NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सत्तागठबन्धनबाट पहिलो कार्यकालको प्रधानमन्त्री को ?

काठमाडौं । पाँचदलीय सत्तागठबन्धनमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो कार्यकाल आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । तर, देउवाले यसै साता आफ्नो पार्टीको संसदीय दलको नेता चयन हुने र त्यसपछि मात्रै सरकारको नेतृत्वबारे छलफल गर्ने जवाफ दिएका छन् ।

निर्वाचनबाट कुनै एक दलको मात्र होइन पाँचदलीय गठबन्धनकै समेत स्पष्ट बहुमत नआएकाले साना दलको समेत साथ लिएर मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता गठबन्धनलाई छ । सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा मतभेद रहेकै वेला प्रचण्डले पहिलो कार्यकाल आफूले नेतृत्व गर्ने प्रस्ताव गरेका हुन् । उनले कांग्रेसबाहेकका ६० सांसदको समर्थन आफूले जुटाएको दाबी गरेका छन् ।

समग्र ‘पावर सेयरिङ’मा जाँदा माओवादीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका मुख्यमन्त्रीहरूमा आवश्यकताअनुसार ‘त्याग’ गर्ने भन्दै प्रचण्डले शनिबार बिहान प्रधानमन्त्री देउवासँगको भेटवार्तामा पहिलो कार्यकालमा संघीय सरकारको नेतृत्व आफूले गर्न चाहेको बताएका हुन । विगतमा प्रत्यक्षमा २३ सिट जित्दा पनि कांग्रेसबाट प्रधानमन्त्री भएको दाबीसहित प्रचण्डले संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनको संस्कारअनुसार अहिले माओवादीलाई नेतृत्व दिन आग्रह गरेका थिए । जवाफमा देउवाले गठबन्धनको सहमतिअनुसार आफू अगाडि बढ्न तयार रहेको बताएका छन् ।

शनिबार नै बालुवाटारमा आयोजित पार्टी सांसदहरूको भेलामा देउवाले राष्ट्रिय राजनीतिका विषय गठबन्धनभित्र छलफल गरेर टुंग्याइने बताएका छन् । ‘राष्ट्रिय राजनीतिको विषयमा हाम्रो गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन्,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘चाँडै नै गठबन्धनको बैठक बसेर अरू कुराको निर्णय हुनेछ । निर्णयको जानकारी तपाईंहरूलाई गराउनेछु ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्डको प्रस्ताव आएको र यो विषय गठबन्धनभित्र छलफलमै रहेको बताए । प्रवक्ता महतले जनमतले देशकै पहिलो पार्टी बनेकाले पनि कांग्रेसकै नेतृत्व हुनुपर्ने जिकिर गरे । ‘कांग्रेसले सबैभन्दा ठूलो दलका रूपमा संसद्मा प्राप्त गरेको हैसियत र गठबन्धनमा पनि फराकिलो अन्तरले हैसियत बनाएको छ । स्वाभाविक रूपमा कांग्रेसको प्रधानमन्त्री हुने कुरालाई देश र जनताले लिन्छन्,’ महतको भनाइ थियो ।

सत्तारूढ गठबन्धनका शक्ति बाँडफाँडबाट औपचारिक छलफल सुरु भएको छैन । प्रचण्डले तेस्रो कार्यकाल देशको नेतृत्व गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । त्रिशंखु संसद् भएकाले मिलीजुली सरकार बन्नेछ । माओवादी महासचिव देव गुरुङले सरकारको नेतृत्वमा प्रचण्डको दाबी स्वाभाविक भएको बताए ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने भन्दै लचकताको सम्भावना देखाएका छन् । ‘प्रधानमन्त्री जो बन्नुहोला, दुई वर्षका लागि बन्नुहोला, लुकाइछिपाइ केही छैन । हामी एक्लैले विजय हासिल गरेका होइनौँ । हामीसँगै माओवादी उत्तिकै साथमा उभिएको शक्ति हो,’ उनले शनिबार एक सार्वजनिक कार्यक्रममा भने, ‘एकीकृत समाजवादी पनि उत्तिकै बलका साथ उभिएको शक्ति हो । आकारले अलिकति सानो–ठूलो भयौँ होला । तर, हामी एक्लै त कोहि पनि विजयी भएका होइनौँ । जनताको मतले गठबन्धन जसरी आएको छ, यसलाई एउटा सरकार बन्ने–बनाउने भन्ने नाममा बिथोलिन दिनुहुँदैन, भत्किन दिनुहुँदैन । गठबन्धनलाई जनताले जे–जुन रूपमा आकार दिनुभएको छ, त्यही रूपमा सफल बनाएर जानु छ ।’ निर्वाचनपछि पहिलोपटक १९ मंसिरमा बसेको सत्तागठबन्धनको बैठकले गठबन्धन निरन्तर रहने निर्णय गरेको थियो ।

दलहरू यही निर्णयमा कायम रहे गठबन्धनकै सरकार बन्नेछ । तर, नेतृत्वको विषय भने पेचिलो बन्ने जोखिम छ । निर्वाचन परिणामपछि आफ्नो नेतृत्वमा सरकार बनाउन प्रचण्ड विभिन्न पक्षसँग निरन्तर छलफलमा छन् । प्रचण्डले कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग निरन्तर संवाद गरेका छन् । यसका साथै एमालेसहित अन्य दलका नेताहरूसँग पनि प्रचण्डले छलफल गर्दै आएका छन् । यही पृष्ठभूमिमा उनले शनिबार देउवासँग प्रस्ताव गरेका हुन् ।

बिहीबार मात्रै प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेका थिए । यसअघि प्रचण्डसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेताहरू कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्कीले पनि केही दिनअघि छलफल गरेका थिए । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहलगायतले पनि प्रचण्डसँग छलफल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रचण्डले जेलमै पुगेर भेटेका थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, नेता रघुवीर महासेठलगायतले पनि प्रचण्डसँग छलफल गरेका छन् । माओवादी महासचिव गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । एमाले र माओवादीका दोस्रो तहका नेताबीच पनि छलफल भइरहेको छ । विषयवस्तुमा केही प्रगति भए एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भेट गराउने दोस्रो तहका नेताको प्रयास छ । निर्वाचनको सबै परिणाम आइनसक्दै ओलीले फोन गरेर प्रचण्डसँग सहकार्यको प्रस्ताव गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।