NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते
ई–स्पोर्ट्स

पब्जीको विश्वकपमा कस्तो खेल्दैछ नेपाल ?

राजनीतिको नशा चढेकालाई चुनावको रन्को छ । फुटबलका पारखीचाहिँ भोलिदेखि नै कतारमा सुरु हुने विश्वकपको व्यग्र प्रतीक्षामा छन् । राजनीति र फुटबल प्रेमीहरूको कुम्भ मेला सुरु हुन गइरहेको बेला पब्जीको विश्वकप खासै चर्चामा छैन । अझै नेपाल पनि त्यसमा सहभागी भएर आफ्नो खेल कौशल देखाइरहेको निकै कमलाई जानकारी छ ।

पछिल्लो केही समयमा विश्व जगतमा अत्यन्तै लोकप्रियता बटुलेको खेल हो पब्जी (PUBG) । १०० जना खेलाडी हुने यस ब्याटल रोयल खेलले के वृद्ध, के बालक, सबैको ध्यान आफूतिर आकर्षित गराइरहेको छ । यसको लोकप्रियता यसरी अकासिनुको मुख्य कारण भने ई–स्पोर्ट्स हो ।

krafton ले बनाएको यस खेलको गुगल प्लेस्टोर र एपस्टोर गरेर झण्डै १ अर्ब डाउनलोड पुगिसकेको छ । । सन् २०१७ अगस्टमा भएको विश्वकै पहिलो पब्जी टुर्नामेन्ट, जसको धनराशी ३ लाख ५० हजार अमेरिकी डलर थियो । त्यो फगत प्रतिस्पर्धामा मात्रै सीमित भएन, लाखौं मानिसलाई पब्जीमा पनि भविष्य छ भनेर सम्भावनाको क्षितिज उघारिदिने माध्यम पनि बन्यो । झण्डै ३२ लाख सक्रिय प्रयोगकर्ता रहेको पब्जीमा धेरैले आफ्नो भविष्य देख्न थालिसकेका छन् । भोक,प्यास, निन्द्रा केही नभनी यसमा करिअर बनाउन मान्छेहरू लागि परेका छन् । छिमेकी मुलुक भारतमा पब्जी ब्यान्ड भएपछि त नेपालले थप अवसर र मौका पाएको छ ।

नेपाल तेस्रो पटक पब्जीको विश्वकप मानिने पब्जी मोबाइल ग्लोबल च्याम्पिनसिप (पिएमजिसी) मा  सहभागी भइरहेको छ । जारी खेलमा नेपालले अब्बल प्रदर्शन गर्न नसके पनि खराब भने खेलेको छैन

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) जुन पब्जीको अहिलेसम्म भएको सबैभन्दा ठूलो टुर्नामेन्ट हो । यसको पहिलो सिजनमा विजेता थिए, नोभा ई–स्पोर्टस (nova eSports) थिए । यसको प्राइज पुल झण्डै १.५३ मिलियन अमेरिकन डलर थियो । जसमा नेपाली टिम डिआरएस गेमिङ (DRS gaming) सहभागी थियो तर ऊ फाइनलसम्मको यात्रा तय गर्न सफल भने भएन ।

गत वर्षजस्तै यस वर्ष पनि पब्जीको पिएमजीसी आयोजना भएको छ । जसको लिग स्टेज खेलहरू मलेसियामा चलिरहेको छ । फाइनल भने इन्डोनेसियामा हुनेछ । यसका विजेताले ४ मिलियन अमेरिकन डलर हातपार्ने छन् । यसपालि नेपालको तर्फबाट तीन वटा टिमले प्रतिनिधित्व गर्दैछन् । जसमा स्काई लाइट्ज गेमिङ (skylightz gaming), डिआरएस गेमिङ र ट्रेन २ किल छनोट भइसकेका छन् । दुई टिम यसअघि नै मलेसिया पुगिसकेका छन् भने ट्रेन २ किल शनिबार त्यसतर्फ जाँदैछ ।

