NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सिंहदरबारका कर्मचारीको सरसफाइ : फोहोर पर्दा र कार्पेट ओछ्याउछन्, नधोएको तौलिया प्रयोग गर्छन्

काठमाडौं । सरसफाइ तथा खानेपानी शीर्षकमा सरकारले बर्सेनि अर्बौं बजेट विनियोजन गर्दै आइरहेको छ । आर्थिक वर्ष ०७५/७६ मा २४ अर्ब ५ करोड बजेट विनियोजन गरेको सरकारले ०७६/७७ मा १९ अर्ब ४१ करोड बजेट बढाएर ४३ अर्ब ४६ करोड रूपैयाँ विनियोजन गरेको थियो ।

त्यसयताका हरेक आर्थिक वर्षमा सरकारले यो शीर्षकमा यही अनुपातमा बजेट विनियोजन गर्दै आइरहेको छ । यो बजेटलाई उपलब्धिमूलक ढंगले खर्च गर्ने मन्त्रालयलगायत निकाय देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै छन् । यहाँ कार्यरत सचिव, सहसचिवलगायतका कर्मचारीहरू दैनिक दर्जनौं बैठक गरिरहेका हुन्छन् । त्यस्ता बैठकमा बेलाबखत सरसफाइ पनि छलफलको एजेण्डा बन्ने गर्छ ।

चर्पी गएपछि हात धोऔं, खाना खानुअघि हात धोऔंजस्ता सचेतनामूलक नारा सिंहदरबार अर्थात् त्यहाँ कार्यरत सचिव, सहसचिवका बैठकबाट तय गरिएका हुन् । तर त्यही सिंहदरबारभित्रको सरसफाइको अवस्था भने अति दयनीय छ ।

शौचालयलगायतको कुरा त छाडौं सचिव, सहसचिवलगायत उच्च पदस्थ कर्मचारी बस्ने कार्यकक्षको सरसफाइको अवस्था दिगमिग लाग्ने खालको छ । आममानिसलाई चर्पी गएपछि हात धुनपर्छ भनेर सिकाउने कैयौँ कर्मचारी आफैंचाहिँ सिंहदरबारमा नधोएका फोहोर तौलिया प्रयोग गर्दै आइरहेका छन् ।

सहरी विकास मन्त्रालयका एक उपसचिवले सिंहदरबारभित्र प्रयोग हुने तौलिया, सोफाका खोल, पर्दा, कार्पेटलगायत धुन कुनै व्यवस्था नभएको स्वीकार गरे । उनले सचिव, मन्त्री, तथा अन्य पदाधिकारीको कोठामा झुण्ड्याइएका पर्दाहरू कहिले पनि नधोइएको र यसतर्फ ध्यान नै नपुगेको बताए ।

केही वर्ष अघिसम्म हरेक कर्मचारीको कुर्सीमा एक–एक थान तौलिया झुण्ड्याइएको हुन्थ्यो । हेर्दै फोहोर देखिने ती तौलियाका बारेमा सामाजिक सञ्जालमा प्रश्न उठेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुर्सीमा तौलिया नझुण्ड्याउन परिपत्र गरेको थियो ।

उक्त परिपत्रपछि पनि केही कर्मचारीको कुर्सीमा तौलिया झुण्डिरहेका छन् । बाँकी कर्मचारीले नजिकैको ह्याङ्गरमा तौलिया झुण्डाउन थालेका छन् । तौलिया राख्ने स्थान परिवर्तन भए पनि त्यसको सरसफाइमा भने कर्मचारीले ध्यान दिन सकेका छैनन् ।

नेपालवाचसँगको कुराकानीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतले कार्यालयले तौलिया दिने तर धुन कुनै व्यवस्था नभएको बताए । उनले हरेक हप्ता घरमै लगेर आफ्नो तौलिया धुने गरेको दाबी गरे । तर अधिकाशं कर्मचारीले त्यही फोहर तौलियाले हरेक दिन हात पुछ्ने गरेका छन् ।

मन्त्रालय भन्छ– हामीले ध्यान नदिएको महसुस भयो

सिंहदरबारभित्र खानेपानी मन्त्रालय छ । यसको कार्यक्षेत्रमा खानेपानीसँगै सरसफाइ पनि पर्छ । उक्त मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदरबारका तौलिया, पर्दालगायतका वस्तुहरूको सफाइ गम्भीर विषय भएको र यतातिर ध्यान नपुगेको स्वीकार गरे ।

‘समाचारका लागि यो विषय नै रोचक छ । मन्त्रालयको पर्दा, तौलिया धुन छुट्टै संरचना बनाउन नपर्ने हो। धुनका लागि विशेष बजेट पनि आवश्यक पर्दैन। तर तौलिया, पर्दा नधुने गरेको विषय सत्य हो र यसमा तत्काल समाधानको उपाय खोज्ने प्रयास गर्नेछु,’ नेपालवाचसँग कुरा गर्दै सचिव गेलालले भने, ‘कार्यालय सञ्चालनको अलग्गै बजेट हुन्छ । शुक्रबार धोएर आइतबार बिहान धुलाउन सकिन्थ्यो । यसमा समस्या छैन ।  किन त्यस्तो भएन भन्नेचाहिँ गम्भीर विषय हो ।’

सचिव गेलालले आफूले प्रयोग गर्ने तौलियाचाहिँ बेलाबेला धुने गरेको तर कसले, कसरी धुने गरेको छ भन्नेबारे आफूलाई जानकारी नभएको बताए ।

गेलालले खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारीमा आएको चार महिना पुग्यो । तर यस अवधिमा आफ्नो कोठाको पर्दा भने नधोएइएको उनले स्वीकार गरे । सचिव गेलालले सरसफाइका सन्दर्भमा पनि सिंहदरबार गम्भीर बन्नुपर्ने भएको बताए ।

के हो समस्या ?

अधिकृत र त्यसभन्दा माथिका सबैजसो कर्मचारीलाई सरकारले एक–एक थान तौलिया उपलब्ध गराएको हुन्छ । हात पुछ्न, मुख पुछ्न तथा यस्तै व्यक्तिगत प्रयोजनका लागि तौलिया दिइएको हो ।

तर मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने तौलिया कसरी सफा राख्ने भन्ने विषयमा मन्त्रालयले कुनै चासो देखाएको छैन ।

सिंहदरबारभित्रको व्यवस्थापनका लागि सरकारले सहरी विकास मन्त्रालयअन्तर्गत छुट्टै इकाई नै खडा गरेको छ । सिंहदरबार सचिवालय भनेर चिनिने उक्त कार्यालयको जिम्मेवारी सरसफाइ गर्नु र यसका समस्या सम्बोधन गर्नु हो ।

राज्यका विशिष्ट पदाधिकारीहरूको बन्दोवस्ती गर्नु पनि यही कार्यालयको जिम्मेवारी हो । तर यो कार्यालयले सिंहदरबारको सफाइ र हेरचाहभन्दा विशिष्ट पदाधिकारीहरूमा अनिशय चासो दिने गरेको छ ।

सुन्दा सामान्य लागे पनि विषय गम्भीर : मरासैनी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासैनी सुन्दा सामान्य लागे पनि यो विषय निकै गम्भीर भएको बताउँछन् । मानिसले प्रयोग गर्ने तौलियालगायतका सामग्री फोहोर राख्दा अनेक प्रकारका सरुवाजन्य रोग लाग्ने भए पनि यसतर्फ चासो नपुगेको उनले गुनासो गरे ।

स्वास्थ्य मन्त्रालयमा रहँदा मरासैनी आफैंले पनि यो विषय पटक पटक उठाएका रहेछन् । तर यसमा कसैले पनि गम्भीरतापूर्वक चासो नराखेको उनको अनुभव छ ।

‘म स्वास्थ्य मन्त्रालयमा छँदा पटकपटक यस्ता सामान्य लाग्ने सरसफाइको विषय उठाएको थिएँ,’ उनले नेपालवाचसँग भने, ‘तर कसैले चासो नै दिएनन् । नसुनेपछि मैले पनि कुरा गर्न छाडेँ ।’

मरासैनी देशकै प्रशासनिक केन्द्र सिंहदरबारको सरसफाइको हविगतले अन्तर्राष्ट्रिय समुदायमा देशको सबैभन्दा ठूलो बेइज्जती भइरहेको बताउँछन् । उनका अनुसार, सिंहदरबारका मन्त्रालय र सरकारी संघ÷संस्थान फोहोर भएकै कारण विदेशी पाहुना त्यहाँभित्र छलफलमा बस्नबाट तर्कने गरेका छन् ।

यही सन्दर्भमा उनले एक दशकअघिको पुरानो प्रसंग स्मरण गरे । उनलाई ठ्याक्कै ती विदेशी पाहुना कुन देश र संस्थाका हुन् भन्ने याद छैन । तर कुनै देशका पाहुना नेपालको सरसफाइमा सघाउने हेतुले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्न आएका थिए । विदेशी टोलीलाई मन्त्रालयले आफ्नै हलमा छलफलका लागि आउन आमन्त्रण गर्यो । तर ती विदेशी पाहुनाले मन्त्रालयको सरसफाइको दयनीय अवस्था देखाएर आउन अस्वीकार गरेको र होटलमा लगेर बैठक गरिएको बताउँछन् ।

उनले सरसफाइका यस्ता विषयमा अभियान नै चलाउनुपर्ने औंल्याए ।