NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

१५० सिट जित्ने दाबी गरेका ओलीका के–के छन् चुनौती ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् । शनिवार दमकमा आयोजित एमाले–राप्रपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ १०० सिट र समानुपातिकतर्फ ५० सिट जित्ने दाबी गरेका हुन् ।

‘आगामी निर्वाचनमा हामीले १५० सिट जित्छौं । प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ’, उनले भने, ‘एकल बहुमत ल्याउने अभियानमा एमाले छ । राष्ट्रघाती गठबन्धनलाई रोक्नैपर्छ ।’

अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेको स्मरण गर्दै एमालेको एकल बहुमत नहुँदा दुईतिहाइ नपुगेको जिकिर गरे ।

‘दुईतिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै १५० सिट जित्ने योजनाका साथ अघि बढेका छौं र जित्छौं पनि’, उनले भने ।

यसअघि भदौ १५ मा सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभामा एमाले एक्लैले १५० सिट जितेर चमत्कार गर्ने दाबी गरेका थिए । त्यतिबेला गठबन्धनले चुनाव जिते देशले विकास र समृद्धि हार्ने भएकाले जसरी भएपनि एमालेले जित्नुपर्ने उनको जिकिर गरेका थिए ।
‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनियाँ चकित पर्नेछ ।’

आसन्न निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बन्ने ओलीको दाबीलाई राजनीतिक वृत्तमा हावादारीको संज्ञा दिइएको छ । २०७४ सालमा दुई ठूला वामपन्थी दल एमाले र माओवादीले पार्टी एकतासहित राजनीतिक स्थायित्व र आर्थिक विकास गर्ने प्रतिबद्धता जनाएका थिए । तर झण्डै दुईतिहाइको सरकारका शक्तिशाली प्रधानमन्त्री भएका ओलीले ४२ महिनाभन्दा बढी सत्ता टिकाउन नसकेको, नेकपा विघटन गरेको र एमालेसमेत जोगाउन नसकेकाले त्यो सुविधा योपटक ओलीले नपाउने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाई छ ।

‘राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि वामपन्थी सरकार उपयुक्त हुने विश्वास गरेर नेपाली जनताले अघिल्लोपटक वामपन्थी गठबन्धनलाई अत्याधिक मतले विजयी गराए’, उनले भने, ‘तर ओलीको दम्भ र अहंकारले शक्तिशाली वामपन्थी सरकार ढल्यो, नेकपा र एमालेसमेत ओलीले जोगाउन सकेनन् । अहिले फेरि उनले एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । त्यो सुविधा अब जनताले ओलीलाई दिने छैनन् । एमालेले १५० सिट जित्ने ओलीको हावादारी गफमात्र हो ।’

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ६०–६५ प्रतिशत सिट जित्ने दाबी गरेका थिए । निर्वाचन परिणाम हेर्दा २०५ पालिकाको प्रमुख र २२८ पालिकाको उपप्रमुख जितेको छ । नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षले पाएको समग्र मतपरिणाम हेर्दा २६ प्रतिशत रहेको छ । सबैभन्दा ठूलो दल कांग्रेसले समग्रमा ४२.४९ प्रतिशत मत पाएको देखिन्छ । निर्वाचन परिणामले ओलीको दाबीलाई झुटो सावित गरेको छ ।

गएको असार १७ मा गठबन्धन भत्किने भविष्यबाणी गरेर चर्चामा आएका ओलीको दाबीलाई न त चुनावी परिणामले साथ दिएको छ न त भविष्यबाणी नै मिलेको छ । आगामी चुनावी समीक्षा र उम्मेदवार छनोटको विषयमा निर्णय लिन भदौ ९–१० मा बसेको केन्द्रीय कमिटी बैठकलेसमेत सत्ता गठबन्धन कायमै रहे एमालेको लागि अप्ठ्यारो पर्ने निष्कर्ष निकालेको थियो । बैठकमा सातै प्रदेश इन्चार्जले जिल्लागत रुपमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । उनीहरूले स्थानीय मतपरिणाम अनुसार समग्रमा एमालेको स्थिति सन्तोषजनक रहेपनि आन्तरिक अन्तर्घात व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको औंल्याएका थिए ।

पार्टीभित्र देखिएको अन्तर्घात सम्बन्धमा उपाध्यक्ष सुवाचन्द्र नेम्बाङले चिन्ता व्यक्त गरेका छन् ।

‘सांगठनिक र जनाधारको हिसाबले एमाले कमजोर देखिएको छैन । स्थानीय तहको निर्वाचन परिणाम हेर्दा पार्टीभित्रको अन्तर्घात डरलाग्दो देखिन्छ । पहिला कांग्रेसभित्र यो रोग देखिएको थियो’, उनले भने, ‘त्यो रोग एमालेमा सल्किएको छ । अन्तर्घात नभएमा अन्य दलको तुलनामा एमालेको स्थिति बलियो छ । एकातिर गठबन्धन र अर्कोतिर पार्टीभित्रै अन्तर्घातका कारण एमालेलाई केही क्षति पुग्न सक्छ । त्यसतर्फ हामी निकै चिन्तित छौं ।’

एमालेका उच्च तहकै नेताहरूको अभिव्यक्ति र विश्लेषणका आधारमा पनि ओलीले दाबी गरेको जस्तो १५० सिट जित्न सम्भव देखिँदैन । आसन्न निर्वाचन एक्लै लड्ने दाबी गरेको उसले अन्ततः राप्रपा र जसपासँग केही स्थानमा चुनावी तालमेल गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिट मध्ये १४३ स्थानमा एकल उम्मेदवारी दिएको एमाललेले बाँकी सिट जसपा र राप्रपालाई छोडेको छ । ओलीले बाहिर १५० सिट जित्ने दाबी गरे पनि आन्तरिक मुल्याङ्कनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ३५ देखि ४० सिट जित्ने अनुमान भित्री हिसाब निकालेको बुझिएको छ । समानुपातिकतर्फ ५० देखि ६० सिट जित्ने एमालेको आन्तरिक मूल्याङ्कन रहेको छ । एमालेका एक नेताका अनुसार आसन्न निर्वाचनमा माओवादी र नेकपा एसका कारण कांग्रेसले फाइदा उठाउनेछ । स्थानीय तह निर्वाचनले पनि त्यसलाई पुष्टि गरेको छ ।

‘समग्रमा एमालेको भोट माओवादी र एकीकृत समाजवादीले काट्न सक्छ । कमजोर जनाधार रहेका केही क्षेत्रमा गठबन्धनबाट माओवादी र एसका उम्मेदवार उठेकाले त्यसको फाइदा एमालेलाई हुने देखिन्छ’, ती नेताले भने, ‘तर टिकट वितरणमा पार्टीभित्रै देखिएको असन्तुष्टिका कारण आफ्नै उम्मेदवार हराउन अन्तर्घात हुने सम्भावना देखिन्छ । त्यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई हुनेछ । त्यसैले समग्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी प्रतिनिधिसभा निर्वाचनमा एमालेले १०० देखि ११० जित्ने आन्तरिक मूल्याङ्कन छ ।’

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा एमालेले ३८ लाख ११ हजार ६०२ अर्थात ३३.०३ प्रतिशत मत प्राप्त गरेको देखिन्छ । काठमाडौंसहित ठूला महानगरपालिका र उपमहानगरपालिकामा शर्मनाक हार व्यहोरेपनि एमालेले प्राप्त गरेको मत कांग्रेसकोभन्दा थोरै कम हो । आगामी निर्वाचनमा केही मत वृद्धि गर्न सके उसले समग्रमा ४० देखि ४३ सिट जित्ने देखिन्छ ।

के–के छन् ओलीका चुनौती ?

एमालेले आसन्न निर्वाचनमा बहुमत ल्याउने गरी आन्तरिक तथा बाह्य रणनीति बनाएर चुनावी मैदानमा उत्रिएपछि ओलीका लागि दुवैतर्फ उत्तिकै चुनौती देखिएको छ । गठबन्धनमा रहेका दल जसपालाई आफ्नो कित्तामा ल्याउन ओली सफल भएपनि गठबन्धन तोड्न सफल हुन सकेनन् । गठबन्धनले ओलीको कित्तामा जान लागेको लोसपालाई आफ्नो पक्षमा ल्याएका छन् । स्थानीय तहमा देखिएको आशंका, अन्तर्घातलाई मध्यनजर गरी योपटक गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटसहित केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने बाटो खोलेको छ । केही स्थानमा देखिएका विवादलाई छलफल गरी सहमतिमै विवाद समाधान गर्ने निर्णय गरेको छ ।

ओलीले केही स्थानमा राप्रपासँग चुनावी तालमेल गरेपनि धेरै स्थानमा एमालेसँगै प्रतिस्पर्धामा उत्रिएको छ । यस्तो अवस्थामा योपटक एमालेलाई चुनाव जित्न मुख्य चुनौती गठबन्धन हुने देखिन्छ । एमालेको अर्को मुख्य चुनौती एमालेभित्रको आन्तरिक अन्तर्विरोध देखिन्छ । टिकट वितरणलाई लिएर पार्टीभित्र विद्रोह र असन्तुष्टिको आगो भित्रभित्रै सल्किने खतरा उत्तिकै छ । एमालेले राप्रपा नेपालका नेता कमल थापा, दीपक बोहोरा, धबलशमशेर लगायतलाई न्यानो स्वागत गर्दा वैचारिक नेता घनश्याम भुसाल, भीम रावललगायत नेताहरू बाहिरिएका छन् ।

पूर्वमाओवादीबाट आएका प्रभु साहको विद्रोह र असन्तुष्टि एमालेका लागि अर्को चुनौती खडा भएको छ । योपटक ओली पक्षका नेताहरू पनि टिकट नपाएकोमा असन्तुष्ट देखिएका छन् ।

बाह्य चुनौती

ओलीले आफ्नो ४२ महिने कार्यकालमा पार्टीभित्रको आन्तरिक विवादलाई कारण देखाइ ओलीले संविधान विपरीत दुईपटक संसद विघटन गरेपछि पार्टीभित्र र बाहिर धेरैले ओलीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको छ । तत्कालीन नेकपाभित्र ओली र प्रचण्डको द्वन्द्वका कारण नेकपा नै विघटन भयो । अन्ततः ओलीले नेकपा विघटनपछि एमाले पनि जोगाउन सकेनन् । उनले चाहेको भए नेकपा नै विघटन नहुने विश्लेषक श्रेष्ठको जिकिर छ ।

‘ओलीमा यति दम्भ भयो की झण्डै दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री भएपछि म नै राज्य हुँ जस्तो व्यवहार गर्न थाल्नुभयो । फरक विचार राख्नेमाथि बदला लिन थाल्नुभयो’, उनले भने, ‘यहि दम्भ र अहंकारका कारण झण्डै दुईतिहाइको वामपन्थी सत्ता ढल्यो । प्रदेश उहाँले सरकार पनि जोगाउन सक्नुभएन । पार्टी पनि जोगाउन सक्नुभएन ।’

आगामी निर्वाचनपछि ओलीको पुनरावृत्ति हुने डरमा रहेका गठबन्धनका शीर्ष नेताहरू जसरी भएपनि एमाले हराउने रणनीतिमा लागेका छन् । पूर्वप्रधानमन्त्री माधव नेपालले त फेरी ओली सरकार आएमा देशमा बस्न नसकिने अभिव्यक्ति दिएका छन् । प्रधनमन्त्री शेरबहादुर देउवाले पनि वामपन्थीको मतमा आफूलाई कांग्रेसलाई स्थापित गरी एमालेलाई रोक्ने रणनीति बनाएका छन् ।

आन्तरिक चुनौती

एमालेभित्र माधव समूहलाई पिलोको रुपमा लिएका ओलीले माधव–झलनाथ समूह पार्टीबाट अलग्गिपछि पार्टी सग्लो हुने जिकिर गरेका थिए । पार्टी हलक्क बढ्ने उद्घोषसमेत उनको थियो । तर स्थानीय तहको निर्वाचनमा उनको दललाई नमिठो झट्का लाग्यो । महत्वपूर्ण महानगरपालिका र उपमहानगरपालिका मात्रै होइन कहिल्यै नहारेका महत्वपूर्ण गढ नै एमालेले गुमाउन पुग्यो । जुन एमालेले नसोचेको धक्का थियो । जसले उनलाई विलखबन्धमा पारेको छ ।

एमालेमा कहिल्यै नदेखिएको अन्तर्घातको रोग स्थानीय तहमा देखियो । स्थानीय तह निर्वाचन परिणामबाट ओलीले दाबी गरेजस्तो पिलो निको नभइ झनै बढ्दै गएको देखियो । विभाजनअघि दुई गुटमा रहेको एमालेमा अहिले गुट र उपगुट विस्तारै झांगिँदै गएको देखिन्छ । एमालेमा अहिले पूर्वमाओवादी समूह, पूर्वमाधव समूह र ओली समूहभित्र नै उपसमूह सत्रिय हुन थालेका छन् । चुनावको मुखमै वौद्धिक नेता घनश्यामले पार्टी परित्याग गरी गठबन्धनको सहयोगमा चुनावमा होमिएका छन् । सुदूरपश्चिका एमाले प्रभावशाली नेता भीम रावल जिल्लाबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएपनि अन्तिममा ओलीले टिकट दिएनन् । रौतहटमा एमालेबाट उम्मेदवार रहेका प्रभु साहले विद्रोह गरी गठबन्धनको सहयोगमा रौतहट ३ बाट चुनावमा भाग लिएका छन् । उपाध्यक्ष त्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा त निर्वाचनमा उठ्नै चाहेनन् ।

माओवादी पृष्ठ भूमिबाट आएका ३४ जना केन्द्रीय नेतालाई ओलीले भूमिकाविहीन बनाएको भन्दै उनीहरूले तीव्र असन्तुष्टि जनाएका छन् । सामूहिक निर्णयबाट नभइ ओलीले एकल आदेशबाट पार्टी चलाउन खोजेको पूर्वमाओवादी नेताहरूले आरोप लगाएका छन् । यस्तो अवस्थामा एमालेका आधिकारिक उम्मेदवार हराउन विपक्षी नभइ पार्टीभित्रकै असन्तुष्ट पक्ष हाबी हुने र त्यसले निर्वाचनमा एमालेलाई ठूलो क्षति पुग्ने धेरैको अनुमान छ ।

अन्य चुनौती

आन्तरिक र बाह्यबाहेक ओलीका अन्य चुनौती टड्कारो देखिएको छ । ओलीले अहिलेसम्म आफूले गरेको संसद् विघटन गलत थियो भनेर स्वीकारेका छैनन् । उल्टै गठबन्धन सरकारलाई विदेशीको सहयोगमा सर्वोच्चको परमादेशबाट बनेको सरकार रहेको आरोप लगाउँदै आएका छन् ।

आफू सरकारमा रहँदा भएका भ्रष्टाचार, अनिमितयताबारे छानबिन गर्न कुनै चासो देखाएनन् । उल्टै उनले गलत काम गर्ने व्यक्तिलाई संरक्षण गरेको विपक्षीले आरोप लगाएका छन् । अर्थमन्त्री प्रकरणमा आगो ओकलेको एमालेले गभर्नर प्रकरणमा गठबन्धनसँग मिलिभगत गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

त्यस्तै आगामी निर्वाचनमा ओलीका लागि स्वतन्त्र उम्मेदवार थप चुनौती हुन सक्ने देखिन्छ । स्थानीय तह निर्वाचनदेखि नै ओलीले स्वतन्त्र उम्मेदवार तथा प्रतिनिधिप्रति विषबमन गर्दै आएका छन् । यी सबै दृष्टिकोणबाट हेर्दा ओलीले बहुमत आउने जुन दाबी गरेका छन् आगामी निर्वाचनमा आफ्नै अभिव्यक्ति भारी पर्न सक्ने राजनीतिक वृत्तमा अड्कलबाजी हुन थालेको छ ।