NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहेका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विसं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए । गर्वुजा यसअघि विसं २०७० को आमनिर्वाचनमा नेकपा (एमाले) का नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।

त्यसैगरी विसं २०६४ मा समानुपातिकतर्फ नाम सिफारिस हुनुभए पनि सांसद हुन भने पाएनन् । तर आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वामगठबन्धनको तर्फदेखि उम्मेदवार बन्नुभएका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गरेका हुन् । गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेको छ भने उनका प्रतिद्धन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९  मत प्राप्त गरे ।  जिल्लामा ८६ हजार एक सय २० मतदाता रहेकोमा  ५० हजार छ सय २५ मत खसेको थियो ।

निर्वाचित भएसँगै गर्बुजाले आफ्नो जीतलाई म्याग्दीवासीको जित भएको बताए । ‘म जनताको सेवक भएर काम गर्ने छु, मेरो सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको फल चखाउने प्रयास गर्ने छु,’ उनले भने ।

गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई विसं २०५४ मा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा राजनीति गर्दै आएका छन् । विसं २०५४ मा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिनुभएका गर्बुजाको २०२२ सालमा रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दग्नाम गाउँमा जन्मेका थिए ।

गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।