NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रदेश सभामा एमाले : चार प्रदेशमा पहिलो, कुन प्रदेशमा कति सिट ?

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी ८२५ सदस्यका लागि भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम आइसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ १४ दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्यासहित मंसिर २८ भित्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी छ ।

एक सय ६५ निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ स्वतन्त्रबाहेक १२ दल निर्वाचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित दलमध्ये सात दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । राष्ट्रिय दलको मान्यता पाउनेमा कांग्रेस ३२, एमाले ३४, माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी १३, राप्रपा १४, जसपा ५ र जनमत पार्टी ५ सिटमा विजयी भएको छ । संवैधानिक व्यवस्था अनुसार यी दलले तीन प्रतिशत थ्रेसहोल्ड कटाएका हुन् ।

प्रदेशसभातर्फ थप एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी, नागरिक उन्मिुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा हाम्रो नेपाली पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाउन १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने संवैधानिक बाध्यता छ । प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपालेमात्र सातै प्रदेशमा योपटक राष्ट्रिय दलको मान्यता पाएका छन् ।

यहाँ समानुपातिकतर्फ सात प्रदेशमा कुन दलले कति मत प्राप्त गरेका छन्, ती दलले प्राप्त गरेको मत संख्यासहित विश्लेषण गरिएको छ ।

यस्तो छ प्रदेशअनुसार दलहरूको सिट संख्या

प्रदेश १
प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले भाएको छ । यो प्रदेशमामा एमाले ६ लाख ६५ हजार ४६० मतसहित पहिलो दल भएको हो । दोस्रो स्थानमा रहेको कांग्रेसले ५ लाख ६२ हजार ९५६ मत पाएको छ । माओवादी केन्द्रलाई उछिनेर तेस्रोमा राप्रपाले एक लाख ९८ हजार ५११ मत पाएको छ । माओवादी चौंथोमा धकेल्लिएको छ । उसले एक लाख ८१ हजार २४५ मत पाएको छ । पाचौं स्थानमा रहेको जनता समाजवादीले ६१ हजार ७२३ मत पाएको छ । एमालेका विद्रोही शक्ति एकीकृत समाजवादीले ५५ हजार ९५७ मतसहित छैटौं स्थानमा छ ।
प्रदेश १ मा खसेको कुल सदर मतमध्ये राष्ट्रिय दलको मान्यता पाउन १.५ प्रतिशत अर्थात् न्यूनतम २८ हजार ४८७ मत प्राप्त गर्नुपर्छ । यहाँ खसेको कुल मतमध्ये १८ लाख ९९ हजार १४४ मत सदर भएको आयोगले जनाएको छ ।

२८ निर्वाचन क्षेत्र भएको यो प्रदेशमा ९३ सदस्य प्रदेश सभा सदस्य रहेका छन् । जसमा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ सदस्य रहन्छन् । प्रदेश १ मा योपटक एमाले १५ सिटसहित पहिलो दल भएको छ । कांग्रेसले १२, माओवादी केन्द्रले ४, राप्रपाले ४ सिट पाएको छ । नेकपा एस र जसपाले समान एक÷एक सिट पाएको छ ।

मधेश प्रदेश
३२ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा १० वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएको छ । चार लाख १४४ मतसहित कांग्रेस पहिलो दल भएको छ । दोस्रो स्थानमा रहेका एमालेले तीन लाख ५१ हजार ७६८ मत पाएको छ । मधेश विरोधी दलको ट्याग लागेको एमालेले योपटक मधेशमा उल्लेख्य सुधार गरेको छ । तेस्रो स्थानमा सीके राउतको नयाँ दल जनमत पार्टीले तीन लाख २९ हजार १७७ मत पाएको छ । जसपा दुई लाख ९८ हजार ७४४ मतसहित चौंथो दल भएको छ । पाचौं स्थानमा रहेको माओवादी केन्द्रले एक लाख ८० हजार ८६० मत पाएको छ ।

यसैगरी एक लाख १३ हजार ९१५ मतसहित एकीकृत समाजवादी छैटौं स्थानमा छ । सातौं स्थानमा रहेको लोसपाले एक लाख १३ हजार ३६४ मत पाएको छ । राप्रपा ६५ हजार ५४, नेपाल संघीय समाजवादी ५० हजार १८८, नागरिक उन्मुक्ति पार्टी ४९ हजार ७०५ मतसहित क्रमशः आठौं, नवौं र दशौं स्थानमा छन् ।

यहाँ कुल खसेको मतमध्ये २० लाख ८६ हजार २९८ मत सदर भएको छ । कुल सदर मतको आधारमा कांग्रेसले ९, एमालेले ८, जसपाले ७, जपाले ७, माओवादीले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपा, नेसस र नाउपाले समान एक÷एक सिट जितेका छन् ।
बागमती प्रदेश
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा एमाले ठूलो दल भएको छ । उसले कुल सदर मतको ६ लाख पाँच हजार ३५१ मत पाएको छ । यो प्रदेशमा सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले पाँच लाख ९ हजार १९७ मत ल्याएको छ । दुई लाख ९० हजार ७२३ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । दुई लाख ७७ हजार २३५ ल्याएर राप्रपा चौंथो दल भएको छ । पाँचौं स्थानमा रहेको नेकपा एसले ६९ हजार ८४६ मत पाएको छ । ६८ हजार ८२२ मतसहित नेमकिपा छैटौं स्थानमा छ । सातौं स्थानमा रहेको हाम्रो नेपाली पार्टी ६७ हजार ९६२ मत पाएको छ ।

यसरी प्राप्त मतको आधारमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेमकिपाले २, नेकपा एसले २ र हाम्रो नेपाली पार्टीले एक सिट जितेको छ । ११० सदस्य प्रदेश सभा रहेको वाग्मतीमा प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ सिट रहेको छ ।
गण्डकी प्रदेश

गण्डकी प्रदेशमा तीन लाख ६७ हजार ९९८ मतसहित एमाले नै पहिलो दल भएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले तीन लाख ४९ हजार ६२८ मत पाएको छ । एक लाख १६ हजार ९४५ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेको राप्रपाले ५९ हजार ४८३ मत पाएको छ । ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा २४ सदस्य समानुपातिकबाट चुनिने व्यवस्था छ । योपटक गण्डकीमा एमाले, कांग्रेस, माओवादी र राप्रपाले मात्र १.५ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । जसअनुसार एमालेले १०, कांगे्रसले ९, माओवादीले ३ र राप्रपाले २ सिट जितेको छ ।

लुम्बिनी प्रदेश

पाँच लाख ७० हजार ९२१ मतसहित लुम्बिनी प्रदेशमा एमाले पहिलो दल भएको छ । दास्रोमा कांग्रेसले चार लाख ९९ हजार ९८६ मत पाएको छ । एक लाख ९८ हजार ४५० मतसहित माओवादी केन्द्र तेस्रो भएको छ । राप्रपाले एक लाख २७ हजार ४५२ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२५ मत पाएको छ । जनमत पार्टीले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६, नेकपा एसले ४२ हजार ६२१, लोसपाले ३७ हजार ६३१ र राजमोले ३२ हजार ७४७ मत पाएको छ । यहाँ १० वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । यो प्रदेशमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४ सिट पाएको छ । यसैगरी राप्रपाले २, नागरिक उन्मुक्ति पार्टीले २ र जनमत पार्टीले २ सिट जितेको छ । नेकपा एस, जसपा, लोसपा र राजमोले समान एक÷एक सिट जितेको छ । कुल खसेको मतमध्ये १८ लाख ८७ हजार ७८ मत सदर भएको छ । ८७ सदस्यका लागि यहाँ निर्वाचन भएको हो ।

कर्णाली प्रदेश
चालिस सदस्य प्रदेश सभा रहेको कर्णाली प्रदेशमा एक लाख ८३ हजार ९५० मतसहित एमाले नै पहिलो दल भएको छ । दोस्रोमा कांग्रेसले एक लाख ७० हजार ७५६ मत पाएको छ । तेस्रोमा रहेको माओवादीले एक लाख ३७ हजार ६२९ मत पाएको छ । ३५ हजार ८२६ मतसहित नेकपा एस चौंथो दल बनेको छ । राप्रपाले २५ हजार १८६ मत ल्याएर पाचौं दल बन्न सफल भएको छ । प्राप्त मतअनुसार कर्णालीमा कांग्रेस र एमालेले समान ५/५ सिट जितेको छ । माओवादी ४, नेकपा एस र राप्रपाले समान एक÷एक सिट जितेको छ । यहाँ कुल खसेको मतमध्ये पाँच लाख ७७ हजार ८२९ मत सदर भएको छ ।

सुदूरपश्चिम प्रदेश

प्रदेशसभा निर्वाचन समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि देखिएको छ । ५३ सदस्य प्रदेश सभामा एमालेले दुई लाख ७४ हजार ६७५ मत पाएको छ । कांग्रेस दुई लाख ६९ हजार ५६४ मतसहित दोस्रो स्थानमा छ ।

यसैगरी माओवादी केन्द्र एक लाख २१ हजार ४३१ मत ल्याएर तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेका नागरिक उन्मुक्ति पाटीले ९८ हजार ५५९ मत पाएको छ । यसैगरी राप्रपाले ४४ हजार २३३, नेकपा एसले ४३ हजार ८१९ मत पाएको छ । यहाँ ६ वटा दललेमात्र थ्रेसहोल्ड कटाउन सफल भएको छ । जसअनुसार एमाले र कांग्रेसले समान ७/७ सिट जितेको छ । माओवादीले ३, नाउपाले २, नेकपा एस र राप्रपाले

समान एक/एक सिट जितेको छ ।

सातै प्रदेशमा कुल सिट संख्यामध्ये ७० सिटसहित एमाले पहिलो दल बन्न सफल भएको छ । कांग्रेस ६४ सिटसहित दोस्रो दल भएको छ । माओवादीले २९, राप्रपाले १७, एकीकृत समाजवादी, जसपा र जपाले समान ९/९ सिट जितेको छ । यसैगरी नाउपाले ५, लोसपाले ३ र नेमकिपाले २ सिट जितेको छ । त्यस्तै नेसस, राजमो र हाम्रो नेपाली पार्टीले समान एक/एक सिट जितेको छ ।