NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

झापामा किसानलाई  खेतमै विद्युत् सेवा

झापा । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पु-याउन सुरुआत गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत् सुविधा पु-याउन थालिएको हो ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय ५० किसानको खेतमा विद्युत् पु-याउन धमाधम काम भइरहेको बताए । पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल र विद्युतीय उपकरणको आधा लागत रकम अनुदानमा उपलब्ध गराउँदै आएको साहले बताए ।

‘किसानलाई ट्युबवेल तथा मोटर खरिदका लागि ५० प्रतिशत अनुदान दिँदै आएका छौँ’, उनले भने । ‘पोहोर साल सय जना किसानले यो सुविधा लिनुभएको थियो, यसपालि निवेदन दिनेको सङ्ख्या बढेको छ ।’

यस क्षेत्रका किसानले धान, मकै, तोरी, गहुँ र विभिन्न तरकारी खेती गर्दै आएका छन् । विगतमा आफूलाई खान पुग्ने मात्र अन्न उत्पादन गर्दै आएका स्थानीयवासी पालिकाले अनुदान दिन थालेपछि व्यावसायिक तरकारी खेतीमा जुटेका छन् ।

पालिकाले चालु आर्थिक वर्षमा किसानको खेत–खेतमा बिजुली पु-याउने परियोजनाका लागि सात सयवटा बिजुलीका पोल खरिद गरिसकेको छ । अनुदान पाएपछि एकातिर पानी तान्ने ट्युबवेल र मोटर खरिदमा किसानको लागत कम भएको छ भने अर्काातिर उत्पादनमा वृद्धि भएको छ ।

पालिकाका अध्यक्ष साहका अनुसार कम्तीमा चार बिघा जमिन बराबर एउटा ट्युबवेल र मोटर खरिदमा अनुदान दिइने व्यवस्था छ । बिजुलीको पोल पु-याउन किसानले कुनै खर्च व्यहोर्नु पर्दैन । थोरै जमिन भएका चारदेखि छ जनासम्मको समूह बनाएर किसान यो सुविधा लिन पालिकामा आउने गरेका छन् ।

झापा गाउँपालिका वडा नं २ का ५५ वर्षीय किसान सहनी राजवंशीले खेतमा बिजुली पुगेपछि व्यावसायिक तरकारी सुरु गरेको बताउनुभयो । उहाँको खेतीमा अहिले भण्टा, काउलीलगायतको तरकारी बाली फस्टाइरहेको छ ।

‘हामी किसानलाई पनि सरकारले खेती गर्न अनुदान दिँदोरहेछ भन्ने यसअघि थाहा थिएन”, उनले पालिकाले दिएको सुविधाको प्रशंसा गर्दै भने, ‘ट्युबवेलबाट पानी निकालेर सिँचाइ गर्न पाएका छौँ । तरकारी खेती राम्रो भएको छ ।’ पाँच वर्ष अघिसम्म घरमा बिजुली बाल्न नपाएका किसान खेतमै बिजुली पुगेपछि दंग छन् ।

पालिकाको अध्यक्षमा साह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो कार्यकालमै उनले किसानलाई अनुदान कार्यक्रमको थालनी गरेका थिए।

उनले पालिकाभित्रका वास्तविक किसानको पहिचान गरी परिचयपत्र वितरणका लागि समेत तयारी पूरा भइसकेको बताए । झापाको दुर्गम मानिएको यस पालिकामा आदिवासी, जनजाति र मुस्लिम समुदायको बाहुल्य छ ।