पोस्ट् डेंगुका संक्रमण बढ्दै, के हो यो ?
काठमाडौं । सीतापाइला बस्दै आएका ४६ वर्षीय सुबिन महर्जन लामो समयदेखि निद्रा नलाग्ने, खानामा रुचि नहुने, थकान र एन्जाइटीका लक्षणहरू देखिएपछि बिहीबार वीर अस्पताल आएका थिए । उनमा यो समस्या डेंगु संक्रमण भएयता देखिएको हो ।
असोज पहिलो साता डेंगु संक्रमणका कारण ६ दिन अस्पताल भर्ना भएका महर्जनलाई संक्रमण निको भएको डेढ महिनासम्म पनि थकान, कमजोरीपन र अन्य लक्षण देखिइरहेको उनी बताउँछन् । डेंगु संक्रमण भइसक्दा पनि त्यसको असर नहटेकाले उनी नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् । उनी भन्छन्, ‘राति शरीर तातेर भुंग्रोजस्तो हुन्छ, तर ज्वरो नाप्दा देखिँदैन । कमजोरीले गर्दा अहिलेसम्म नियमित काममा फर्किन सकेको छैन । डेंगु नेगेटिभ आएपछि पनि तीनपटक अस्पताल आइसकेँ ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक डेंगु संक्रमणदर घट्दै गए पनि अस्पतालमा पोस्ट डेंगु सिन्ड्रोमका समस्या लिएर आउनेहरूको चाप घट्न सकेको छैन । वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. एसपी ढकाल भन्छन्, ‘अहिले ओपिडीमा आउनेको चाप बढेको छ । जसमध्ये अधिकांश बिरामी कमजोरीपन, थकान, ज्वरो, खाना नरुच्ने समस्या लिएर आउने गरेका छन् ।’
वीरमा मात्रै नभई शुक्रराज ट्रपिकल, टिचिङ, कान्ति, भक्तपुर, सिभिल, पाटन अस्पताललगायतका ओपिडीमा फलोअपमा आउने बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया