NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सात उम्मेदवार जसले २०० भन्दा कम मतमा चुनाव जिते

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट जित्ने पक्षमा ढुक्क थिए । माओवादी केन्द्रका ‘हेभिवेट’ उम्मेदवार कृष्णबहादुर महरा यसपटक उक्त क्षेत्रमा उम्मेदवार थिएनन् । उनको ठाउँमा माओवादी नेतृ रेखा शर्मा चुनावी मैदानमा थिइन् । तर, मतपरिणाम पोखरेलले सोचेजस्तो आएन । मात्रै एक सय ९६ मतले उनी निर्वाचनमा पराजित हुन पुगे । शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा उनले २६ हजार ६ सय ८१ मत ल्याए । पोखरेलको पराजयलाई यो निर्वाचनकै सबैभन्दा ठूलो ‘अप्रत्याशित’ परिणाम मानिएको छ । किनकि पोखरेल एमालेमा अध्यक्ष केपी ओलीपछि शक्तिशाली पदाधिकारी मानिन्छन् ।

मतपरिणाम नआएसम्म ताप्लेजुङको प्रतिनिधिसभा निर्वाचन देशभरका लागि ‘हट केक’ बन्यो । किनकि सो क्षेत्रमा एमाले सचिव योगेश भट्टराई उठेका थिए । उनीसँग माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री प्रतिस्पर्धामा थिए । सत्तागठबन्धनका साझा उम्मेदवार उनले भट्टराईलाई कडा टक्कर दिएका थिए । झिनो मतान्तरले मात्रै दुई प्रतिस्पर्धी अघिपछि थिए । अन्तमा बुढाक्षेत्री मात्रै एक सय ९० मतले चुनाव हारे । उनले २१ हजार सात सय ५३ मत ल्याउँदा योगेशले २१ हजार नौ सय ४३ मत ल्याएका थिए । प्रतिनिधिसभामा भट्टराईको यो दोस्रो ‘इनिङ’ हो ।

धनुषा २ बाट चुनाव उठेका एमाले उम्मेदवार उमाशंकर अरगरिया एक सय ५७ मतान्तरमा पराजित भए । उनी पनि चुनाव जित्नेमा ढुक्क थिए । किनकि उनलाई जनता समाजवादी पार्टीको समर्थन थियो । तर, मत उनले सोचेजस्तो आएन । उनले कांग्रेस उम्मेदवार रामकृष्ण यादवसँग चुनाव हारे । उनले १९ हजार नौ सय ५५ मत ल्याउँदा विजेता यादवले २० हजार एक सय १२ मत ल्याएका थिए । पूर्वमन्त्री अरगरिया चुनावको मुखमा जसपाबाट एमाले प्रवेश गरेका थिए । उनी केपी ओली सरकारमा मन्त्री बनेका थिए ।

मात्रै एक सय ५१ मतान्तरले चुनाव हार्नेमा कांग्रेस उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले पनि छन् । पर्सा ३ का उम्मेदवार उनी पनि चुनाव जित्नेमा ढुक्क थिए । किनकि उनलाई सत्तारूढ गठबन्धनको साथ थियो । तर, अन्तिम समयमा पासा उल्टियो । उनी एमाले उम्मेदवार राजकुमार गुप्तासँग पराजित हुन पुगे । उनले २४ हजार एक सय नौ मत ल्याउँदा गुप्ताले २४ हजार दुई सय ६० मत ल्याए ।

एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेललाई दैलेख २ को गढ जोगाउन निकै चुनौती थियो । उनले सोहीअनुसार रणनीति बनाएका थिए । सुरुवाती अग्रता लिएका उनलाई पनि निर्वाचन आफ्नो पक्षमा आउनेमा ढुक्क थियो । तर, अन्तिम अवस्थामा परिणाम उल्टियो । मात्रै एक सय ५३ मतले उनी पराजित बने । निर्वाचन जित्ने कांग्रेस उम्मेदवार दिक्पालकुमार शाहीले २० हजार एक सय ५८ मत ल्याउँदा उनले २० हजार पाँच मत ल्याए ।

यसपटक कुनै हालतमा एमालेको गढ भत्काउने योजनामा थिए इलाम २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का । किनकि उनलाई सत्तारूढ गठबन्धनको साथ थियो । प्रतिस्पर्धी एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई मतगणनामा पछि पनि पारे । तर, अन्तिममा परिणाम उल्टियो । उनले एक सय १४ मतले चुनाव हारे । उनको २९ हजार नौ सय ६ मत आउँदा सुवासचन्द्रको तीन हजार २० मत आएको थियो ।

सामूहिक व्यक्तिहत्या कसुरमा जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी निर्वाचनमा उम्मेदवार बन्ने–नबन्ने टुंगो थिएन । यद्यपि, उनले बर्दिया २ बाट वारेसनामामार्फत उम्मेदवारी दर्ता गरे । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो । आयोगको यस्तो निर्णय आउन सक्नेमा रेशम चौधरी सचेत थिए । सोही कारण उनले आफ्ना बुबा लालवीर चौधरीलाई सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार उठाए । आयोगले रेशमको उम्मेदवारी खारेज गरेलगत्तै नागरिक उन्मुक्तिले लालवीरलाई समर्थन ग¥यो । अन्ततः उनले एक सय ३८ मतान्तरले चुनाव जिते । उनले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।