NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेकपा (एकीकृत समाजवादी)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

नेकपा (एकीकृत समाजवादी) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।

समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा छन् ।

आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ । उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने तथा खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा विशेष जोड दिइएको घोषणापत्रमा सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्वन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र आज बानेश्वरमा एक कार्यक्रमबीच सार्वजनिक गर्न लागेको छ ।

राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटिइएको छ ।

वैदिक सनातन हिन्दू राष्ट्रलगायत विषयलाई राजनीतिक मुद्दा बनाएको पार्टीले जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रधानमन्त्रीको ‘एजेन्डा’लाई पछिल्लो समय प्राथमिकतासहित अघि सार्दै आएको पार्टीले आगामी पाँच वर्षमा गर्ने कार्ययोजना, लक्ष्य र प्रतिबद्धता समावेश गरिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए ।