के ट्विटरले आफ्नो मौजुदा नीति परिवर्तन गर्दैछ ?

काठमाडौं (एजेन्सी) । लामो गलफतीपछि ट्विटरको स्वामित्व विश्वकै धनी एलन मस्कमा आएको छ । मस्क तिनै व्यक्ति हुन् जसले ट्विटर खरिदको घोषणापछि यसका नीतिबारे खुलेर आलोचना गरेका थिए ।
उनै मस्क ट्विटरको मालिक बनेसँगै यसका नीतिहरू परिवर्तन हुने अनुमान भइरहेका छन् । शुक्रबार ४४ अर्ब डलरमा ट्विटर किन्न सम्झौता पूरा गरेपछि सबैको नजर अब एलोन मस्कको थप योजनामा छ । एलोन मस्क आएपछि घृणायुक्त भाषण र गलत सूचनालाई नियन्त्रण गर्ने ट्विटरका नियमहरू खुकुलो हुने कुराले मानिसहरू चिन्तित छन्।
तर मस्कले तत्कालै ट्विटरको कन्टेन्ट मोडरेसन नीतिमा कुनै परिवर्तन नहुने प्रष्ट पारेका छन् । साथै पहिले प्रतिबन्धित खाताबाट प्रतिबन्ध हटाउने अनुमानलाई पनि गलत सावित गरिदिएका छन् ।
मस्कले आफ्नो ट्विटर ह्यान्डलबाटै यसको जानकारी दिएका छन् । भर्खरको ट्विटमा, उनले लेखेका छन्, ‘मलाई स्पष्ट गर्न दिनुहोस् कि हामीले ट्विटरको सामग्री मोडरेसन नीतिहरूमा अहिलेसम्म कुनै परिवर्तन गरेका छैनौं।’
केही घण्टाअघि गरिएको अर्को ट्विटमा उनले कन्टेन्ट मोडरेसन काउन्सिल गठनको घोषणा गरेका थिए ।
उनले यसमा लेखेका छन्, ‘ट्विटरले फराकिलो र विविध परिप्रेक्ष्यमा विचार गर्न कन्टेन्ट मोडरेसन काउन्सिल स्थापना गर्नेछ। काउन्सिल बैठक अघि सामग्रीमा कुनै ठूलो निर्णय हुनेछैन, न त कुनै खाता पुनर्स्थापित हुनेछ।
मस्कले ट्विटर खरिद गरेपछि पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट रिस्टोर हुने अनुमान गरिएको थियो । भारतकी चर्चित अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट पनि सस्पेन्ड गरिएको छ । कंगनाका समर्थकहरूले प्रतिबन्ध हटाउन माग गरिरहेका छन् । तर मस्कको हालैको घोषणाले दुवैलाई निराश पारेको छ ।
शुक्रबार इलोन मस्कले पदभार ग्रहण गरेलगत्तै कम्पनीका तीन शीर्ष अधिकारीलाई हटाउने घोषणा गरेका थिए। त्यस्ता व्यक्तिहरूमा कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेद सहगल र बोर्ड अध्यक्ष ब्रेट टेलर छन्।
प्रतिक्रिया