NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ओलीसँग नजिकिँदै प्रचण्ड, माधवमा बढ्दै बेचैनी

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सत्र महिना लामो मायापिरती छुटाएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध गाँस्न पुगे ।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले ५ पुस, २०७७ मा संसद विघटन गरेपछि प्रचण्डले उनीसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यतिबेला ओलीको कदमबाट आक्रोसित भएका प्रचण्डले नेपालको साथ लिएर ओलीलाई बालुवाटारबाट बालकोट धपाए । नेकपा विघटन भएपछि अलग–अलग बाटो हिँडेका यी दुई शीर्ष नेताको दुई वर्षपछि ओली निवास बालकोटमै पुनः सम्बन्ध विस्तार भएको छ ।

दुई वर्षपछि प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेर एक आपसमा देखिएको तिक्ततालाई मेट्ने प्रयास गरे । बालकोटको बार्दलीबाट जोडिएको सम्बन्ध खुमलटारको छतसम्म पुगेको छ । ओली र प्रचण्डको सम्बन्ध नजिकिँदै गर्दा माधवको भने बेचैनी बढ्न थालेको छ ।

अझ रोचक कुरा त ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्न नचाहेको आरोप लगाउँदै उनी विरुद्ध सडकमा पुगेका प्रचण्ड दुई वर्षपछि उनकै प्रस्तावमा प्रधानमन्त्री बने । यता ओलीसँग उनको सम्बन्ध जोडिँदा उता अप्ठ्यारो अवस्थामा सडकमा साथ दिएका नेपालसँग भने सम्बन्ध तोडिएको छ ।

पूर्व जानकारीबिना प्रचण्डले सम्बन्ध विच्छेद गरेपछि मंगलबार नेपालले निकै गुनासो पोखे । प्रचण्डबाट धोका भएको निष्कर्षमा पुगेका नेपालले नयाँ सरकारलाई साथ नदिइ कांग्रेससँग नै ओत लाग्ने संकेत गरे ।

‘लामो समय सहकार्य गरेका प्रचण्डले हामीसँग कुनै सल्लाह नै नगरी ओलीसँग सम्बन्ध गाँस्नुभयो । उहाँको व्यवहार देखेर हामी आश्चर्यचकित भएका छौं । अब प्रतिपक्षमै बसेर कांग्रेससँग सहकार्य गर्छौं’, प्रचण्डमाथि नेपालले गुनासो पोखे ।

आफूमाथि पूर्वसहकर्मीले गुनासो पोखेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाललाई भेट गरे । ललितपुरस्थित प्रधानमन्त्रीका नातेदारको एक घरमा नेपालसहित जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी सरकारमा आउन उनले आग्रह गरे । समीकरण फेरबदलमा सल्लाह नगरेकोमा माफी माग्दै प्रचण्डले यस्तो गल्ती अब नगर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीको पुरानै बानी यसपटक पनि दोहोर्याएर नेपाललाई थमथमाउने प्रयास गरेको देखिन्छ ।

पुस १० गते निर्णायक वार्ता गर्ने भनेर प्रधानमन्त्री निवास बालुवाटरमा बसेको तत्कालीन सत्तापक्षको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन नचाहेपछि उनी सिधै ओली भेट्न बालकोट हानिएका थिए । ओली निवासमै एमालेसहित सात दलको समर्थन जुटाउन सफल भएका उनी आफू प्रधानमन्त्रीमा नियुक्त भएपछिमात्र बालुवाटर आउन सन्देश देउवालाई पठाए ।

ओली विरुद्ध सत्ता साझेदारदेखि तीनै तहको निर्वाचनमा चुनावी तालमेल गरेका देउवा–प्रचण्ड गठबन्धन भत्काउन यसपटक ओली सफल देखिए । कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्न चाहेका प्रचण्डको चाहनालाई ओलीले पुरा गरेर सत्ताको चाबी आफ्नो हातमा लिन सफल भए । प्रचण्डकै सहयोगमा छौटौंपटक प्रधानमन्त्री बन्न तयारी गरेका देउवाको सपना योपटक तुहिएको छ । चुनावी तालमेलसँगै निर्वाचनपछि पार्टी एकतासम्मको तयारी गरेका नेपाल अकास्मात प्रचण्डले साथ छाडेपछि एक्लिएका छन् ।

शर्तसहित सरकारमा जाने संकेत

एक अर्कालाई भित्तामा पुर्याउनेसम्मको गतिविधि गरेका ओली र प्रचण्डबीचको पुनर्मिलनले सबैभन्दा अप्ठ्यारोमा नेपाल छन् । प्रचण्डकै विश्वासमा परेर ओली विरुद्ध माधव–झलनाथ समूहले विद्रोह गरेका थिए । ३ जेठ, २०७५ मा एमाले र माओवादीबीच पार्टी एकता भएपछि पार्टीभित्र विस्तारै कर्नरमा पर्दै आएका नेपाल नेकपा विवाद उत्कर्षमा पुग्दा प्रचण्डलाई बलियो साथ दिएका थिए । २३ फागुन, ०७७ मा सर्वोच्चले नेकपा विघटन गरेपछि एमाले र माओवादी ब्युँतियो । त्यतिबेला नेपालसमूह एमालेमै रहेपनि सडकमा प्रचण्डलाई साथ दिएका थिए।

