहेको ओलीले दाबी गरेका छन् । यही शिलशिलामा आइतबार ओलीले बिएस्सी नर्सिङ भर्खर सकेर बसेकी सृष्टि पाण्डेसँग गरेको फोन संवाद बाहिरिएको छ । जुन रोचक देखिएको छ । रातो पर्दाको ब्याग्राउण्डमा उनी अगाडि तीन वटा बाकसमा राखिएका चिठ्ठा राखेका छन् । पछाडि पट्टि बोरामा फोन नम्बर र नामसहित राखिएका चिठ्ठाका बोराहरू टन्न देख्न सकिन्छ । उद्घोषकको भूमिका उनी आफैंले निर्वाह गरेका छन् । केही समय सम्बोधन गरेपछि टेबुलको दायाँतर्फ रहेका बाकसबाट एउटा गोला हातमा लिएर खोल्छन् । अनि आफै फोन डायल गरी फोन सम्पर्कमा आएकाहरुसँग सम्वादमा लाग्छन् ।
यस्तो छ ओली र विद्यार्थी सृष्टि पाण्डेबीचको संवाद ।

फोनमा महिलाको काँपेको स्वर सुन्न सकिन्छ ।
हेलो… हेलो…

त्यसपछि ओली आफैले फोन सम्वादलाई सहजीकरण गर्छन् ।
हेलो सृष्टि पाण्डेजी….।

उताबाट नर्भस स्वरमा हेलो को बोल्नुभयो होला भन्ने आवाज सुनिन्छ ।
त्यसपछि उनले म केपी शर्मा ओली बोलेको भनेर ती महिलालाई सहजीकरण गर्छन् ।

सृष्टि : हेलो सर, नमस्ते ।

ओली : नमस्ते । आरामै हो ।

सृष्टि : डराएको जस्तो आवाजमा हजुर सञ्चै छु । आरामै हुनुहुन्छ । सर हजुरलाई एकदम भेट्न मन थियो । हजुर निडर लाग्छ । धेरै बोल्न त नसकिएला है । लाइफमा पहिलोचोटि इम्प्रेसन भएको हजुरका काम गरेको देखेपछि ।

सृष्टि : नर्भस हुँदै…म त कस्तो नर्भस भएको छु । विश्वासै लागेको छैन ।

ओली : अनि पढ्दै गरेको हो कि पेशा व्यवसाय के छ ?

सृष्टि : बिएसी नर्सिङ भर्खरै सकियो । मंसिरमा नर्सिङको एक्जाम छ, त्यसैलाई कुरेर बसेको छु ।

उनी थप कुराकानी अगाडि बढाउँछिन् । सर नर्सिङको कुरालाई लिएर कति नर्सिङ काउन्सिल छ । तर यसले त्यस्तो केही पनि गरेको छैन । तत्काल भन्नुपर्दा नेपालमा बसेर काम गर्ने वातावरण नै छैन नर्सहरूलाई । भर्खर ब्याचलर सकियो बाहिरलाई नै प्रिपियर गर्छु भन्ने छ । यहाँ त्यस्तो केही छैन ।

ओली : अहिलेको परिपाटीचाहिँ प्राविधिक शिक्षा, त्यसमा पनि मेडिकल शिक्षालाई बहुतै नियन्त्रण गर्न खोज्ने, हतोत्साही गर्न खोज्ने र दक्ष जनशक्ति बाहिर धपाउन खोज्ने प्रवृत्तिहरू चलेका छन् देशमा । त्यो प्रवृत्तिलाई बदल्नुपर्छ । अनावश्यक ढंगले दक्ष जनशक्ति उत्पादन नै हुन नदिने र उत्पादन भइहाल्यो भने त्यसलाई निरुत्साही गर्ने खालको छ ।

अरु देशलले आकर्षक अवसरहरू अफर गर्ने खालको छ । तर हाम्रो देशलेचाहिँ हैरान र धुरुक्क बनाएर बाहिर लखेट्ने खालको परिस्थिति निर्माण गर्ने खालको छ । भइराखेको छ । त्यसलाई निर्वाचनपछि हामी बदल्छौं । बदल्नुपर्छ । नत्रभने जनशक्ति बाहिर जाने खतरा छ । । यहाँ देशले सक्ने खालको सुविधा दिनुपर्छ । हाम्रो युवा पंक्तिले अमेरिकाको बराबर स्यालरी मागेको पनि छैन । अस्ट्रेलिया बराबरको स्यालरी मागेको पनि छैन । तर हाम्रो देश सुहाउँदो स्यालरी सुविधा र वृद्धि विकासका लागि पाउनुपर्ने अवसर, समयमा परिक्षा, समयमा अरु कामहरु, त्यो खालको स्थितिको माग गरेको छ । यहाँ त परीक्षा नै हुँदैन । उमेर जान्छ परीक्षा हुँदैन । नियुक्ति पाउँदैन । स्थायी हुन पाउँदैन । त्यस्तो खालको स्थितिलाई अन्त्य गर्नुपर्छ भन्ने मैंले पनि बुझेको छु ।

सृष्टि : सर हजुरले युवाहरुलाई यति इम्प्रेस पार्नुभएको छ । निर्वाचनसम्मलाई मात्र होइन, पछिपनि केही समस्या छ भने यसरी नै कम्युनिकेट गरेर जानुपर्छ । हुन त त्यत्रा मानिससँग बोलेर कसरी भ्याउनुभएको होला । त्यति उमेरको मान्छे । मृगौलाको समस्या छ । चुनाव आउँदासम्म गर्नुपर्ने धेरै काम होलान् । तर पनि समय निकालेर बोल्नु भएको छ । अहिलेमात्र होइन पछि पनि हामीसँग जोडिएर बस्नुपर्छ । जनतासँग यसरी कुरा लिनुपर्छ । अहिलेसम्म भन्नुपर्दा मैले भोट कसैलाई पनि दिएको थिइनँ । भविष्यमा यसरी नै जोडिनुभयो भने मेरो पहिलो भोट हजुरलाई दिइन्छ ।

अन्त्यमा सम्वादलाई टुंग्याउँदै ओलीले ल हुन्छ, धन्यवाद भन्छन् ।

त्यसपछि सृष्टिले हस । धन्यवाद छ । विजयको आर्शिवाद छ । फेरि पनि यसरी नै बोली सुन्न पाइयोस् हजुरको भन्दै संवादलाई बिट मार्छन् ।