NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

निश्चित छ यी २९ निवर्तमान सांसदको हार

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघ र प्रदेशका कम्तीमा २९ निवर्तमान सांसदको हार निश्चित बनेको छ । किनभने २८ निर्वाचन क्षेत्रमा ५७ निवर्तमान सांसद प्रतिस्पर्धा गर्दै छन् । यी क्षेत्रमा उनीहरूबाहेकका उम्मेदवारले ‘बाजी’ मारे पराजित हुने निवर्तमान सांसदको संख्या अझ धेरै हुनेछ ।

दाङ १ मा प्रतिनिधिसभाका तीन निवर्तमान सांसद प्रतिस्पर्धामा छन् भने काठमाडौं १०, काठमाडौं ७, चितवन २, धनुषा ३, सिराहा २, सर्लाही २, बारा ४, पर्सा १, नवलपरासी पश्चिम १, गुल्मी २, अर्घाखाँची, रुपन्देही १ र दार्चुलामा दुई–दुई सांसदबीच प्रतिस्पर्धा हुँदै छ । त्यस्तै, बारा ३, धादिङ १, काठमाडौं २, लमजुङ, भोजपुर, खोटाङ, नुवाकोट १, दाङ २, कञ्चनपुर १, कैलाली ५, डडेल्धुरा, हुम्ला, दैलेख १ र सुनसरी २ मा प्रतिनिधिसभा र प्रदेश सभाका निवर्तमान सांसद भिड्दै छन् ।

अघिल्लोपटक प्रत्यक्ष निर्वाचित मेटमणि चौधरी तथा समानुपातिक प्रतिनिधित्व गरेका शान्ता चौधरी र गंगा चौधरी यसपालि दाङ १ मा प्रतिस्पर्धा गर्दै छन् । मेटमणि एकीकृत समाजवादी, शान्ता एमाले र गंगा हाम्रो नेपाली पार्टीका उम्मेदवार हुन् । गंगाले एमालेले टिकट नदिएपछि पार्टी बदलेर उम्मेदवारी दिएकी हुन् भने मेटमणि एमालेबाटै विद्रोह गरेर एकीकृत समाजवादीमा लागेका नेता हुन् । एउटै क्षेत्रमा प्रतिस्पर्धामा रहेकाले तीनमध्ये दुई निवर्तमान सांसदले हार्ने निश्चित छ ।

काठमाडौं ७ मा जसपाका राजेन्द्र श्रेष्ठ र स्वतन्त्र उम्मेदवारी दिएका रामवीर मानन्धर चुनावी प्रतिस्पर्धामा छन् । श्रेष्ठ जसपाका निवर्तमान समानुपातिक सांसद हुन् भने मानन्धर एमालेका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसद हुन् । काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसी र माओवादीकी अञ्जना विशंखे चुनावी मैदानमा छन् । केसी प्रत्यक्ष निर्वाचित र विशंखे समानुपातिक निवर्तमान सांसद हुन् । चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् । पोखरेल यसअघि प्रत्यक्ष निर्वाचित र श्रेष्ठ समानुपातिक निवर्तमान सांसद हुन् ।

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमार झाँक्री मैदानमा छन् । विष्ट प्रत्यक्ष निर्वाचित र झाँक्री समानुपातिक निवर्तमान सांसद हुन् । यसअघि एमालेमै रहेकी झाँक्री अहिले एकीकृत समाजवादीमा छिन् । धनुषा ३ मा एमालेकी जुली महतो र लोसपाका अनिल झा उम्मेदवार छन् । महतो समानुपातिकबाट निवर्तमान सांसद हुन् भने झाले ०७४ को निर्वाचन रौतहट १ बाट जितेका थिए । सत्तारूढ गठबन्धनमा रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार भएपछि झा धनुषा गएका हुन् । धनुषा ३ मा अघिल्लोपटक लोसपाका राजेन्द्र महतो निर्वाचित भएका थिए । त्यतिवेला महतोलाई एमालेले समर्थन गरेको थियो ।

नवलपरासी पश्चिम १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी चुनावी प्रतिस्पर्धामा छन् । त्रिपाठी प्रत्यक्ष निर्वाचित र चौधरी समानुपातिक निवर्तमान सांसद हुन् । त्रिपाठी अघिल्लो निर्वाचनमा एमालेको चुनाव चिह्नबाट प्रतिस्पर्धामा थिए, उनलाई अहिले पनि एमालेकै समर्थन छ ।पर्सा १ मा जसपाका प्रदीप यादव र लोसपाका लक्ष्मणलाल कर्ण चुनावी प्रतिस्पर्धामा छन् । यादव यही क्षेत्रका निवर्तमान सांसद हुन् भने कर्ण पर्सा ४ बाट निर्वाचित भएका थिए ।

बारा ४ मा एमालेका एकवाल मियाँ र एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । मियाँ यही क्षेत्रबाट अघिल्लो निर्वाचनमा लोसपाबाट निर्वाचित भएका थिए भने श्रेष्ठ तनहुँ १ बाट निर्वाचित भएका थिए । तनहुँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडेर श्रेष्ठ बारा झरेका हुन् ।रुपन्देही १ मा एमालेबाट छविलाल विश्वकर्मा र स्वतन्त्रबाट घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा छन् । विश्वकर्मा यही क्षेत्रका निवर्तमान सांसद हुन् भने भुसाल अघिल्लो निर्वाचनमा रुपन्देही ३ बाट एमालेबाटै निर्वाचित भएका थिए । यसपालि टिकट नदिएपछि भुसालले एमाले नै परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । भुसाललाई सत्तारूढ गठबन्धनले साथ दिएको छ ।

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी र कांग्रेसकी पुष्पा भुसाल चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा रायमाझी प्रत्यक्ष निर्वाचित र भुसाल समानुपातिक सांसद थिए ।सर्लाही २ मा माओवादीका महिन्द्र राय यादव र लोसपाका राजेन्द्र महतो भिड्दै छन् । यादव यही क्षेत्रका निवर्तमान सांसद हुन् भने महतोले अघिल्लो निर्वाचन धनुषा ३ बाट जितेका थिए । अहिले धनुषा ३ अनिल झालाई छाडेर महतो सर्लाही फर्किएका हुन् । सिराहा २ मा पनि कांग्रेसकी चित्रलेखा यादव र जसपाका राजकिशोर यादव प्रतिस्पर्धामा छन् । चित्रलेखा समानुपातिक निवर्तमान सांसद हुन् भने राजकिशोरले अघिल्लो निर्वाचन सिराहा ४ बाट जितेका थिए ।

दार्चुलामा एमालेका गणेश ठगुन्ना र कांग्रेसका दिलेन्द्र बडू भिड्दै छन् । अघिल्लोपटक ठगुन्ना प्रत्यक्ष निर्वाचित र बडू समानुपातिक सांसद हुन् । त्यस्तै, डडेल्धुरामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस विपीका कर्ण मल्ल चुनावी प्रतिस्पर्धामा छन् । देउवा प्रतिनिधिसभा र मल्ल प्रदेश सभाका निवर्तमान सांसद हुन् । देउवाले सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेका छन् । मल्ल ०७४ मा कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका थिए ।

दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र माओवादी नेतृ रेखा शर्मा भिड्दै छन् । अघिल्लो निर्वाचनमा पोखरेल प्रदेश सभामा प्रत्यक्ष र शर्मा प्रतिनिधिसभामा समानुपातिक सांसद हुन् । लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी महासचिव देव गुरुङ प्रतिस्पर्धामा छन् । पृथ्वी ०७४ मा प्रदेश र देव प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

सुनसरी २ मा एमालेका भीम आचार्य र कांग्रेसका सीताराम महतो भिड्दै छन् । अघिल्लो निर्वाचनमा आचार्य प्रदेश सभा र महतो प्रतिनिधिसभाका सांसद थिए । भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किराँती चुनावी मैदानमा छन् । अघिल्लोपटक राई प्रदेश सभा र किराँती प्रतिनिधिसभा सांसद थिए ।
त्यस्तै, खोटाङमा एमालेका विशाल भट्टराई र माओवादीका रामकुमार राई प्रतिस्पर्धामा छन् । भट्टराई प्रतिनिधिसभाका र राई प्रदेश सभामा निवर्तमान सांसद हुन् ।

नुवाकोट १ मा एमालेका बद्री मैनाली र माओवादीका हितबहादुर तामाङ प्रतिस्पर्धामा छन् । मैनाली प्रदेशका र तामाङ प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् ।

काठमाडौं २ मा एमालेका मणिराम फुँयाल र माओवादीकी ओनसरी घर्ती चुनावी मैदानमा छन् । फुँयाल प्रदेश र घर्ती प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । कञ्चनपुर १ मा माओवादीकी विना मगर र एमालेका तारा लामा प्रतिस्पर्धामा छन् । मगर प्रतिनिधिसभा र लामा प्रदेश सभाका निवर्तमान सांसद हुन् । त्यस्तै, बारा ३ मा एमालेकी ज्वालाकुमारी साह र जसपाका रामबाबुकुमार यादव भिड्दै छन् । साह प्रदेश र यादव प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । धादिङ १ मा एमालेका भूमि त्रिपाठी र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे भिड्दै छन् । त्रिपाठी प्रतिनिधिसभा र पाण्डे प्रदेश सभाका निवर्तमान सांसद हुन् । पाण्डे बागमती प्रदेशका मुख्यमन्त्रीसमेत हुन् ।

कैलाली ५ मा एमालेका नारदमुनि राना र कांग्रेसका डिल्लीराज पन्त चुनावी मैदानमा छन् । राना प्रतिनिधिसभा र पन्त प्रदेश सभाका निवर्तमान सांसद हुन् । हुम्लामा एमालेका दल रावल र माओवादीका छिरिङ डम्डुल लामा चुनावी प्रतिस्पर्धामा छन् । दुवै निवर्तमान प्रदेश सभा सांसद हुन् । दुवै पूर्वमन्त्रीसमेत हुन् । त्यस्तै, दैलेख १ मा एमालेका रवीन्द्रनाथ शर्मा र एकीकृत समाजवादीका अम्मरबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् । शर्मा प्रतिनिधिसभा र थापा प्रदेश सभाका निवर्तमान सांसद हुन् ।

प्रतिनिधिसभाका दुई सय ७५ निवर्तमान सांसदमध्ये एक सय २५ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । जसमा एमालेका ५३, कांग्रेसका २३, माओवादीका १८, एकीकृत समाजवादीका ११, जसपाका सात, लोसपाका पाँच, स्वतन्त्र तीन तथा जनमोर्चा, राप्रपा, नेमकिपा, हाम्रो नेपाल पार्टी र जनता प्रगतिशील पार्टीका एक–एकजना छन् ।