मानव संसाधन व्यवस्थापन, यसका विशेषता र कार्यहरू

काठमाडाैं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सुमन खड्काले मानव संसाधन व्यवस्थापन, यसका विशेषता र कार्यहरूबारे जानकारी पस्किनुभएकाे छ :-
यसअन्तर्गत मानव संसाधनको प्राप्ति (Acquisition), विकास (Development) , उपयोग (Utilization) र सम्भार (Maintenance) सम्बन्धी कार्यहरू पर्दछन् । संगठनमा आवश्यक कर्मचारीको भर्नापूर्वदेखि अवकासपश्चातसम्मका नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्थापन नै जनशक्ति व्यवस्थापन वा मानव संसाधन व्यवस्थापन हो ।
मानव संसाधन राष्ट्रको सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव स्रोतको सक्षमताबाट मात्र भौतिक, वित्तीय, प्राविधिक तथा सूचना स्रोतको प्रभावकारी रूपमा परिचालन गर्न सकिने भएकाले यो महत्त्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्र हो ।
व्यवस्थापनको मानव सम्पर्क सिद्धान्त वा व्यवहारवादी मान्यताको विकास भएसँगै पुरातन कर्मचारी प्रशासनको मान्यतामा परिवर्तन आई मानव स्रोत व्यवस्थापनको अवधारणाको विकास भएको मानिन्छ ।
समग्रमा,
मानव संसाधन व्यवस्थापन भनेको यस्तो रणनीति, प्रक्रिया तथा क्रियाकलाप हो जो संगठनको आवश्यकतासँग व्यक्तिगत आवश्यकता समन्वय गर्दै संस्थागत उद्देश्यमा पुग्ने गरी तयार पारिएको हुन्छ ।
यो यस्तो एक प्रक्रिया हो जहाँ मानव संसाधनको प्राप्ति, विकास र सदुपयोग गर्ने, योजना बनाउने, संकलन गर्ने, संगठित गर्ने, निर्देशन गर्ने र नियन्त्रण गर्ने कार्य तथा अध्ययन हो ।
जनशक्ति परिचालनलाई सफल बनाउन व्यवस्थापकीय सीप तथा शैलीको प्रयोग गर्ने कार्यको रूपमा पनि मानव संसाधन व्यवस्थापनलाई लिइन्छ ।
यसले प्राप्तिभन्दा अगाडि र अवकाशभन्दा पछाडिको अवस्थालाई समेत समेट्ने भएकाले संगठनमा Pre Recruitment to Post Retirement Management का रूपमा लिइन्छ ।
मानव संसाधन व्यवस्थापनलाई सार्वजनिक प्रशासनको व्यवस्थापकीय आयामको रूपमा पनि लिन सकिन्छ ।
मानवीय ऊर्जा र क्षमताको व्यवस्थापन गर्ने प्रणाली नै मानव संसाधन व्यवस्थापन हो ।
मानव संसाधन व्यवस्थापनका विशेषताहरू
कर्मचारी व्यवस्थापनको विकसित रूप नै मानव संसाधन व्यवस्थापन हो । मुख्यतया यो विषय संगठनमा कार्यरत कर्मचारीहरूसँग सम्बन्धित रहेको छ । मानव संसाधन व्यवस्थापनका प्रमुख उद्देश्यहरूलाई निम्नानुसार उल्लेख गरिएको छ :
कार्यरत मानिसको प्रबन्ध ( संगठनका लागि उपयुक्त जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भारसम्बन्धी कार्य गर्दछ ।
कर्मचारीसम्बन्धी गतिविधिमा केन्द्रित हुन्छ ।
मानव संसाधन व्यवस्थापन सर्वव्याप्त र निरन्तर चलिरहने प्रक्रिया हो ।
यसले कर्मचारीका सक्षमता विकासका क्रियाकलापहरू सञ्चालन गर्दछ ।
मानव संसाधन व्यवस्थापन प्रणाली तथा वातावरणबाट प्रभावित भएको हुन्छ ।
यो एक प्रणाली तथा प्रक्रिया हो ।
यो मानव साधनको उच्चतम एवं कुशलतापूर्वक उपयोगसँग सम्बन्धित एक दृष्टिकोण, चिन्तन, प्रविधि एवं व्यवस्थापन दर्शन हो ।
सामान्य व्यवस्थापनको विशिष्ट शाखाको रूपमा रहेको हुन्छ ।
यसका अलावा,
- चौतर्फी शक्ति
- कार्यउन्मुख
- व्यक्तिउन्मुख
- जनताउन्मुख
- विकासउन्मुख
- एकीकृत पद्धति
- व्यापक कार्य
- सहायक सेवा
- अन्तर विधासम्बन्धी कार्य
- निरन्तर कार्य इत्यादि ।
मानव संसाधन व्यवस्थापनका कार्यहरू
संगठनको प्रकृतिअनुसार मानव संसाधन व्यवस्थापनका कार्यहरूमा विविधता आउन सक्छ । साना, ठूला सबै संगठनको हरेक क्षेत्रलाई असर पार्ने मानव संसाधनसँग सम्बन्धित थुप्रै कार्य र जिम्मेवारीहरू मध्ये सञ्चालनसँग सम्बन्धित प्रमुख कार्यहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ :
मानव संसाधन दर्शनलाई संगठनमा लागू गर्न उपयुक्त बनाई सोको उच्च व्यवस्थापनबाट स्वीकृति साथै निश्चितता प्राप्त गर्ने ।
संगठनको उद्देश्य प्राप्तिका लागि आवश्यक जनशक्ति योजना तयार पारी सोको प्रभावकारी कार्यान्वयन गर्ने ।
प्रत्येक कामका लागि आवश्यक कार्य विश्लेषण गर्ने ।
कामको आवश्यकता अनुसार कर्मचारी भर्ना तथा छनोट गर्ने ।
मानव संसाधन विकास कार्यक्रमहरू तर्जुमा, विकास, लागू, निर्देशन, मूल्यांकन गर्ने ।
आफ्नो वृति विकास योजना तर्जुमा गर्नमा कामदारलाई सघाउने ।
संगठनात्मक विकास कार्यक्रम तयार पारी कार्यन्वयन गर्ने ।
व्यवस्थापन र कामदारहरू दुवैलाई स्वीकार्य पारिश्रमिक तथा सुविधासम्बन्धी योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।
अनुसन्धान तथा गुनासो समाधान प्रणाली तयार गर्ने ।
हरेक कामदारहरूको स्वास्थ्य र सुरक्षासम्बन्धी योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।
सुमधुर औद्योगिक सम्बन्ध, संगठनात्मक वातावरण, सामुहिक भावना तथा प्रभावकारी सञ्चार प्रणाली विकसित गर्ने ।
तथ्यांक तथा सूचनाहरू संकलन, रेकर्ड तथा उपलब्ध गराउने उपयुक्त व्यवस्था मिलाउने इत्यादि ।
यसका अलावा समग्रमा मानव संसाधनको प्राप्ति, विकास, उपयोग र सम्भारका प्रत्येक चरणलाई पनि मानव संसाधन व्यवस्थापनका कार्यका रूपमा लिने गरिन्छ ।
अन्त्यमा,
मानव संसाधन व्यवस्थापनले संगठनको लक्ष्य हासिल गर्नका लागि मानव संसाधनको समुचित प्रबन्ध गर्नेबारे सम्पूर्ण प्रक्रियालाई जनाउँदछ । संगठनको सफलता कर्मचारीको सक्षमतामा भर पर्ने भएकाले व्यवस्थापकले उपयुक्त र प्रभावकारी रूपमा भर्ना, छनोट र सामाजिकीकरणका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको देखिन्छ । राम्रो कार्य वातावरण, वृति विकास, आकर्षण सुविधा, तलब, ज्याला सुविधा, मानसम्मानले कर्मचारीको उचित सम्भार गर्न सकिन्छ र मानव संसाधन व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ ।
सन्दर्भ सामग्रीहरू
– मानव संसाधन व्यवस्थापन, डा. विहारी विनोद पोखरेल, प्रकाश श्रेष्ठ र रमेश दत्त जोशी
– नेपालमा आधारभूत मानव संसाधन व्यवस्थापन, डा. गोविन्द प्रसाद कुसुम, दुर्गेश कुमार श्रेष्ठ, लक्ष्मणराज कँडेल, विष्णु भण्डारी, दीपकचन्द्र घिमिरे, दीपकप्रसाद काफ्ले, सन्तोष गौतम
– मानव संसाधन व्यवस्थापन, हृदयवीर सिंह
– विभिन्न अनलाइन मिडिया तथा छापा माध्यममा प्रकाशित लेख रचनाहरू ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)
लोक सेवासँग सम्बन्धित यसअघि नेपालवाचमा प्रकाशित सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
It helps to more study for us.thanks sir
मलाई धेरै राम्रो लाग्यो अझै यस सम्बन्धी अन्य नोटहरू आवश्यक छ।
धेरै ज्ञानवर्दक छ सर धन्यवाद