NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नुवाकोटमा आमाछोरीको हत्या, एक पक्राउ

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५, भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको छ ।

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

घटनामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको पाइएको छ । साथै घटनास्थलमा उनले बोकेको घरेलु हतियार र चप्पल पनि भेटिएको छ ।

घटनालगत्तै फरार उनलाई काठामाडौँतर्फ गइरहेका बेला मंगलबार बिहान पक्राउ गरिएको छ ।