यसपालिको पिएमजीसी गत वर्षभन्दा अलि पृथक छ । ४८ टिम सहभागी रहेकोमा त्यसलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा १६ टिम रहेका छन् । पहिलो समूहले लगातार ४ दिन खेल्ने छ, जसमा उनीहरूले २४ खेल खेल्ने मौका पाउने छन् भने २४ खेल पछि समूहका ३ शीर्ष टिमहरु ग्रण्डफिनलका लागि अघि बढ्नेछन् । यही नियम दोस्रो र तेस्रो समूहमा पनि लागू हुनेछ । फाइनलमा लिग स्टेजबाट १३ टिम जाने भनिएको थियो । समूहको ३ शीर्ष टिम अघि लैजाँदा ९ टिम मात्र हुने भएपछि अझैं ४ स्लट बाँकी छन् । त्यसका लागि आफ्नो समूहबाट ३४ देखि ११ सम्म स्थान बनाएका टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । फेरि अर्को नयाँ ग्रुप बनाइन्छ, जसबाट १५ टिम बन्नेछन् । जसलाई हामी समूह ४ मानौं । एउटाचाहिँ अघि हामीले माथि भनेको ३ वटा समूहको बेस्ट पफर्मर भनेर ९ नम्बरमा रहेको ३ टै समूहमध्येबाट अङ्कको हिसाबले सबैभन्दा राम्रो टिमलाई फेरि यो नयाँ बनेको समूह ४ मा ल्याइनेछ । त्यसैले अब समूह ४ मा पनि १६ टिम हुन जान्छन् । यो समूहलाई प्ले–इनको नाम दिइएको छ । यो पनि पहिलेजस्तै फर्म्याटमा खेलिन्छ । १६ टिमबीच प्रतिस्पर्धा गराएर फाइनलमा त्यसका शीर्ष ४ टिमलाई लगिनेछ । अघिल्लो टप ३ गरेर ९ टिम र यसबाट ४ टिम गरी कुल १३ टिम तयार हुनेछ । यसरी फाइनलमामा १३ टिम लिगबाट जानेछन् भने ३ टिमलाई स्पेसल इन्भाइट गरिने छ । जसमा एउटा आयोजक र अर्को चीनबाट आउने छ । एक टिमबारे भने निर्णय हुन बाँकी छ ।

पिएमजिसीको जारी लिग स्टेजका खेलहरू मलेसियामा सुरु भइसकेको छ । नेपाली टिमहरू पनि मलेसियामा पुगिसकेका छन् । लिग स्टेजअन्तर्गत समूह १ को खेलहरु सकिसकेका छन् । जसमा बुरिराम युनाइटेड ई–स्पोर्टस् (Buriram united esports ) ले समूहमा शीर्ष स्थान सुरक्षित गरी फाइनलको यात्रा तय गरेको छ । समूह १ मै नेपालको डिआरएस गेमिङ पनि थियो । यसपटक डिआरएसले लिग स्टेजको छैठौं स्थान हासिल गर्दै सरभाइबर मा पुगेको छ । सिधै ग्रान्डफाइनलमा जाने अवसर नपाए पनि डीआरएससँग प्ले–इन बाट फाइनलमा जाने एउटा मौका छ । साथै डिआरएस यसपालि नेपाल टिमहरूले अन्तर्राष्ट्रियस्तरमा हात पारेको सबैभन्दा राम्रो -यांक हात पारेको छ । यो नेपालको ई–स्पोर्टस जगतको आफैंमा एउटा कीर्तिमान हो ।

त्यसैगरी, समूह २ मा अर्को नेपाली टिम स्काई लाट्ज गेमिङ रहेको छ । जसको लिग स्टेज खेलहरू जारी छन् । आज (शनिबार) समूह २ को तेस्रो दिन हो, जसमा यो सामग्री तयार पार्दासम्म यो समूह १० औं स्थानमा छ ।

सिधै फाइनलमा जान यो टिमलाई अब कठिन छ तर प्ले–इनमा गएर फाइनल पुग्ने अर्को वैकल्पिक मार्ग भने खुला नै छ ।

अर्को नेपाली टिम ट्रेन २ किल (टि २ के) समूह ३ मा छ । उसले भने अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन । यसले समूह २ का खेलहरू सकिएपछि प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा पब्जीको ई–स्पोर्ट्सको माहोल तात्दै छ । विभन्न अनलाइन टुर्नामेन्टहरु नेपालमा भइसके पनि अहिलेसम्म यसको अफिसियल ल्यान टुर्नामेन्ट भने भएको छैन । तर यसपालि पब्जी ले नेपालको पिएमएनसी लिएर आएको छ । जसको कुल प्राइज पुल ३० हजार अमेरिकी डलर छ । योभन्दा सुखद् कुरा यो बिल इभेन्ट हो । यसको सफलताले आगामी दिनहरूमा थप टुर्नामेन्टहरु नेपालमा भित्रिने र नेपाल मा ई–स्पोर्टस अझै फस्टाउने देखिन्छ ।

पब्जीले धेरै नेपाली बालबालिकाहरू जसले ई–स्पोर्टसमा करिअर बनाउने सपना देखेका छन्, उनीहरूलाई एउटा प्लेटफर्म दिएको छ । यदि सरकारी निकायहरूले पनि यसमा चासो दिने हो भने नेपालमा धेरै सम्भावनाको ढोका खुल्नेछ ।