८ जेठ, ०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरी मध्यावधि घोषणा गरे । ओलीको कदमबाट थप अक्रोसित भएका नेपाल समूहले संसद पुनस्र्थापना र विपक्षी दलको नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हस्ताक्षरसहित सर्वोच्च पुगे । आफ्नै दलका प्रधानमन्त्रीलाई अपदस्थ गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा दर्खास्त हालेका संसदीय इतिहासमै नयाँ घटना हो ।

संसदीय अंकगणितमा देउवाको पक्षमा बहुमत सदस्य रहेको कारण देखाउँदै संविधानको धार ७६(५) बमोजिम संसद पुनस्र्थापनासहित देउवालाई प्रधामन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गर्यो । यस घटनालाई लिएर एमालेसमेत विभाजन भयो । २ भदौ, २०७८ मा विद्रोह गरी माधव समूह एमालेबाट अलग भए । त्यसयता पानी बराबारको स्थितिमा रहेका ओली–माधवको सम्बन्ध अझै पनि संग्लिन सकेको छैन ।

ओलीकै सहयोेगमा प्रचण्ड प्रधानमन्त्री बनिसक्दासमेत नेपाल ओलीको कित्तामा आउन सकेका छैनन् । यद्यपी प्रधानमन्त्री प्रचण्डले नेपाललाईसमेत सरकारमा समेट्ने प्रयास जारी राखेका छन् । उच्च स्रोतका अनुसार नेकपा एसलाई सरकारमा ल्याउने जिम्मा ओलीले प्रचण्डलाई दिएका छन् । विगतका गल्तीबाट प्रायश्चित गरेर एमालेमा फर्किन नेकपा एसका नेताहरूलाई ओलीले आग्रह गरेका छन् । एसका शीर्ष नेताहरूले ओलीलाई तत्काल विश्वास गर्न नसकिने भन्दै आफूले उठाउँदै आएको एजेण्डामा सहमत भए सरकारमा जान सकिने बताएका छन् ।

नेकपा एसका प्रवक्तासमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले एजेण्डामा सहमत नभएसम्म सरकारमा नजाने अडान लिए ।
‘ओलीलाई तत्काल विश्वास गर्ने अवस्था छैन । ओलीसँग जुन एजेण्डामा असहमत रहेर अलग भएका थियौं, त्यसमा अहिलेसम्म उहाँ सहमत हुन सक्नुभएको छैन । यथास्थितिमा सरकारमा जान सकिँदैन’, खतिवडाले भने ।

प्रचण्डको पछिल्लो निर्णयप्रति आश्चर्यचकित हुँदै माया एउटालाई गरेर विवाह अकैसँग गरेको उनले ठट्टा गरे । ‘प्रचण्ड कमरेडले माया एउटासँग विवाह अकैसँग गर्नुभयो । यस्तै रै’छ भाग्य लेख्ने मसी देउवतासँग भन्दै हामी अलग बसेका छौं । यसमा तपाईंले रोनाधोना थपेर उहाँलाई सुनाइदिनुहोला,’ हाँस्दै उनले भने ।

यसैगरी अर्का महासचिव प्रकाश ज्वालाले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भएकोले प्रचण्डको निर्णयबाट आफू दुःखी नभएको प्रतिक्रिया दिए । ‘हामीले प्रचण्डजीसँग लामो समय सहकार्य गर्यौं । पूर्व जानकारीबीना उहाँ ओलीसँग जानुभएको छ’, उनले भने, ‘राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने हुँदा यसलाई स्वभाविक रूपमा लिएका छौं । हामीले उठाएका एजेण्डामा सहमत भए सरकारमा जान सकिन्छ। तर यथास्थितिमा हामी सरकारमा जाँदैनौं ।’

प्रधानमन्त्रीले भेटौं भनेपछि अध्यक्षको नाताले उहाँसँग भेट गर्नु स्वभाविक रहेको ज्वालाको भनाइ छ । विगतका गल्तीलाई ओलीले रियलाइज गरे एमालेसमेतको वामपन्थी एकता हुन सक्ने उनको बुझाइ छ । यद्यपी ओली र प्रचण्डबीचको पुनर्मिलनले वामपन्थी एकताका लागि सहज वातारवण बन्ने सक्ने उनको अनुमान छ ।

गठबन्धनबाट तीनै तहको निर्वाचनमा भाग लिएको एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्यमा १० सिट जितेको छ । समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन सकेन । प्रचण्डकै विश्वासमा ओलीसँग विद्रोह गरेका नेपाल अहिले उनीबाट नै घात भएको महसुस गरेका छन् । सरकारमा जाने वा कांग्रेससँग प्रतिपक्षमा बस्नेबारे अहिलेसम्म आधिकारिक निष्कर्षमा पुग्न सकेका छैनन्। यद्यपी छिट्टै पार्टीको बैठक राखेर निष्कर्षमा पुग्ने उनको तयारीे छ ।