NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विहारमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ ।

हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए ।

विहारका मुख्यमन्त्री नीतिश कुमारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट चार लाख उपलव्ध गराउने घोषणा गरेका छन् ।

उनले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ । उत्तर एवम् पूर्वी भारतका हिन्दुहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवान्को उपासना गर्ने प्रचलन छ ।