NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चुनावका दुई फरक दृश्य : सिके उदाए, सिपी बिलाए

काठमाडौं । झापा आन्दोलनबाट उदाएका नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीको चार्म कुनै बेला अधिक थियो । उनको परिचय ‘करिस्म्याटिक’ नेताका रूपमा थियो ।

शान्ति प्रक्रियामा आएपछि प्रचण्डको भाषण सुन्न जसरी मानिसहरू लालायित हुन्थे, ०४६ को जनआन्दोलनपछि सिके सहभागी कार्यक्रममा पनि उसैगरी मानिसहरूको भीड लाग्थ्यो ।

सिपी देशकै प्रभावशाली दलको नेतृत्व गरे, विभिन्न जिम्मेवारीमा रहे । जनमतबाट निर्वाचित भएर उपप्रधानमन्त्रीसम्म बने । मंसिर ४ मा सम्पन्न निर्वाचनमा रवि लामिछाने, सिके राउतलगायतले नेतृत्व गरेका दलले तरक्की गर्दै आश्चर्यजनक नतिजा निकाले । तर कुनै बेलाका सिपी मैनालीको भने यो निर्वाचनमा कन्तबिजोग भयाे ।

त्यसाे त सिपीकाे ओरालो यात्रा सुरू भएकाे निकै भइसकेकाे छ ।०६४ र ०७० को निर्वाचनमा  समानुपातिकमार्फत केही सांसदलाई संसदमा प्रतिनिधित्व गराएको मालेले त्यसयता संसदमा उपस्थिति जनाउन सकेकाे छैन । यस पटक उसले प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ केही स्थानमा उम्मेद्वार उठाएकाे थियाे । तर सबैजसाेकाे जमानत जफत भएकाे छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि याे दलकाे उस्तै  बिजाेग छ । मतगणना करिब अन्तिम चरणमा पुग्दा सिपीकाे दल ३० हजार २०८ मतसहित लुखुरलुखुर हिँडिरहेको छ । प्रदेश खारेज गरेर स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाउनुपर्ने एजेण्डासहित निर्वाचनमा होमिएको मालेले मधेस प्रदेशमा ९ हजार ८९९ मत प्राप्त गरेको छ ।

प्रदेशगत हिसाबमा मालेले प्राप्त गरेको यो सबैभन्दा धेरै मत हो । गण्डकी प्रदेशमा मालेको करिब करिब पत्तासाफ नै भएको छ । ११ जिल्ला रहेको यो प्रदेशमा उसलाई १ हजार ९४६ मतदाताले मात्र विश्वास गरेका छन् ।

सिपीको गृह जिल्ला झापा समेटिएको प्रदेश १ मा ७ हजार ६१, बागमती प्रदेशमा ६ हजार १५८, लुम्बिनी प्रदेशमा ६ हजार ४४५, कर्णाली प्रदेशमा ३ हजार ९९ र सुदूरपश्चिम प्रदेशमा मालेले ४ हजार ३३९ मत प्राप्त गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष