NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ओलीको चुनावी फण्डा : सूर्योदयको तस्बिरदेखि सर्वसाधारणसँग प्रत्यक्ष कुराकानी र सेल्फीसम्म

काठमाडौं । समकालीन राष्ट्रिय शीर्ष नेताहरूमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीको जीवनशैली र राजनीतिक गतिविधि फरक देखिन्छन् । उमेरले सात दशक पार गरेका ओलीको सक्रियता हेर्दा युवाहरूमा कति सक्रिय हुने भनेर प्रश्न उठ्छ ?

उमेरले वृद्ध भएपनि सक्रिय जीवनको हिसाबले कुनै युवाभन्दा कम नभएको उनी तर्क गर्दै आएका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तीव्र तयारीमा लागेका उनी निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिसाथ अगाडि बढेका छन् ।

प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १४३ स्थानमा एमालेले उम्मेदवारी दिएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का केही स्थानमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेका ओलीले प्रत्यक्षमा १०० सिट र समानुपातिकतर्फ ५० गरी १५० सिट जित्ने दाबी गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गरी एमालेले मंगलबार चुनावी घोषणापत्रसमेत सार्वजनिक गरिसकेको छ ।

विगतको तुलनामा ओलीले चुनावी प्रचारप्रसारमा योपटक डिजिटल प्रविधिमार्फत भिन्न शैली अपनाएका छन् । पार्टीको चुनावी घोषणपत्र बनाउन ओलीले सामाजिक सञ्जाल, मिडिया, फोन, इमेललगायतबाट सार्वजनिक रुपमा सुझाव मागेका थिए । विभिन्न माध्यमबाट आएका सुझावलाई ओलीले ललितपुरको लाकुरीभन्ज्याँङमा बसेर सम्पादन गरी घोषणापत्र तयार गरेका हुन् । उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेताहरूले सहयोग गरेका थिए ।

यसैगरी आम जनतासँग प्रत्यक्ष जोडिन फोन सम्वादका लागि फेसबुक र ट्वीटरमार्फत सार्वजनिक रुपमै फोन नम्बर मागेका थिए । इनबक्समा आएका नम्बरमध्ये ओली आफैंले चिठ्ठा तानेर फोन सम्वाद गरे ।

युवामतदातालाई आकर्षित गर्न उनी कहिले विद्यार्थी त कहिले विभिन्न पेशा व्यवसायमा संलग्न युवाहरूमाझ अन्तिक्र्रिया गर्दै आएका छन् । बहुसंख्यक हिन्दु जनमतलाई प्रभावित पार्नका लागि धार्मिक प्रवचन, हिन्दुसँग जोडिएका हरेक किवंदन्तीसँग साक्षात्कार गर्ने गरेका छन् ।
पछिल्लोसमय ओलीले देशका विभिन्न ठाउँबाट बिहानीको उदाउँदो सूर्यसहितको तस्बिर सार्वजनिक गर्दै आएका छन् ।

ओलीको अफिसियल फेसबुक एकाउन्टबाट सार्वजनिक भएका तस्बिर विभिन्न ठाउँबाट उनका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूले पठाएका हुन् । ओलीको दम्भका कारण योपटक सूर्यमा ग्रहण लाग्ने माधव–प्रचण्डको आरोपलाई ओलीले मनोवैज्ञानिक ढंगले प्रतिवाद गर्न उदाउँदो सूर्य तस्बिर सार्वजनिक गर्दै आएको हुनसक्ने अनुमान गरिएको छ । ओली आफैंले पनि सूर्यमा ग्रहण नलागेको र मंसिर ४ को निर्वाचनपछि देशभर उदाउँने दाबी गर्दै आएका छन् ।

