NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

व्यवस्थापन परीक्षण, यसका उद्देश्य, विषयक्षेत्र तथा विधिहरू

काठमाडौं । लोक सेवामा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । राज्यको स्थायी सरकार कर्मचारी भएकाले नयाँ पुस्ता यसमा आउनु महत्त्वपूर्ण छ ।

स्थायी सेवामा प्रवेश गर्न भने विभिन्न खुड्किला पार गर्नुपर्ने हुन्छ । पहिलो हो, लोक सेवा परीक्षा ।

यो परीक्षाका सबै चरण पार गरेपछि मात्रै सेवा प्रवेश गर्न पाइन्छ । तर परीक्षा तयारी दौरान परीक्षार्थीमा द्विविधा उत्तिकै सिर्जना हुन्छन् । जसले अपेक्षित सफलता हात पार्नबाट रोकिरहेको हुन्छ ।

यो परीक्षामा परीक्षार्थीले भोग्नुपर्ने यस्तै अन्योलतालाई मध्यनजर गरेर नेपालवाचले प्रशासक, पूर्वप्रशासक र विभिन्न विषयविज्ञसँगको सहकार्यमा त्यसको समाधान पहिल्याउने प्रयास थालेको छ । आजको यो श्रृंखलामा  व्यवस्थापन परीक्षण, यसका उद्देश्य, विषयक्षेत्र तथा विधिहरूबारे सुमन खड्काले  चिरफार गर्नुभएकाे छ :-

०००

लोक सेवा आयोगको कार्यक्षेत्रभित्रका विषयबाहेक सार्वजनिक निकायले प्रचलित नीति, कानून तथा प्रशासकीय नियम र कार्यविधि पालना गरे/नगरेको, वार्षिक बजेट, नीति तथा कार्यक्रमबमोजिम कार्य गरे/नगरेको, कार्यसम्पादन सम्झौताको पालना गरे/नगरेको एवं कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन, आर्थिक प्रशासन, जिन्सी तथा अभिलेख व्यवस्थापनलगायतका सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित समग्र विषयको निरीक्षण, सुपरीवेक्षण, अनुगमन, मूल्याङ्कन, जाँचबुझ र परीक्षण गर्ने समेतको कार्यलाई व्यवस्थापन परीक्षण भनिन्छ ।

यसले संगठनको उद्देश्य, योजना, नीति, कार्यनीति र सोसँग सम्बन्धित क्रियाकलापहरूको निरन्तर निदान र विश्लेषण गर्ने, अनुगमन गर्न नसकिने कमजोरी हटाउने र व्यवस्थापनले ध्यान पुर्‍याउन नसकेका क्षेत्रहरूको सुधारका लागि सुझाव पेस गर्ने समेतको कार्य गर्दछ ।

मध्यमकालीन खर्च संरचना र यसको उद्देश्य 

सन् १९४४ मा टी.जी. रोजले “द म्यानेजमेन्ट अडिट” पुस्तकमार्फत व्यवस्थापन परीक्षण अवधारणा सुरु गरे भने अमेरिकी प्रशासनविद् ज्याकस्न माटिन्डेलले सन् १९६२ मा “द साइन्टिफिक एप्राइजल म्यानेजमेन्ट” मार्फत थप व्यापक र विस्तारित गराए ।

व्यवस्थापन परीक्षणले संगठनको उद्देश्य, योजना, नीति, कार्यनीति र सोसँग सम्बन्धित क्रियाकलापहरूको निरन्तर निदान र विश्लेषण मात्र गर्दैन, अनुगमन गर्न नसकिने कमजोरी हटाउने तथा व्यवस्थापनले ध्यान पुर्‍याउन नसकेका क्षेत्रहरूको सुधारका लागि सुझाव पेस गर्ने समेतको कार्य गर्दछ

नेपालको सार्वजनिक प्रशासनमा वि.सं. २०५५ सालबाट व्यवस्थापन परीक्षणको सुरुवात भएको मानिन्छ । व्यवस्थापन परीक्षणलाई निजामती सेवा ऐन, २०४९ काे दफा ७२ मार्फत कानूनी आधार प्रदान गरिएको छ ।

व्यवस्थापन परीक्षणका फाइदाहरू 

  • संगठनमा काम गर्ने जनशक्तिको कर्तव्य र उत्तरदायित्वको पालना गराउने,
  • जवाफदेहिता सिर्जना गराउने,
  • व्यवस्थापनको कार्यदक्षता र प्रभावकारिता जाँच्ने
  • कार्यप्रक्रियाको सुपरीवेक्षण गर्ने,
  • अनुगमन र मूल्याकंनको माध्यमबाट संगठनलाई गतिशील र प्रशासनलाई जवाफदेही बनाउनेसम्मका कार्यहरू गर्दछ ।

शक्ति पृथकीकरणका आयाम र कर्मचारी उत्प्रेरणाबारे सहसचिव डा. टोकराज पाण्डेको जवाफ

व्यवस्थापन परीक्षणका उद्देश्य :

सङ्गठनको सिङ्गो व्यवस्थापकीय कार्यको सुपरीवेक्षण, अनुगमन र मूल्याङ्कन नै व्यवस्थापन परीक्षण हो । व्यवस्थापन परीक्षणको मूल ध्येय प्रशासकीय सङ्गठनलाई कार्यसम्पादन र सेवाप्रवाहका दृष्टिले सक्षम तुल्याउनु हो । यसका अलावा निम्नलिखित उद्धेश्यहरू रहेका छन् :

  • नेपाल सरकारका विभिन्न निकायहरूको प्रशासकीय व्यवस्थापनसम्बन्धी कार्यमा एकरूपता कायम गर्न सहयोग पुर्‍याउने ।
  • नेपाल सरकारका निकायहरूले प्रचलित कानून तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालना गरे/नगरेको सम्बन्धमा परीक्षण गरी देखिएका कमी-कमजोरी, त्रुटि र अनियमितताहरूलाई उजागर गर्ने र सुधारका लागि सुझावहरू प्रस्तुत गर्ने ।
  • विद्यमान सक्षमता तथा प्रभावकारिताको विश्लेषण गर्ने ।
  • संगठनका सबल र दुर्बल पक्षहरूको पहिचान गर्ने एवं सबल पक्षहरूको प्रवर्द्धन र दुर्बल पक्षहरू हटाउन आवश्यक उपायहरू समेत सिफारिस गर्ने ।
  • उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी संगठनमा गतिशीलता र प्रभावकारीता वृद्धि गर्न सहयोग गर्ने ।
  • कार्यसम्पादनमा सुधार ल्याउने ।
  • व्यवस्थापकीय कार्य क्षमताको जाँच गर्ने ।
  • व्यवस्थापनमा जवाफदेहिता अभिवृद्धि गर्न सहयोग गर्ने ।
  • संगठनमा प्रभावकारीता, मितव्ययीता, कुशलता बढाउने ।
  • व्यवस्थापकीय जवाफदेहिता कायम गरी जनतालाई सुशासनको पूर्ण र यथार्थ अनुभूति दिलाउने इत्यादि ।

व्यवस्थापन परीक्षणको विषयक्षेत्र तथा सूचक  :

व्यवस्थापन परीक्षणका विषयक्षेत्र निम्नबमोजिम रहेका छन् :

१. नीतिगत तथा कानूनी व्यवस्था
२. कर्मचारी प्रशासन तथा व्यवस्थापन
३. कार्यालय व्यवस्थापन
४. अभिलेख व्यवस्थापन
५. जिन्सी व्यवस्थापन
६. वार्षिक कार्यक्रम
७. आर्थिक प्रशासन
८. सेवा प्रवाह
८. सूचना प्रवाह तथा सूचना प्रविधि
९. गुनासो व्यवस्थापन
१०. क्षमता विकास
११. आचरण र अनुशासन
१२. आवश्यकता अनुसारका अन्य विषयहरु इत्यादि ।

व्यवस्थापन परीक्षणको विधिहरू  :

व्यवस्थापन परीक्षणका सन्दर्भमा निम्नलिखित विधिहरु अवलम्बन गर्ने गरिन्छ :

१. स्थलगत अवलोकन
२. छलफल
३. अन्तर्वार्ता
४. प्रश्नावली
५. सन्दर्भ सामग्री अध्ययन
६. आवश्यकता अनुसारका अन्य विधिहरु इत्यादि ।

अन्त्यमा,

व्यवस्थापन परीक्षणलाई नियन्त्रणात्मक र निर्देशनात्मक रूपमा मात्र प्रयोग नगरी प्रवर्द्धनात्मक बनाउने, पर्याप्त समयानुकूल प्रभावकारी सुधारका उपायहरू अपनाई व्यवस्थापनका क्षेत्रमा आएका नवीन सोच अनुशरण गर्नु आजको आवश्यकता हाे । कुशल र प्रभावकारी व्यवस्थापकीय विधिहरूको माध्यमबाट सांगठनिक क्षमता निर्माण, ग्राहक सन्तुष्टका साथै पारदर्शी र उत्तरदायी सरकार तथा सुशासन कायम राख्नका लागि पनि व्यवस्थापन परीक्षणको महत्त्वपूर्ण भूमिका रहन्छ ।

सन्दर्भ सामग्रीहरू

  • व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ 
  • व्यवस्थापन परीक्षण प्रतिवेदन, २०७०
  • व्यवस्थापन परीक्षण कार्यविधि, २०७७ 
  • विभिन्न अनलाइन तथा छापा माध्यममा प्रकाशित लेखरचनाहरू ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन्  कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना  [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर  उहाँहरूले पहिल्याएकाे समाधान  यहाँहरूसमक्ष पस्किने छौं ।)

पहिलोपटक लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा

लोक सेवा परीक्षार्थीका सात सवाल, सहसचिव दाहालको समाधान

लोक सेवाका दुई प्रश्न, सहसचिव पाण्डेकाे समाधान

लोक सेवा परीक्षार्थीका सात सवाल, सहसचिव दाहालको समाधान

लोक सेवा टिप्स : स्तरीय उत्तर कसरी लेख्ने ?