NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विजयी भएपछि गगन भन्छन् : मुलुक हाँक्ने नयाँ चालकको लागि तयारी गर्छु

काठमाडौं । कांग्रेस महामन्त्री एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका उम्मेदवार गगन थापाले नेपालले नयाँ चालक खोजेको टिप्पणी गरेका छन् ।

काठमाडौं ४ बाट भारी मतका साथ विजयी भएपछि थापाले पहिलो प्रतिक्रिया दिंदै मतदाताले यसपटक मतसँगै आक्रोश पनि व्यक्त गरेको भन्दै नेपाललाई हाँक्ने नयाँ चालक मुलुकले खोजेको टिप्पणी गरेका हुन् ।

‘मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरेका छन् । संविधानमा गरेका वाच पूरा भएको छैन । आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्नेछ । धेरै वाचा बाँकी छन् । गठबन्धनले बहुमत प्राप्त गर्छ भन्नेमा विश्वास छ । सरकार बन्नासाथै दिनरात नभनी काम गर्नुपर्नेछ’ थापाले भने, ‘नेपाललाई हाँक्ने नयाँ चालक मुलुकले खोजेको छ । यो चालक नेपाली कांग्रेसले दिन सक्छ । यस्तो बहस पार्टीमा सुरु भइसकेको छ । पार्टीबाट जितेर आउनेलाई पनि यस्तो बहसमा लाग्न आग्रह गर्छु । म मतदातालाई स्पष्ट पार्छु कि संसदीय दलको चुनावको लागि आजैबाट जुट्छु ।’

मतदाताले मतमात्रै होइन मन पनि दिएको भन्दै थापाले भनेका छन्, ‘मतदाताको मनको कुरालाई हामीले मनन गर्नुपर्छ । नयाँ नेतृत्वको खोजी भएको कुरालाई मनन गर्दै सांसदहरु संसदमा आउनुहुन्छ भन्ने विश्वास गरेको छु । हामीले निर्वाचन क्षेत्रमा जे जे वाचा गरेका थियौं । यो संकल्प पूरा गर्न लाग्छौं ।’

थापाले आफूलाई जिताउने मतदाता, शुभेच्छुकसहितलाई धन्यवाद दिंदै आफूलाई केही विशेष जिम्मेवारी थपिएको पनि बताएका छन् ।

आफूले काठमाडौं ४ बाट जित हात पारे पनि यसपटकको सन्देश काठमाडौं ४ मा मात्रै सीमित नभएको बताए । बाहिरका मतदाताले पनि यसपटक आफूलाई सम्मान गर्दै आशाको आँखाले हेरेको बताउँदै आएका छन् ।