ओलीले उदाउँदो सूर्य र चुनावी अभियानसँग जोडिएका तस्बिर फेसबुकको इनबक्समा पठाउन सार्वजनिक आह्वान गरेका छन् । जनताको कुरा ध्यानपूर्वक सुन्न र बुझ्न ओलीले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । विपक्षीहरूले ओलीको पछिल्लो गतिविधिलाई निभ्नेबेलाको राजनीतिक ‘स्टन्न’ मात्र भएको आरोप लगाएका छन् । आफ्नै नेतृत्वमा सरकार हुँदा यसरी नागरिक पंक्तिसँग जोडिने कार्यक्रम नल्याएका ओलीले कर्नरमा परेपछि चुनाव जित्न राजनीतिक फन्डा मात्रै गरेको विपक्षीको आरोप छ ।

ओली निक्कै सक्रिय भए अनेक स्टन्टमा उभिंदै गर्दा एमालेको १५ वर्ष महासचिव भएका नेकपा एसका अध्यक्ष माधव नेपाल भने चरम आलोचनामा उत्रिने गर्छन् । सूर्यमा ग्रहण लागिसकेकाले आगामी निर्वाचनपछि एमाले पत्तासाफ हुने दाबी उनको छ ।

यस्तो छ एमालेसँग सूर्य चिन्हको साइनो

ओलीले सूर्य चिन्हलाई विशेष महत्व दिनुको पछाडि एमालेको स्थापनासँग सूर्य चिन्ह पनि जोडिएको छ । २०४६ को बहुदल स्थापनापछि तत्कालीन दुई वाम घटक नेकपा माले र नेकपा माक्र्सवादीबीच पार्टी एकता भएको थियो । मालेको नेतृत्व मदनकुमार भण्डारीले गरेका थिए । माक्र्सवादीको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए । समान विचार बोकेका यी दुई पार्टीबीच २०४७ पुस २८ मा एकता भइ नेकपा(एमाले) बनेको थियो । पार्टीको चुनाव चिन्हलाई लिएर ठूलो बहस भएको थियो ।

यही बहसकाबीच २०४८ को निर्वाचनमा एमाले होमियो । चुनाव चिन्ह तय भइसकेको थिएन । बहसकै शिलशिलामा तत्कालीन मालेका नेता प्रदीप नेपालले महासचिव भण्डारीसमक्ष सूर्य चिन्ह प्रस्ताव गरेका थिए । नेपाललाई सूर्य चिन्ह प्रयोग गर्न सल्लाह चाहिँ पत्रकार तथा साहित्यकार हरिहर अधिकारी(श्यामल) दिएको जिकिर गर्दै आएका छन् । त्यतिबेला सूर्य चिन्ह लिनेबारे ठूलै बहस भएको नेता नेपाल सम्झन्छन् ।

‘मुख्य देवताका रुपमा हिन्दुहरूले सूर्यलाई मान्दै आएको र नेपालको राष्ट्रिय झण्डामासमेत सूर्य प्रयोग भएकाले यस विषयमा पार्टीभित्र र बाहिर ठूलै बहस भएको नेता नेपाल बताउँछन् । कम्युनिष्टहरूले सूर्य चिन्ह प्रयोग गर्दा धर्मसँग जोडिने भएकाले पनि पार्टीभित्र सूर्य रोजाइमा परेको थिएन । निर्वाचन आयोगमा पनि यो विषयमा ठूलै बहस भएको थियो’, उनले भने, ‘तर २०४३ मा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा त्यतिबेलाका चर्चित जनपक्षीय नेता पद्यमरत्न तुलाधरले सूर्य चिन्हबाटै चुनाव जितेकाले सूर्य चिन्ह एमालेको रोजाइमा परेको हो ।’

यी बाहेक सूर्यको विशेषता हरेक प्राणीको जीवन र जगतसँग जोडिएको, पृथ्वीको प्रमुख उर्जा र स्रोत भएको, वास्तुशास्त्र अनुसार पूर्वी दिशालाई राम्रो मानिने, सूर्यको उदय पनि पूर्वबाटै हुने, नेपालको वामपन्थी आन्दोलनसमेत पूर्वबाट उदाएकाले यी सबै विशेषतालाई मध्यनजर गरी एमालेले सूर्य चिन्ह लिएको नेपाल सम्झन्छन् ।

