NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओलीको घोषणाअनुसार ४ मंसिरको चुनावमा कुन दलले कति सिट जित्दैछन् ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै ‘मिसन–१५०’ चुनावी अभियान शुरू गरेका छन् । कात्तिक १८ गते सुदूरपश्चिमको दार्चुलाबाट शुरू भएको अभियान पूर्वमा पुगेर टुंगिनेछ । मंसिर १ गतेसम्म जारी रहने अभियानमा ओलीले ४० जिल्लाको मुख्य शहरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दार्चुलाको चुनावी सभामा सत्ता गठबन्धनविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका ओलीले एमाले नेतृत्वले महाकाली क्षेत्रका गुमेको भूमि फिर्ता ल्याउने दाबी गरे ।

‘नेपालको गुमेको भूमि महाकाली, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा हामीले जारी गर्यौं । मंसिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ’, सभामा ओलीले भने, ‘एमालेले १५० सिट जित्नै पर्छ । एमालेले हार्यो भने देश समाप्त हुनेछ । देशद्रोही गठबन्धनले जित्नु हुँदैन ।’

प्रतिनिधिसभा निर्वाचनमा एमालेले १५० सिट जित्ने दाबी गर्दै आएका ओलीको भविष्यवाणीलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटीप्पणी भइरहेको छ । एमालेकै विद्रोही पार्टी एकीकृत समाजवादीका नेताले ओलीको भविष्यवाणी हावादारी भएको टिप्पणी गरेका छन् ।

‘ओलीको भविष्यवाणीको कुनै तुक छैन । उनले जे दाबी गरेका छन्, त्यसको ठीक उल्टो परिणाम आउनेछ’, एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘ओली जस्तो उट्पट्याङ व्यक्ति कोही छैन । आगामी निर्वाचनमा एमालेको शर्मनाक हार हुने देखिन्छ ।’
राष्ट्रियताको मुद्दालाई ओलीले आगामी निर्वाचनको मुख्य एजेण्डा बनाएका छन् । बहुसंख्यक हिन्दू धर्मलाई उनले निर्वाचन जित्ने प्रमुख हतियार बनाएका छन् । मधेश र पहाडी क्षेत्रमा केही सिट सुरक्षित गर्नका लागि उपेन्द्र यादव नेतृत्वको जसपा, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा लगायतसँग चुनावी तालमेल गरेका छन् ।

एमालेभित्रकै माओवादी पृष्ठभूमिका नेताका अनुहार देखाएर माओवादी जनमतलाई आकर्षित गर्ने रणनीति बनाएका छन् । यीबाहेक ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार र गठबन्धन सरकारको भण्डाफोर अभियान नै एमालेले चुनाव जित्ने अर्को आधार बनाएको देखिन्छ ।

तर ओलीका चुनाव जित्ने यी आधारको फण्डा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनदेखि नै असफल देखिएको छ । स्थानीय तह निर्वाचनअघि ओलीले एमालेले ६०–६५ प्रतिशत स्थान जित्ने दाबी गर्दै आएका थिए ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम चुनावी परिणाम अनुसार कांग्रेस ३२९ अर्थात् ४३.६९ प्रतिशत स्थानमा निर्वाचन जित्यो । एमाले२०६ पालिका प्रमुख/अध्यक्ष जित्यो । समग्रमा एमाले जम्मा २७.३५ प्रतिशत स्थानमा विजयी भएको देखिन्छ । माओवादी केन्द्र १२२ अर्थात् १६.२० प्रतिशत स्थानमा विजयी भएको छ । अन्य दल ९६ अर्थात् १२.७४ प्रतिशत स्थानमा विजयी भएको छ । स्थानीय तह निर्वाचनमा एमालेले काठमाडौं महानगरपालिकासहित ६ महानगरपालिका, केही महत्वपूर्ण उपमहानगरपालिका र नगरपालिकामा पराजित भयो ।

ओलीले केही दिनअघि एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा आफ्नै पूर्वनेता माधव नेपालको नामै लिएर एकीकृत समाजवादी आगामी निर्वाचनमा राष्ट्रिय दल नबन्ने दाबी गरे ।

‘माधव नेपालको एउटा पार्टी छ । त्यसले आगामी निर्वाचनमा राष्ट्रिय दल बन्दैन । यो फुटेज रेकर्ड गरेर सुरक्षित राख्नोस् । कुनै हालतमा राष्ट्रिय दल बन्दैन ।’

ओलीको भनाइलाई कटाक्ष गर्दै एकीकृत समाजवादीका उपमहासविच ज्वालाले ओलीको अभिव्यक्ति पराजित मानसिकताको उपज भएको टीप्पणी गरे ।

‘ओलीको अभिव्यक्ति पराजित मानसिकताको उपज हो । आगामी निर्वाचनपछि संसदमा हाम्रो उपस्थिति सशक्त र देखिने गरी उपस्थिति हुनेछ’, उनले भने, ‘निर्वाचनपछि एमाले निकै सानो आकारमा खुम्चिनेछ । सम्भावित हारको त्रासले ओलीमा छटपटी शुरू भएको छ । चुनावी परिणाम उल्टो आउनेछ ।’

माधवको पार्टी राष्ट्रिय दल नबन्ने भविष्यणाणी गरेका ओलीले एमालेले १५० बढी सिट जित्ने दाबी गरे । एमालेबाहेक यो देशमा काम गर्न सक्ने पार्टी जनताले अर्को नदेखेकाले आगामी निर्वाचनमा आफूले बहुमत ल्याउने उनको दाबी थियो ।

‘हामी मिसन १५० मा छौं । हामीलाई १५० सिट चाहिएको छ’, जवाफमा ओलीले भने, ‘मलाई विश्वास छ, नेपाली जनताले १५० बढी सिट दिनेछन् । हुन त हामीलाई बहुमतका लागि १३८ भएपुग्छ । तर १२ सिट थपिँदा के फरक पर्छर ?’

सत्ता नेतृत्व दल कांग्रेसले अघिल्लो निर्वाचनको भन्दा प्रत्यक्षमा दोब्बर ल्याउने दाबी गरे । ओलीले पहिलो पार्टी एमाले बन्ने र कांग्रेस निकै पछाडि रहेर दोस्रो दल बन्नेछ ।

‘कांग्रेसले यसपटक उधुम प्रगति गर्छ । पहिलेको भन्दा दोब्बर सिट ल्याउँछ’, ओलीले भने, ‘एमालेको भन्दा निकै कम संख्याकासाथ दोस्रो स्थानमा रहनेछ ।’

त्यस्तै ओलीले अघिल्लो निर्वाचनमा एमालेको साथ पाएर माओवादी केन्द्रले ३७ सिट जिते पनि योपटक २३ सिटमा खुम्चिने दाबी गरे ।
‘माओवादी केन्द्र योपटक तेस्रो दल भएर बिचौलिया पार्टी बन्छ’, ओलीले भने, ‘योपटक ४२/४३ सिट पाएको छ क्यारे । आधा पनि जित्न सक्ने हैसियत छैन । उसले २३ सिट जति जितेर संसदमा बिचौलिया पार्टी बन्छ ।’

ओलीले एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न नसक्ने दाबी गरिरहँदा एमालेसँग सहकार्य गरको दल जसपा र राप्रपाले राष्ट्रिय दलको मान्यता पाउने दाबी गरे ।

‘उपेन्द्रको पार्टी जसपाले राष्ट्रिय मान्यता पाउनेछ । एमालेसँग सहकार्य गरेकाले जसपा राष्ट्रिय दल बन्छ’, उनले भने, ‘त्यस्तै राप्रपा एमालेको संगतका कारण राष्ट्रिय दल बन्नेछ ।’

दुईपटक देशको प्रधानमन्त्री भइसकेका र एक जिम्मेवार दलका अध्यक्षले समकक्षी दल तथा तीनका नेताहरूका बारेमा गरेको टिकाटीप्पणीले सामाजिक सञ्चालमा ओलीको निकै आलोचना भएको छ । निर्वाचनको सम्मुखमा दलहरूको हैसियतबारे गरेको भविष्यवाणी मिल्छ वा स्थानीय तह निर्वाचनको जस्तै हावादारी सावित हुनेछ, त्यसका लागि मंसिर ४ सम्म कुर्नुपर्नेछ ।