NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

निगमको चरम लापरबाहीले साढे पाँच सय यात्रुको बिचल्ली

नेपाल वायुसेवा निगमको आइतबारको दिल्ली उडान रद्द नभएको भए पाल्पाकी वर्षा पराजुली सोमबार जापान पुगिसकेकी हुन्थिन् । भारतको नयाँदिल्लीलाई ट्रान्जिट बनाएर हङकङ हुँदै जापानको ओसाका पुग्नुपर्ने उनी सोमबार दिउँसो न्युरोडस्थित निगम मुख्यालयको टिकट काउन्टरमा धर्ना दिँदै थिइन् । आइतबार दिउँसो १ः४५ मा हुने भनिएको निगमको काठमाडौं–दिल्ली उडान रद्द भएपछि उनीसहित दुई सय ५४ यात्रु अलपत्र परेका हुन् ।

विनाजानकारी उडान रद्द भएपछि उनको दिल्ली र हङकङको ट्रान्जिट फ्लाइट पनि छुट्यो । आँखाबाट टिलपिल आँसु झार्दै टिकट काउन्टरमा चर्को स्वरले कराइरहेकी उनी भन्दै थिइन, ‘बिहान आठ बजेको फ्लाइट मिलाउँछौँ भनिएको थियो, तर अहिले १२ बजेसम्म पनि उडान हुने कुनै अत्तोपत्तो छैन, न त पैसा नै रिफन्ड गरिएको छ ।’

ओखलढुंगाका डोरबहादुर विक पनि आइतबार सोही जहाजबाट दिल्ली ट्रान्जिट बनाएर दुबई हुँदै माल्टा जाँदै थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिएर वेटिङ रुममा पुगेपछि उडान रद्द भएको खबर आयो । उनले तीन दिनअघि मात्र टिकट काटेका थिए । ‘उडान रद्द हुँदा सबै कनेक्टिङ फ्लाइट छुटिसकेका छन्, अब कहिले गन्तव्यमा पुग्ने टुंगो छैन,’ उनले भने, ‘कतिको परीक्षा आउँदै छ, कतिले तत्कालै काममा ज्वाइन हुनुपर्नेछ, कतिपयको भिसा सकिन लागेको अवस्था छ, निगमको लापरबाहीका कारण हामी अलपत्र पर्‍यौँ ।’

बाराको निजगढनिवासी नारायण खड्काले आइतबार भाइ–बुहारी, बहिनी र ज्वाइँसहित दिल्ली ट्रान्जिट हुँदै अस्ट्रेलिया जाने टिकट लिएका थिए । तर, निगमको जहाज उड्ने बेलामा रद्द भयो । सोमबार कसै गरी दिल्ली पुग्न सकिन्छ कि भनेर हरप्रयास गरे, तर निगमले सिटै नभएको बतायो । मंगलबार बिहानको फ्लाइटमा दिल्ली लैजाने प्रतिबद्धता आएपछि उनले चारजनाको दिल्ली–अस्ट्रेलिया ट्रान्जिट टिकट दिउँसो एम बजेलाई सारेका छन् । निगमको लापरबाहीले टिकट सार्नुपर्दा प्रतिव्यक्ति एक हजार अमेरिकी डलर (एक लाख ३० हजार रुपैयाँ) बढी खर्च लागेको उनको गुनसो छ । उनले भने, ‘समयमा उड्न नपाउँदा चारजनाको सवा पाँच लाख रुपैयाँ खर्च बढ्यो ।’

अनुमतिबेगर टिकट काटेको भन्दै क्यानले सोमबार पनि न्यारोबडी ३२० जहाज उडान अनुमति दिएन । उद्दान रद्द हुँदा आउने र जाने गरि करिब तीन सय यात्रु उड्न नपाएको निगमकी निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । दुईवटा उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा निगमलाई हम्मेहम्मे परेको छ । वैकल्पिक व्यवस्था गरेर आइतबार सयजना र सोमबार करिब डेढ सय यात्रुलाई गन्तव्यमा पुर्‍याएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । ‘सबै यात्रुलाई गन्तव्यमा पु¥याउँछौँ,’ उनले भनिन्, ‘पहिलो प्राथमिकता ट्रन्जिट फ्लाइट हुने यात्रुलाई दिएका छौँ, सकभर कसैको ट्रान्जिट फ्लाइट नछुटोस् भन्ने छ ।’

निगमले आइतबार रद्द भएर अलपत्र परेका यात्रुलाई सोमबार चार्टर्ड उडान गरेर दिल्ली लैजाने योजना बनाएको थियो । तर, क्यानले काठमाडौंमा चार्टर्ड उडान गर्न रोकेपछि निगम पछाडि हटेको प्रवक्ता खड्काले बताइन् । क्यानले ३० अक्टोबरदेखि लागू हुने गरी चार्टर्ड फ्लाइट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै गर्नुपर्ने निर्णय गरेको छ । अब त्रिभुवन विमानस्थलबाट कूटनीतिक, कार्गो र सेनाको मात्र चार्टर्ड फ्लाइट हुनेछ । ‘अढाई सय यात्रु पठाइसक्यौँ, बाँकी यात्रु मंगलबार गन्तव्यमा पुर्‍याउन सकिन्छ कि भन्ने छ,’ प्रवक्ता खड्काले भनिन्, ‘मंगलबार बिहान र दिउँसो वाइडबडी जहाजको सेड्युल फ्लाइट हुने हुनाले सबै यात्रु बोकेर भ्याइन्छ भन्ने अनुमान हो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।