पार्टीको चुनावी चिन्ह उनी आफैंले २०४८ सालको पूर्वासन्ध्यामा महासचिव भण्डारीसमक्ष प्रस्ताव गरेका थिए । भण्डारीले उनको प्रस्तावलाई स्वीकृति दिएका थिए । यद्यपि एमालेका पूर्वमहासचिव माधव नेपालले आफ्नो विशेष पहलमा निर्वाचन आयोगबाट सूर्य चिन्ह लिएको दाबी गरेका छन् । सूर्य चिन्नका लागि आफूले धेरै पापड बेल्नुपरेको जिकिर गर्दै आएका छन् । कारण जेसुकै भएपनि एमाले स्थापनासँग सूर्य चिन्ह जोडिएकाले एमालेले विशेष महत्व दिँदै आएको छ । आम जनतामासमेत सूर्य भनेको एमाले हो भन्नेमा छाप परेको देखिन्छ । त्यसैले नेकपा र एमाले विभाजन भएपनि पार्टी कमजोर भएको छैन भन्ने देखाउन पनि ओलीले आगामी निर्वाचनलाई विशेष महत्व दिएका छन् ।

सूर्य चिन्हमा ओली र प्रचण्ड–माधवबीच तानातान

२०७७ पुस ५ ओली नेतृत्वको सरकारले पहिलोपटक संसद विघटन पछि नेकपाभित्र ओली र प्रचण्ड–माधवबीच सूर्य चिन्ह तानातानमा परेको थियो । केन्द्रीय कमिटी र संसदीय दलमा प्रचण्ड–माधवलाई दुईतिहाइ सदस्यले साथ दिँदा ओली अल्पमतमा परेका थिए । दुवैपक्षमा पार्टी विभाजन भन्दापनि चुनाव चिन्ह कसले हात पार्ने भन्ने हानाथापमा विवाद निर्वाचन आयोगमा पुगेको थियो । तर २०७७ साल फागुन २३ मा सर्वोच्च आदलतले नेकपा विघटन गरिदिएपछि विवाद अन्त्य भएको थियो ।

२०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरी निर्वाचनमा होमिएका थिए । दुई ठूला वाम गठबन्धन र विगतमा ओली आफंैले बनाएको राष्ट्रवादी छविका कारण संघमा झण्डै दुइतिहाइ र सात प्रदेशमध्ये मधेश प्रदेशबाहेक ६ प्रदेशमा दुइतिहाइ बढी सिट जितेको थियो । निर्वाचनपछि शक्तिशाली प्रधानमन्त्री भएका ओली तत्कालीन नेकपाभित्र ओली–प्रचण्डबीचको द्वन्द्वका कारण ४२ महिनामै ओली सरकार ढलेको थियो ।

नेपालको इतिहासमै एकै कार्यकालमा दुईपटक संसद विघटन गर्ने प्रधानमन्त्रीमा ओलीले कीर्तिमान राखेका थिए । ओली र प्रचण्डका कारण नेकपा विघटन भएको थियो । नेकपा विघटनपछि पुनस्र्थापित एमालेसमेत ओलीले जोगाउन सकेनन् । आगामी निर्वाचनमा प्रचण्ड–माधवको साथबिना नै एमालेलाई ठूलो दल बनाउने हुटहुटी ओलीमा भएको देखिन्छ । जीवनको उत्तरार्धमा रहेका ओलीले एमाले सिध्याएको दोषबाट मुक्त हुन र एमालेसँगको सूर्यको साइनो भविष्यसम्म सुरक्षित राख्नसमेत उनले यो निर्वाचन जित्न विशेष रणनीति बनाएका छन् ।

यस्तो छ चुनाव जित्ने ओलीको रणनीति

निर्वाचनको १५ दिन अघि सार्वजनिक चुनावी सभा गर्न नपाउने निर्वाचन आयोगको आचार संहितालाई मध्यनजर गरी ओलीले डिजिटल प्लेटर्फमलाई मज्जैले प्रयोग गरेका छन् । एमालेले निर्वाचनलाई लक्षित गरी कत्तिक १८ देखि ४० भन्दा बढी जिल्लामा आक्रामक चुनावीसभा गर्ने तयारी गरेको छ । विपक्षी गठबन्धन विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन लागेका ओलीको पहिलो चुनावी सभा चुच्चे नक्सा भएको जिल्ला दार्चुलामा हुनेछ । राष्ट्रियताको पक्षमा एमालेबाहेक अन्य दल उभिन नसक्ने तर्क ओलीको छ । त्यसैले भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा भू–भाग एमालेको नेतृत्वको सरकारलेमात्र ल्याउन सक्ने सन्देश दिन ओलीले पहिलो चुनावी सभा दार्चुलामा राख्न लगाएका हुन् ।

एकाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको अगुवाइमा सुदूरपश्चिमबाट सुरु हुने चुनावी अभियान मध्यपश्चिम, पश्चिम हुँदै पूर्वी नेपालमा गएर टुंगिनेछ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ पुरानै नारालाई निरन्तरता दिएका ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गरेको छ । पूरा हुन बाँकी काम निर्वाचनपछि एमालेको नेतृत्वको सरकारले निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । घोषणापत्रमा राष्ट्रियता, पूर्वाधार विकास, युवा उद्यमशीलता, तिब्र आर्थिक वृद्धि, सुशासन, रोजगारी प्रवद्र्धन, जनजीविकाको सवाललाई प्राथमिकताका साथ उठाएको छ ।
आगामी निर्वाचन जित्न माओवादी जनमत, निष्क्रिय स्वतन्त्र जनमतलाई प्रभावित पार्न राष्ट्रियताको मुद्दा, धर्म, जनजीविका, रोजगारी, उद्यमशीलता, भौतिक पूर्वाधार र आर्थिक वृद्धिलाई एमालेले घोषणापत्रमा विशेष महत्व दिएको छ ।

वृद्ध अवस्थामा पनि ओलीको युवाको जस्तै जोश

विपक्षी/विरोधीसँग सँधै कठोररूपमा प्रस्तुत हुने उनी आफ्ना समर्थक र शुभचिन्तकप्रति त्यतिनै उदार र नरम देखिन्छन् । भाषणमा उखानटुक्का, व्याङ्यसहित घन्टौं धाराप्रवाह प्रवचन दिन सक्नु उनको अर्को कला हो । भूगोल, जीवनजगत, इतिहास, राजनीति, विज्ञान, प्रविधि, कलासाहित्य, पूर्वीय तथा पश्चिमी दर्शन, खगोललगायत विषयमा विषयविज्ञता जस्तै गरी प्रस्तुत हुनु उनको अर्को विशेषता हो ।
२०२८ सालको झापा विद्रोहबाट वामपन्थी राजनीतिमा लागेका उनी २०३० सालमा तत्कालीन पञ्चायती शासकका सेनाद्वारा पक्राउ परेका थिए । ओली युवा अवस्थामै १४ वर्ष कठोर जेल जीवन बिताएका थिए ।२०४६ को आन्दोलनपछि खुला राजनीतिमा आएका उनी २०४८ को निर्वाचनदेखि लगातार संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् ।

२०७१ मा काठमाडौंमा भएको एमालेको ९ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । गतवर्ष चितवनमा भएको १० औं महाधिवेशनले ओलीलाई पुनः अध्यक्ष चयन गरेको हो । जेलजीवनको समयमा कठोर यातनाका कारण रोगले जीर्ण भएका ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरेका छन् । २०७२ र ०७४ गरी दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका उनी आगामी निर्वाचनपछि तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।