NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

एसियामा कहाँ–कहाँ चल्छ फाइभजी ?

काठमाडौं । तिहारअघि नै फाइभजीका उपकरण जडान गरेर परीक्षणलाई तीव्रता दिने बताएको नेपाल टेलिकमले अझै पनि त्यो काम सम्पन्न गर्न सकेको छैन । सुन्धारा र बबरमहलमा फाइभजी नेटवर्कको हार्डवेयर उपकरण जडान भइरहेको कम्पनीले जनाएको छ ।

‘सुन्धारामा जडान सकिएर टेस्टिङको काम भइरहेको छ,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘बबरमहलमा जडान जारी छ । जडानपछि टेस्टिङ गरेर ट्रायलमा जान्छौं ।’ कतिपय सञ्चारमाध्यमले काठमाडौंमा फाइभजी परीक्षण सुरु भइसकेको जनाए पनि त्यो सत्य नभएको प्रवक्ता अधिकारीले बताए ।

‘तिहारअघि पहिलो चरणका सामान आए,’ टेलिकमको वायरलेस सेवा निर्देशनालयका प्रबन्धक सुबोध रिमालले भने, ‘अहिले इन्स्टलेसनको काम हुँदै छ ।’ फाइभजी परीक्षणका लागि अझै केही समय लाग्ने उनको भनाइ छ । प्रवक्ता अधिकारीले भने अझै दुई महिना लाग्न सक्ने बताए । दक्षिण एसियाली (सार्क) देशमध्ये नेपाल, अफगानिस्तान र भुटानमा मात्रै फाइभजी सेवा छैन । भारतमा हालै फाइभजीको व्यावसायिक सुरुवात भएको छ । यसको विस्तारका लागि अहिले त्यहाँ तीव्र रूपमा काम भइरहेको छ । जियो र एयरटेलले भारतका विभिन्न ठाउँमा फाइभजी नेटवर्क विस्तार गरिरहेका छन् । ओक्लाको फाइभजी स्पिड टेस्ट रिपोर्टअनुसार एयरटेलभन्दा जियोको फाइभजी स्पिड राम्रो छ । ओक्लाकै फाइभजी म्याप (नक्सा) अनुसार भारतमा सिलिगुढी, बैंगलुरु, नागपुर र हैदरावादमा फाइभजीको व्यावसायिक प्रयोग भइरहेको छ । चेन्नई, पुने, प्रयागराज, नयाँ दिल्ली, बनारस, गाजियावादलगायत स्थानमा सीमित डिभाइसमा मात्रै फाइभजी चलेको छ । उत्तराखण्डको दल्वानी र गुजरातको अहेमदावादमा फाइभजी नेटवर्कको हार्डवेयर जडानको काम भइरहेको छ ।

दक्षिण एसियामा सबैभन्दा पहिला श्रीलंकामा फाइभजी परीक्षण र प्रयोग भएको त्यहाँको दूरसञ्चार सेवा प्रदायक डायलग आजिएटाले जनाएको छ । डायलगले सन् २०१८ मै फाइभजी क्षमताको प्रदर्शन गरेको थियो । डायलगले फाइभजी एसएमार्फत आफूले थप स्वचालित ड्राइभिङ, इमर्सिभ सेवालगायत परिष्कृत फिचर प्रदान गर्न सक्ने दाबी गर्दै आएको सिन्ह्वाले जनाएको छ । हाल श्रीलंकाको कोलम्बो, जफना, अनुराधापुरा, क्यान्डीलगायत विभिन्न स्थानमा फाइभजी नेटवर्क विस्तार भइरहेको ओक्लाको नक्सामा देखिन्छ ।

पाकिस्तानको इस्लामावादमा फाइभजी नेटवर्क छ । तर, त्यहाँ आम उपभोक्ताले सर्वसुलभ रूपमा फाइभजी चलाउन सक्दैनन् । सीमित रूपमा मात्रै फाइभजी सेवा सञ्चालनमा छ । डिसेम्बरभित्र व्यावसायिक रोल आउट गर्ने भनिए पनि राजनीतिक परिवर्तनका कारण अब सन् २०२३ को जुन महिनाभित्र फाइभजी विस्तार गर्ने पाकिस्तानको लक्ष्य छ । त्यहाँ सन् २०१९ को अगस्टमै इस्लामाबाद, कराँची र लाहोरमा फाइभजी परीक्षण गरिएको थियो ।

माल्दिभ्समा तीन महिनाअघि मात्रै चारवटा टापुमा फाइभजी सेवा सुरु गरिएको हो । ‘माल्दिभ्समा फाइभजी सेवाको सुरुवात यहाँका नागरिकका लागि पनि एक फड्को मारेसरह हो,’ माल्दिभ्स फाइनान्सियल रिभ्युले लेखेको छ, ‘फोरजीभन्दा फाइभजी १० गुना छिटो छ । यसको औसत स्पिड ४ सय एमबीपीएसदेखि ६ सय एमबीपीएससम्म हुन्छ । सबैभन्दा धेरै १ जीबीपीएसम्म स्पिड हुन्छ ।’

बंगलादेशको ढाका, चट्गाउँ र रंगपुरमा फाइभजी सेवा उपलब्ध छ । सन् २०२१ को डिसेम्बरमा ‘न्यु एरा विद फाइभजी’ कार्यक्रम आयोजना गरी टेलिटक बंगलादेशले हुवावेको सहयोगमा फाइभजी सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय संसद् भवन, बंगबन्धु स्मृति संग्रहालयलगायत ६ वटा स्थानमा फाइभजी सेवा उपलब्ध गराइएको थियो । त्यहाँका सञ्चार विज्ञले भने फाइभजी वास्तवमै आवश्यक छ भनी प्रश्न गर्ने गरेका छन् । फोरजी विस्तारमा असाध्यै ठूलो लगानी गरिए पनि त्यहाँ अझै ६७ प्रतिशतभन्दा बढी जनसंख्या यसको पहुँचमा नआइसकेको विज्ञले औंल्याएका छन् । ‘भर्चुअल रिआलिटी, इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा फाइभजीको प्रयोग हुन्छ,’ बंगलादेशका दूरसञ्चारविज्ञ महताब उद्दिन अहमदले द डेली स्टारमा प्रकाशन हुने ‘डिजिटल डेयर’ स्तम्भमा लेखेका छन्, ‘हाम्रो देशको डेटा युजेज हेर्दा दुईतिहाइले युट्युब र सामाजिक सञ्जालका लागि इन्टरनेट प्रयोग गरिरहेको देखिन्छ । युट्युब, फेसबुक र टिकटकका लागि फाइभजीमा लगानी गर्नु के हाम्रा लागि अर्थतन्त्रपूर्ण छ ?’ कान्तिपुर दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष