NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

गच्छदारलाई यसपटक छैन गठबन्धनको भर, एमालेकी चौधरीको डर

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्वउप्रधानमन्त्री तथा कांग्रेसका नेता विजयकुमार गच्छदार सातौंपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार भगवती चौधरीलाई ३२१ को झिनो मतान्तरले पराजित गरेका थिए । ललिता निवास काण्डमा भ्रष्टारचा गरेको आरोप र संशयकाबीच गच्छदारलाई गठबन्धन सुनसरी–३ बाट उम्मेदवार बनाएको छ । राजनीतिक भविष्य नै जोखिममा रहने अवस्थाकाबीच पनि देउवाले उनलाई प्रत्यक्षको टिकट दिएका हुन् ।

प्रभावशाली र अघिल्लोपटक जितेका डा. मीनेन्द्र रिजालले टिकट नपाउँदा गच्छदारले यसपटक पनि सहजै टिकट पाएका हुन् । यसैले पनि विवादमा फसेका गच्छदारलाई टिकट दिएकोमा नै कांग्रेसभित्र तीव्र असन्तुष्टि छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको ११३ रोपनी जग्गा बिक्री व्यक्तिको नाममा ल्याएको प्रकरणमा २०७६ माघमा उनीमाथि पनि अख्तियारले ९ करोड ६९ लाख विगो माग दाबीसहित विशेष आदलतमा मुद्दा दायर गरेको थियो । मुद्दा परेलगत्तै उनको सांसद पद निलम्बनमा भएको थियो ।

२०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुर्याउन भौतिक पूर्वाधार मन्त्री हुँदा उनले पनि सहयोग गरेको आरोप छ ।

त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए । उनले नै बालुवाटारमा प्रधानमन्त्री निवासभित्रको जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पु¥याएका थिए ।

आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि फरार रहेका उनले गतवर्ष शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि अदालतमा आत्मसमर्पण गरेका थिए । उनीविरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । निलम्बित अवस्थामै पद गुमाएका उनी पुनः विजयी भएर संसद् प्रवेश गर्ने दाउमा छन् ।

२०१० साल माघ १९ गते सुनसरी–८ पचरामा जन्मेका गच्छदार नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् । नेपालको संसदीय इतिहासमा २०४८ देखि लगातार निर्वाचन जित्नेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छदार मात्र हुन् । इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गरेका थिए ।

२०४८ मा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनी ३८ वर्ष भएका थिए । २०४८ मा गिरिजा नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बन्न सफल भएका उनी त्यसयता १२ पटक मन्त्री र चारपटक उप्रधानमन्त्री भइसकेका छन् । उनी धेरैपटक मन्त्री बन्नेमा कीर्तिमान राखेका नेपाली नेतासमेत हुन् ।

उमेरले ६८ वर्ष पार गरेका उनी एमालेका पुरानै प्रतिद्वन्द्वी चौधरीसँग तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गच्छदारले चौधरीलाई ३६२ को मतान्तरले पराजित गरेका थिए ।

कांग्रेसका प्रभावशाली नेता रहेका गच्छदार २०६२÷०६३ को जनआन्दोलनपछि कांग्रेस परित्याग गरी मधेशी जनअधिकार फोरम प्रवेश गरेका थिए । आफू पक्षका केही नेताहरूलाई तत्कालीन सभापति गिरिजाले टिकट नदिएको भन्दै उनले कांग्रेस परित्याग गरेका हुन् । २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासदमा निर्वाचित भएका थिए ।

अध्यक्ष उपेन्द्र यादवसँग मनमुटाव भएपछि २०७० मा पार्टी विभाजन गरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरी गच्छदार संस्थापक अध्यक्ष भए । २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा उनी मूल घर कांग्रेस फर्किएका थिए ।

२०७४ को निर्वाचनमा सुनसरी–३ बाट ३८ हजार ९७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भगवती चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षले पाएको मतको आधारमा सुनसरी–३ एमाले ३५०५३ मतसहित पहिलो दल भएको छ । कांग्रेस ३३५७१ मतसहित दोस्रो स्थानमा रहेको छ । यसैगरी जसपाले ५५१६, माओवादीले ३८००, राप्रपाले ३३३१ र नेकपा एसले ६२६ मत पाएको छ । स्थानीय तहमा प्राप्त भएको मतपरिणमको आधारमा गठबन्धनको जम्मा मत ३७९९७ रहेको छ । एमाले–जसपाको मत ४०५६९ मत रहेको छ । २५७२ मतले गठबन्धनभन्दा एमाले अगाडि देखिन्छ ।

एकातिर एमाले–जसपाबीच बलियो गठबन्धन र अर्कोतर्फ भ्रष्टाचारजस्तो जघन्य अपराधको आरोपमा मुद्दा खेपेका गच्छदारलाई सातौंपटक संसद प्रवेश गर्न निकै कठिन देखिन्छ । यी सबै चुनौती चिरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपनि अदालतबाट सफाइ नपाएसम्म गच्छादारले सथप लिन पाउने छैनन् ।

२०७४ र २०७४ मा समेत साँघुरो मतान्तरले जितेका गच्छदारलाई बालुवाटार प्रकरणले यसपटक धक्का दिन सक्ने देखिएको छ । किनकी कांग्रेसमासमेत उनको छवि त्यति राम्रो छैन ।