NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रचण्ड भेट्न देउवाले खुमलटार पठाए विश्वासपात्र

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डनिवास खुमलटार पुगेर कांग्रेस नेता महतले शनिबार उनीसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डलाई बधाई दिँदै गठबन्धन र समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको महतले जनाएका छन् । गठबन्धनलाई निरन्तरता दिनेबारे के–के कुरा भयो भन्नेबारे महतले केही खुलाएका छैनन् । स्रोतका अनुसार, महतले प्याकेजमा सत्ताो भागबण्डा गरेर गठबन्धनलाई निरन्तरता दिन प्रचण्डलाई आग्रह गरेका छन् ।

‘नेकपा माओवादी केन्द्रका अध्यक्ष आदरणीय पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिँदै गठबन्धन र समसामयिक राजनीतिक विषयमा छलफल भयो, महतले फेसबुकमा लेखेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । कांग्रेसले गठबन्धनलाई निरन्तरता दिएर पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन गर्न चाहे पनि माओवादीले यसबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । राजनीतिक वृतमा चलेको चर्चाअनुसार, गठबन्धनलाई निरन्तरता दिनेबारे प्रचण्ड दोधारमा छन् ।

अहिलेको गठबन्धनको भविष्यलाई लिएर अनेक प्रश्न उठिरहेका बेला देउवाका विश्वासपात्र महतले प्रचण्डसँग गरेको भेटवार्टालाई अर्थपूर्ण ठानिएको छ ।