NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ओलीका मुख्य नेता : कतै पराजित, कतै हार नजिक

काठमाडौं । एक सय ५० सिट जित्ने दावीसहित निर्वाचनमा होमिएका एमाले अध्यक्ष केपी ओलीलाई चुनावी परिणामले ठूलो धक्का दिने देखिन्छ । यो निर्वाचनबाट ओलीका कोर टिममा रहेका विश्वासिला नेता नै पराजित भएका छन् ।

प्रतिस्पर्धामा रहेका अधिकांस नेतहरू ‘रेड जोन’मा रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म १५९ निर्वाचन क्षेत्रको मतगणना भइरहँदा एमाले ५ स्थानमा विजयी भएको छ । ४४ स्थानमा अग्रता लिएको छ । प्रत्यक्षतर्फ एमाले दोस्रो स्थान हो ।
पहिलो स्थानमा रहेको कांग्रेस १३ सिट जितेको छ । ४१ स्थानमा अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ कांग्रेस र एमालेको तिव्र प्रतिस्पर्धा देखिएको छ । प्रत्यक्षमा दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ पहिलो दलमा अग्रता लिइरहेको छ । अहिलेसम्म एमालेले २ लाख ४१ हजार ९९९ मत पाएको छ । कांग्रेस २ लाख १९ हजार ४९१ मतसहित दोस्रो स्थानमा छ ।

ओलीका मुख्य नेता नै पराजित

१५ सिट रहेको काठमाडौं उपत्याकामा १३ सिट गुमाएको छ । काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठले ‘क्लीन स्वीप’ हुनबाट एमालेलाई बचाएको छ । १० निर्वाचन क्षेत्रमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा एमाले ६ सिट जितेको थियो ।

काठमाडौं–५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन् । उनी कांग्रेसका युवा नेता प्रदिप पौडेलसँग ५ हजार ६२ मतले पराजित भए । पौडेल १५ हजार २३७ मत ल्याइ विजयी हुँदा पोखरेल १० हजार १७५ मतमा सिमित भए । ओलीलाई अप्ठ्यो अवस्थामा साथ दिँदै आएका पोखरेलको पराजयले ओलीलाई धक्का लागेको छ । यसैगरी काठमाडौं–४ मा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई पराजित भएका छन् । ओलीलाई अप्ठ्यारो अवस्थामा साथ दिँदै आएका भट्टराईको यो दोस्रो हार हो । यो क्षेत्रबाट कांग्रेसका महामन्त्री गगनकुमार थापा २१ हजार ३०२ मतसहित विजयी भए । भट्टराईले १३ हजार ८५५ मत पाए । अघिल्लो निर्वाचनमा पनि उनी थापासँगै पराजित भएका थिए ।

तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा एक सिट मात्र जितेको छ । ओलीकै गृहजिल्ला भक्तपुरमा महेश बस्नेतलाई चुनाव जित्न हम्मे–हम्मे परेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार दुर्लभ थापा २२ हजार २४८ मतसहित अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बस्नेत २१ हजार ६४३ मतले पछ्याइरहेका छन् । बस्नेत ओलीका एस म्यानका रुपमा परिचित छन् ।
दाङ–२ मा महासचिव शंकर पोखरेल माओवादीका उम्मेदवार रेखा शर्माभन्दा निकै पछि परेका छन् । रेखा शर्मा १५ हजार ५४ मतसहित अग्रता लिइरहँदा पोखरेल १३ हजार ३४९ मतले पछ्याइरहेका छन् । लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनी अघिल्लोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यहाँ २०६४ देखि नै माओवादीले जित्दै आएको क्षेत्र हो । उनको पराजय भएका ओलीका लागि ठूलो धक्का लाग्नेछ । ओलीपछिका एमालेको उत्तराधिकारीको रुपमा हेरिएका पोखरेल अहिले निकै दबाबमा छन् ।

ओली सरकारका पालामा महान्यायाधीवक्ता रहेका अग्नि खरेल झापा–१ बाट पराजित हुने लगभग निश्चित छ । यहाँ विश्वप्रकाश शर्मा ३४ हजार ५०८ सहित अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिस्पर्धी खरेल १९ हजार ५०० मतका साथ पछ्याइरहेका छन् । शर्मासँग उनको १५ हजार मतको फरक छ ।

प्रदेश–१ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राई भोजपुरबाट लगभग हार्ने स्थितिमा रहेका छन् । माओवादीका उम्मेदवार सुदन किराती ७ हजार ५७२ सहित अग्रता कायमै राखेका छन् । राईले ५ हजार ५०८ ल्याएर दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै खोटाङबाट एमालेका पूर्वमुख्यसचेतक रहेका विशाल भट्टराई ८ हजार ९०८ मतसहित दोस्रो स्थानमा रहेका छन् । यो निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवार रामकुमार राई ९ हजार ७३५ मतले अग्रता लिएका छन् ।

ओलीका अत्यन्तै विश्वासिला नेता गोकुल बास्कोटा काभ्रे–२ मा पछि परेका छन् । यहाँ कांग्रेसका शिवप्रसाद हुँमागाई ९ हजार ९१५ मतका सथा अग्रता लिइरहेका छन् । उनलाई बास्कोटाले १३ हजार ४६१ मतसहित पछ्याइरहेका छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल मोरङ–३ मा झण्डै दोब्बर मतले पछि परेका छन् । कांग्रेसका उम्मेदवार रहेका शुनिलकुमार शर्माले ८ हजार ५ मतसहित अग्रता लिइरहँदा ढकालले ४ हजार ३५१ मतले पछ्याइरहेका छन् ।

एमालेमा ‘बा’ प्रवृत्ति भित्र्याउने नेताका रुपमा चिनिएकी नीरुदेवी पाल कञ्चनपुर–४ मा कांग्रेसका उम्मेदवार रमेश लेखकसँग फराकिलो मतान्तरले पछि परेका छन् । लेखकले २० हजार ५०२ ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी पाल १३ हजार १४५ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

झिनो मतान्तर भएका नेताहरू

रुपन्देही–२ गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको जित सुनिश्चित ठानिएको थियो । तर पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले कडा टक्कर दिएका छन् । विष्णुले ९ हजार ५४५ मतसहित अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले ८ हजार ४९४ मतका साथ पछ्याइरहेका छन् । यहाँ विष्णुको ७५० को झिनो मतान्तर रहेको छ । २०७० को निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पराजित गरेका उनी अहिले जित निकाल्न निकै कठिन भइरहेको छ ।

यसैगरी ओलीका विश्वासपात्र रहेका सुवासभचन्द्र नेम्बाङलाई इलाम–२ मा मतान्तर फराकिलो बनाउन सकिरहेका छैनन् । पछिल्लो मतपरिणाम अनुसार नेम्बाङ ७ हजार ५७९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार १२१ मतसहित कडा टक्कर दिइरहेका छन् ।

त्यस्तै लमजुङमा एमालेबाट उम्मेदवार रहेका पृथ्वीसुब्बा गुरुङ १७ हजार ५६२ अग्रता कायमै राखेका छन् । उनलाई माओवादीका उम्मेदवार देवप्रसाद गुरुङले १६ हजार ७५१ मतसहित पछ्याइरहेका छन् । पछिल्लो परिणाम अनुसार देवले मतान्तर घटाउँदै लगेका छन् । गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनलाई जित निकाल्न निकै भारी परेको छ ।

ओलीका विश्वासिला पात्र रहेका प्रदिपकुमार ज्ञवाली गुल्मी–१ मा कांग्रेसका बलिया उम्मेदवार डा. चन्द्र भण्डारीसँग प्रतिस्पर्धामा उत्रिएका छन् । केही केन्द्रमा मतदान अवरुद्ध भएपछि त्यहाँ अहिलेसम्म मतगणना हुन सकेको छैन ।

ओलीले चुनावी सभाको सुरुवात गरेका दार्चुलामा गणेशसिंह ठगुन्नालाई कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले उछिनेका छन् । पछिल्लो मतगणना अनुसार बडूले १८ हजार ७४६ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी ठगुन्नाले १५ हजार २५३ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी कैलाली–५ मा नारदमुनि रानालाई कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले उछिनेका छन् । रानाले ४ हजार ६५ मतसहित दोस्रो स्थानमा रहेका छन् । ४ हजार २०६ मतसहित पन्थ पहिलो स्थानमा छन् ।