के हो दिगो विकास लक्ष्य ?

लोक सेवा आयोगले कायम गरेको निष्पक्षताले जनतामा यसप्रतिको विश्वास बढाएको छ । त्यसैले यसले लिने परीक्षाप्रति आकर्षण बढ्दो छ । परीक्षामा राम्रो नतिजा हासिल गरी निजामती सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही अवस्थालाई मध्यनजर गरी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सुमन खड्काले दिगो विकासको प्रश्नमा समाधान पहिल्याउनुभएको छ ।
दिगो विकास
भविष्यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्नु दिगो विकास हो ।
प्राकृतिक स्रोतसाधन¸ वातावरण¸ जनसंख्या र विकास गतिविधिहरूबीचको उचित एवं सन्तुलित तालमेल र व्यवस्थापन दिगो विकास हो । यसलाई टिकाउपूर्ण र धान्न सक्ने विकासका रूपमा लिइन्छ ।
दिगो विकास लक्ष्यका अवधारणा
शान्ति र समृद्धिका लागि सहकार्य गर्ने विश्व समुदायको प्रतिबद्धताबमोजिम संयुक्त राष्ट्र संघका सम्पूर्ण सदस्य राष्ट्रको सामूहिक प्रयास र प्रतिबद्धताका आधारमा घोषणा गरिएको कार्ययोजना दिगो विकास लक्ष्य हो । यो मानवकेन्द्रित अवधारणा पनि हो । यस अवधारणाले विकासलाई एकीकृततबरबाट व्यापक रूपले मानवीय अवस्थामा सुधार गर्दै आर्थिक, सामाजिक, पूर्वाधार वातावरणीय तथा संस्थागत विकास गर्ने माध्यमको रूपमा भूमिका निर्वाह गर्दछ ।
पृथ्वीको क्षमताको दायराभित्र रहेर मानिसको जीवनमा समृद्धि ल्याउन र समाजमा शान्ति कायम गर्न विश्व समुदायले अवलम्बन गरेको विकासको विश्वव्यापी साझा खाका दिगो विकास लक्ष्य हुन् ।
दिगो विकास लक्ष्यका पाँचवटा स्तम्भ छन् । जुन निम्न छन् :
- पृथ्वी – पृथ्वीमा रहेका प्राकृतिक साधन स्रोत र वातावरण भावी पुस्ताका लागि संरक्षण गर्ने ।
- मानव – सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवं समानता कायम गर्ने ।
- समृद्धि – प्रकृतिसँग सामञ्जस्यता कायम गरी समृद्ध र समुन्नत जीवनको सुनिश्चित गर्ने ।
- शान्ति – शान्तिपूर्ण, समन्यायिक र समावेशी समाजको निर्माण गर्ने ।
- साझेदारी – सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासका कार्यसूचीहरूको कार्यान्वयन गर्ने।
दिगो विकास लक्ष्यहरू
सन् २०१५ मा संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रूपमा जारी भएको दिगो विकास लक्ष्यको १७ लक्ष्य, १६९ परिमाणात्मक गन्तव्य र २३२ वटा सूचक छन् ।
दिगो विकासका १७ वटा लक्ष्यलाई देहायबमोजिम प्रस्तुत गरिन्छ :
१. गरिबीको अन्त्य
२. भोकमरीको अन्त्य
३. स्वस्थ्य र समुन्नत समाज
४. समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा
५. लैङ्गिक समानता
६. स्वच्छ खानेपानी तथा सरसफाइ
७. दिगो र आधुनिक ऊर्जामा पहुँच
८. भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनशील रोजगार
९. उद्योग, पूर्वाधार र नवीन सिर्जना
१०. असमानता न्यूनीकरण
११. दिगो शहर र समुदाय
१२. दिगो उत्पादन र उत्पादन प्रणाली सुनिश्चित
१३. जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण
१४. जलमुनिको जैविक विविधताको संरक्षण
१५. जमिनमाथिको जैविक विविधताको संरक्षण
१६. शान्ति, न्याय र सशक्त निकाय
१७. विश्वव्यापी साझेदारी
नेपालले यी लक्ष्यलाई आवधिक तथा वार्षिक योजनामा समाहित गरी मुलुकको आर्थिक, सामाजिक र पर्यावरणीय परिवेशअनुसार कार्यान्वयनमा ल्याउँदै चौधौं योजनादेखि नै यी लक्ष्यलाई आन्तरिकीकरण गरेको छ ।
सामाजिक न्याय, यसका उद्धेश्य र सामाजिक न्याय कायम गर्ने उपायहरू
सारमा,
नेपालको संविधानले अनुसूची ५ देखि ९ सम्म तीन तहका सरकारहरूको एकल तथा साझा अधिकार सूचीको व्यवस्था गरेको छ । जसअनुसार, नेपालको शासन व्यवस्था सहकारिता, समन्वय र सह-अस्तित्वको आधारमा सञ्चालन हुनेछ । सरकारको एकल प्रयासले मात्र दिगो विकास लक्ष्य हासिल गर्न सम्भव छैन । तसर्थ यसका लागि निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज, समुदाय, विकास साझेदारलगायत विकासका सम्पूर्ण सरोकारवालाबीचमा साझेदारी भई सबै संघीय इकाईबीच कार्यजिम्मेवारी अनुसार दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील हुनु जरुरी छ ।
सन्दर्भ सामग्रीहरू
-दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका, राष्ट्रिय योजना आयोग
-विभिन्न अनलाइन तथा छापामा प्रकाशित लेख रचनाहरू
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)
विभिन्न व्यक्तिले यसअघि सुझाउनु भएको समाधान पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया