NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ८ गते

प्रभुको विद्रोह : एमालेका पूर्वमाओवादीलाई आपतकाल, साहलाई चमत्कार

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसार गर्न निर्वाचन आयोगले उम्मेदवारहरूलाई बिहीबारदेखि खुल्ला गरिएको छ । बुधबारसम्म घरदैलो अभियान गरेका दलहरूले आगामी मंसिर १ गतेसम्म १७ दिन निर्वाचन आचारसंहिताको दायरामा रहेर आमसभा, जुलुस, कोणसभा र सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पाउनेछन् । प्रतिनिधिसभा र प्रदेशसभातर्फ ८२५(प्रत्यक्ष र समानुपातिक) सदस्य निर्वाचनका लागि उम्मेदवारहरू चुनावी घोषणापत्रसहित यतिबेला आ–आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रीत छन् ।

त्यस्तै आगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गर्दै आएको एमालेले पनि शुक्रबारदेखि ४० जिल्लामा गठबन्धन विरुद्ध अक्रामक चुनावी सभा गर्ने भएको छ । चुच्चे नक्सा समेटिएको जिल्ला सुदूरपश्चिमको दार्चुलाबाट शुरु हुने चुनावी सभा सुदूरपूर्वमा पुगेर टुंगिने छ । जिल्लाका ठूला शहरमा हुने सबै चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । तर एमालेभित्रै एकतापक्षधर भनिएका, पूर्वमाओवादी नेताहरूको तिव्र असन्तुष्टि र विद्रोहले एमालेलाई पिरोलेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये १४१ क्षेत्रमा आफ्नो एकल उम्मेदवारी दिएको छ । बाँकी जसपा, राप्रपालगायत चुनावी मैदान खाली गरेको छ ।

प्रभु साहले एमालेसँग अलग्गिएर नयाँ निर्णय लिए । यसले उनलाई थप सुविधाजनक अवस्थामा पुर्याएको छ । तर एमालेभित्र रहेका पूर्वमाओवादी भने साहको बहिर्गमनले थप संकटमा परेका छन्

एकता पक्षधर भनेर चिनिएका एमालेका १० जना नेतामध्ये अछामबाट भीम रावल र रुपन्देही–३ बाट घानश्याम भुसालको टिकट खोसियो । प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका कतिपय उम्मेदवारलाई प्रदेशसभा सदस्य समेटिएको छ । उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले प्रत्यक्ष र समानुपातिक कतैपनि बस्न चाहेनन् । रघुजी पन्त समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । उम्मेदवार भएका बाँकी नेताहरू पनि चुनाव जित्नेमा ढुक्क छैनन् ।

तर अध्यक्ष ओलीले माओवादी पृष्ठभूमिका नेताहरूलाई खुशी पार्न र जनमत प्रभावित गर्न उनीहरूलाई प्राथमिकतामा राखेको देखिन्छ । आगामी निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वमाओवादीका ९ जनाले उम्मेदवारी दिएका थिए । प्रदेशसभा सदस्यमा १४ जनाले उम्मेदवारी दिएको एमालेले जनाएको छ । प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका ९ जनामध्ये अन्तिम समयमा प्रभु साहले विद्रोह गरी रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मनोनयन दर्ता गर्ने दिन असोज २३ सम्म टिकट होल्ड गरेर बसेका साहले अन्तिम समयमा टिकट रद्द गरी स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् । रौतहट–३ मा उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ । उनको गतिविधि संदिग्ध भएको आरोप लगाउँदै अध्यक्ष ओलीलेउनीसहितका नेताहरूलाई पार्टीबाट निस्कासन गरिसकेका छन् ।

अघिल्लो निर्वाचनमा साहसहित अर्घाखाँचीबाट टोपबहादुर रायमाझी, कैलाली–४ बाट लेखराज भट्ट र कैलाली–३ बाट गौरीशंकर चौधरी विजयी भएका थिए । नेकपा विघटनसँगै ओलीलाई साथ दिएकाले योपटक साविक निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार बन्ने अवसर पाएका हुन् ।

एमालेभित्र पूर्वमाओवादी नेतामा देखिएको चरम निराशापनलाई पार्टीभित्र ओलीको एकाधिकार भएको उनीहरूले चित्रण गरेका छन् । पार्टीले दिएको टिकट नै लत्याएर विद्रोह गरेका साहले ओलीको व्यवहारबाट एमालेभित्र पूर्वमाओवादी कोही पनि खुशी नभएको टिप्पणी गरे । उपाध्यक्ष रामबहादुर थापालाई ओलीले अपमान गरेको आरोप लगाउँदै उनले एमालेमा पूर्वमाओवादी नेतालाई अवसर नै नभएको टिप्पणी गरेका छन् । थापा योपटक निर्वाचनमा उठ्नै चाहेनन् । २०७४ को निर्वाचनमा थापा माओवादीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । बाँकी उम्मेदवार एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार भएपनि चुनाव जितिनेमा ढुक्क देखिँदैनन् ।

अघिल्लो निर्वाचनमा साह रौतहट–३ बाट २७ हजार ७९९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार यादवले १८ हजार २० मत पाएका थिए । रौतहट–३ मा साहको पार्टीगत भन्दापनि व्यक्तिगत प्रभाव बढी रहेको त्यहाँका स्थानीय बताउँछन् । रौतहटमा मात्र नभइ मधेश प्रदेशमै साहको राम्रो प्रभाव देखिन्छ । उनको व्यक्तिगत प्रभाव राम्रो देखिएकाले नै ओलीले प्रदेश इन्चार्जको विश्वास नगरी साहलाई विश्वास गरेका थिए । यद्यपि उनको अप्रत्यासित विद्रोहका कारण पूर्वमाओवादी नेतासँग ओली झस्किएका छन् । साहको विद्रोहले एमालेभित्रका पूर्वमाओवादीलाई निर्वाचन जित्न आपतकाल लाग्ने देखिन्छ । एमालेसँग विद्रोह गरेपनि गठबन्धनको बलियो साथ पाएकाले योपटकको निर्वाचन साहलाई चमत्कार हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा रौतहट–३ मा एमालेले २१ हजार ७२९ मत पाएको थियो । कांग्रेसले १९ हजार २४१ मत पाएको थियो । त्यस्तै नेकपा एसले ११ हजार ७३६ मत पाएको छ । त्यसैगरी माओवादीले ११ हजार २७९, जसपाले ९ हजार ४८३, जनमत पार्टीले १ हजार २९० र लोसपाले १ हजार ९७ मत पाएको थियो । यहाँ गठबन्धनको जम्मा मत ४३ हजार ३५३ मत रहेको छ । गठबन्धन एमालेभन्दा २१ हजार ६२४ मतले अगाडि रहेको छ । गठबन्धनको बलियो सहयोग रहेको र एमाले उम्मेदवारबिहीन भएकाले साहले जित्ने सम्भावना बलियो देखिन्छ । उनको विद्रोहले एमालेलाई रौतहटमा ठूलो क्षति पुगेको छ ।

एमाले सचिव रायमाझी अघिल्लो निर्वाचनमा अर्घाखाँचीबाट विजयी भएका थिए । वामगठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार रहेका उनी ५० हजार ८३७ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए । उनी २०६४, २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रायमाझीको मतान्तर १८ हजार २९३ रहेको छ । आसन्न निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार पुष्पा भुसालसँग उनको कडा प्रतिस्पर्धा हुनेछ । पूर्वउपसभामुख तथा कांग्रेसक प्रमुख सचेतकसमेत रहेकी उनी आफै क्षमतावान नेताको छवि बनाइकी व्यक्ति हुन् । उनलाई माओवादी, एकीकृत समाजवादी र राजमोले बलियो साथ दिएका छन् । योपटक रायमाझीलाई अपराजित विरासत कायमै राख्न चुनैतीपूर्ण देखिन्छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेको ४८ हजार २६० मतसंख्या रहेको छ । कांग्रेसको ३७ हजार ९२५, माओवादीको ७ हजार ७९० र राजमो ४ हजार २९४ र नेकपा एसको ३ हजार ७६३ मत रहेको छ । एक्लाएक्लै चुनावमा भिड्दा रायमाझीका लागि सहज भएपनि गठबन्धनका कारण रायमाझीलाई निर्वाचन जित्न निकै कठिन देखिन्छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ५३ हजार ७७२ रहेको छ । गठबन्धन ५ हजार ५१२ मतले अगाडि रहेको छ ।

अघिल्लोपटक वाम गठबन्धनबाट माओवादीका उम्मेदवार रहेका अर्का सचिव भट्ट योपटक एमालेबाट उम्मेदवार भएका छन् । नेकपा विघटनसँगै एमालेमा बसेका भट्टलाई निर्वाचन जित्न भने त्यति सहज देखिंदैन । २०७४ को निर्वाचनमा भट्ट कैलाली–४ बाट ३१ हजार ३५९ मत ल्याइ विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए । उनको मतान्तर १० हजार ३९९ रहेको छ । आसन्न निर्वाचनमा भट्को विपक्षमा गठबन्धनबाट पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसका प्रभावशाली उम्मेदवार रहेका बलायर अघिल्लोपटक डोटीबाट एमाले उम्मेदवार प्रेम आलेसँग पराजित भएका थिए ।

२०६४, २०७० र २०७४ मा लगातार निर्वाचन जितेका भट्टलाई चुनाव जित्न गठबन्धनको अतिरिक्त पार्टीभित्रकै अन्तरघार्तको सामना गर्नुपर्ने देखिन्छ । एमालेका प्रभावशाली नेता रावलले अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएपनि अन्तिममा उनको टिकट खोसिएका थियो । यस घटनाबाट चिढिएका रावलपक्षका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रावल चुनावी अभियानमा नगइ काठमाडौंमा बसेका छन् । यसको प्रभाव पुरै सुदूरपश्चिममा पर्न सक्ने अनुमान गरिएको छ ।

स्थानीय तह निर्वाचनमा कैलाली–४ मा कांग्रेसको जनमत राम्रो देखिएको छ । कांग्रेसले २२ हजार ९९७ मत पाएको छ । एमालेले २० हजार ८१ मत पाएको छ । माओवादीले १० हजार १२३, नेकपा एसले ४ हजार २९, राप्रपाले ३ हजार २३४ र अन्यले १२८ मत पाएको छ । यो क्षेत्रमा पनि गठबन्धन बलियो देखिएको छ । गठबन्धनको जम्मा मत ३७ हजार १४९ रहेको छ । यहाँ १७ हजार ६८ ले एमाले पछि परेको छ ।

यसैगरी अघिल्लो निर्वाचनमा कैलाली–३ बाट माओवादीका उम्मेदवार चौधरी निर्वाचित भएका थिए । उनी २४ हजार ८७९ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । उनको मतान्तर ४ हजार ३८५ रहेको छ । नेकपा विघटनसँगै एमालेमा लागेका उनी योपटक सोही दलबाट उम्मेदवार भएका छन् । उनको क्षेत्रमा पनि गठबन्धन बलियो रहेकाले चुनाव जित्न मुस्किल देखिन्छ । उनलाई गठबन्धनबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरीले चुनौती दिएका छन् । कृष्ण सुदूरपश्चिममा राम्रै प्रभाव भएको नेतामा गनिन्छन् ।

स्थानीय तह निर्वाचनमा कैलाली–३ मा कांग्रेसले १९ हजार ९९२ मत पाएको थियो । माओवादीले ११ हजार ७१६ मत पाएको छ । तेस्रो स्थानमा रहेको एमाले ११ हजार २५७ मत छ । राप्रपाको ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४७, जसपाको २ हजार ८५९ र नेकपा एसको १ हजार ९७८ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ३६ हजार २४५ रहेको छ । २४ हजार ९८८ मतले गठबन्धन अगाडि देखिन्छ ।