NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाको सहयोग

काठमाडाैं । डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए ।

काठमाडौं महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई  १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए । उनले भने, ‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’

उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौं महानगर पालिकाले जनाएको छ ।