‘नेपाललाई आइटी हब बनाउनुपर्छ’
काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उनले नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई ‘आइटी हब’ का रूपमा विकास गर्न सकिनेमा विश्वास व्यक्त गरे । विसं २०७८ असोज २२ देखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कार्की हिजो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज पदमुक्त भएका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोसमेत जिम्मेवारी लिएका उनी हालसम्म जलस्रोतलगायत मन्त्रालयको जिम्मेवारीका साथ चारपटक मन्त्री बनेका छन् । उनी गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका छन् ।
सांसद कार्कीले भने, ‘जलस्रोत, पर्यटन र पूर्वाधारको विकाससँगै मुलुकले विकासको गति लिएको आभास भएको छ, हामी सबै मिलेर त्यसलाई पूर्णता दिनुपर्छ ।’ उनले राजनीतिक आस्थाभन्दा माथि उठेर देश र जनताका निम्ति स्थायी सरकारकैरूपमा काम गर्न निजामती कर्मचारीलाई आग्रह गरे ।
सो अवसरमा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले निवर्तमान मन्त्री कार्कीले मन्त्रालयको जिम्मेवारी लिएपछि मन्त्रालयको ९५ प्रतिशत कामकारवाही डिजिटल माध्यमबाट गर्न सफल भएको बताए । उनले मन्त्री कार्कीका कार्यकालमा सञ्चारसम्बन्धी ऐन/कानुन र हुलाक सेवा विभागलाई आधुनिक बनाउनेलगायत अन्य महत्वपूर्ण विषयमा गृहकार्य भएको पनि बताए ।
निवर्तमान मन्त्री कार्कीलाई मन्त्रालयका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । उनलाई आजै कानुन मन्त्रालयबाट पनि विदाइ समारोह आयोजना गरी विदाइ गरिएको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया