NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चुनावी सुरक्षाका लागि ५८ जिल्लालाई प्रहरी पुगेन, उपत्यकाबाट पठाइँदै

काठमाडौं । निर्वाचनका लागि प्रहरी प्रधान कार्यालय तथा उपत्यकाका अन्य कार्यालयमा कार्यरत १२ हजार एक सय ६१ प्रहरी थप मद्दतका लागि उपत्यकाबाहिरका जिल्लामा खटाइने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रहरीसमेत अन्यत्र खटिने भएका छन् । उपत्यकाका जिल्लामा तुलनात्मक रूपमा सुरक्षा चुनौती कम हुने भएकाले त्यहाँका प्रहरीलाई अन्यत्र खटाउन लागिएको हो । २२ कात्तिकदेखि थप मद्दतका लागि प्रहरी खटाइने प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

५८ जिल्लाले निर्वाचनमा थप मद्दतका लागि जनशक्ति माग गरेका छन् ।

उता, कारागार, विमानस्थललगायत स्थानमा कार्यरत प्रहरी मतदानस्थलमा खटिने भएपछि त्यहाँको सुरक्षा जिम्मेवारी सेनाले लिन थालेको छ । बिहीबारसम्म २३ वटा कारागारको सुरक्षा जिम्मेवारी सेनाले लिइसकेको प्रहरी प्रवक्ता डिआइजी राईले बताए ।

निर्वाचनमा सेना र सशस्त्र प्रहरी सहयोगी भूमिकामा खटिनेछन् । निर्वाचनमा प्रत्यक्ष सुरक्षामा नेपाल प्रहरी र म्यादी मात्र खटिनेछन् । कार्यालय सुरक्षा तथा गस्तीको जिम्मेवारी सेना र सशस्त्र प्रहरीलाई छ । सशस्त्र प्रहरीले गस्तीबाहेक निर्वाचन कार्यालयको सुरक्षासमेत हेर्नेछ । मतगणनास्थलमा पनि सशस्त्र प्रहरीलाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचनमा करिब दुई लाख ९५ हजार सुरक्षाकर्मी खटिँदै छन् । करिब ७२ हजार नेपाल प्रहरी, ७१ हजार सेना, ३५ हजार सशस्त्र प्रहरी, दुई हजार राष्ट्रिय अनुसन्धान विभाग र एक लाख १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिँदै छन् ।

ताजा अपडेट

नेपालवाच विशेष