NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

सुदूरपश्चिम । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए ।

उनका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा  ४ दशमलव १  र  आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।  उनले भने, ‘लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन् ।’

भूकम्पछि पराकम्पनहरु आइरहेकाले  सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ ।

भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ ।  उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण बैतडीमा पनि केही घरहरुमा क्षति पुगेको छ । भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिए ।

यस्तै भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरुमा चिरा परेका स्थानीय महेश भट्टले बताए । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । जिल्लाका सबै प्रहरी युनिटहरुलाई बुझ्दा हालसम्म क्षतिबारे कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले  भने, ‘प्रहरी युनिटहरुलाई बुझ्दा क्षतिबारे कुनै जानकारी आएको छैन । स्थानीय जनप्रतिनिधिहरुलाई बुझ्दैछौँ ।’