NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

हुलाकबाट गाँजा तस्करी

काठमाडौं ।समयानुकूल ‘अपग्रेड’ हुन नसकेपछि गोश्वारा हुलाक यतिवेला सेवाग्राहीको प्राथमिकतामा पर्दैन । करिब–करिब अस्तित्वको संकटबाट गुज्रिरहेको हुलाक सेवालाई लागुऔषध तस्करले भने ‘गुड बुक’मा राख्ने गरेको देखिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले नै यसलाई पुष्टि गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियाबाट डिल्लीबजार गोश्वारा हुलाक हुँदै गत २० भदौमा तस्करी भएर आएको दुई किलो गाँजासहित काभ्रे मन्डनदेउपुर नगरपालिका– ७ का २८ वर्षीय मनोज राई, काठमाडौं खुसिबुनिवासी ३० वर्षीय राहुल क्षेत्री र काठमाडौं नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ पक्राउ परे । गोश्वारा हुलाकबाट अमेरिकी गाँजा नेपाल आएको घटनामाथि प्रहरी गहिरो अनुसन्धानमा लाग्यो । यसै क्रममा मनोज राईकै नाममा क्यालिफोर्नियाबाटै पुनः अर्को पार्सल आइपुग्यो । पार्सलभित्र सर्ट, जिन्स पाइन्ट, जोली रेन्चर र केही म्यागेजिन थिए । जब प्रहरीले एक–एक गर्दै कपडा टक्टक्यायो, त्यहाँ एक किलो तीन सय ३० ग्राम गाँजा पनि भेटियो ।

यसअघि ४ कात्तिक ०७६ मा अमेरिकाबाटै तस्करी गरेर ११ किलो दुई सय ग्राम गाँजा र चरेस नेपाल भित्र्याइएको थियो । त्यतिवेला पनि तस्करले हुलाक नै प्रयोग गरेका थिए । फ्लाई दुबईको जहाजबाट नेपाल आइपुगेको गाँजा ‘म्युजिक सिस्टम’भित्र लुकाएर ल्याइएको थियो । ‘म्युजिक सिस्टम’ बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काभ्रे पाँचखाल– १० का ३८ वर्षीय अच्युत त्रिपाठी पुगेका थिए । पक्राउ परेका उनको बयानका आधारमा उक्त गाँजा र चरेस ठमेलस्थित डिलाइट होटेलका सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेले ल्याउन लगाएको खुलेको थियो । त्यसअघि अमेरिकाबाट गाँजा र चरेस तस्करी भएर नेपाल आएको फेला परेको थिएन ।

हुलाक नै प्रयोग गरेर ११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेट नेपाल आइपुग्यो । वीरगन्जका २२ वर्षीय राजशिखर गुप्ताको नाममा पार्सल भई आएको उक्त चकलेट बेलायतबाट पठाइएको थियो । बक्सभित्र गाँजामिश्रित दुई किलो दुई सय ५८ ग्राम तौलबराबरको ‘क्यान्डी’ थियो । प्रहरीले गुप्तालाई चकलेट बुझ्ने क्रममा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट पक्राउ गर्‍यो । उनको कोठा चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध एम्फेटामाइनबाट बनेका पाँच सय ‘ट्याब्लेट’ फेला पार्‍यो । उक्त लागुऔषध भने जर्मनबाट ल्याइएको खुलेको थियो ।

प्रहरीले सुन्धारास्थित तत्कालीन गोश्वारा हुलाक कार्यालयबाट १४ फागुन ०७६ मा तीन किलो दुई सय ४० ग्राम गाँजा बरामद गरेको थियो । उक्त गाँजा क्यानडाबाट पार्सल भई नेपाल आइपुगेको थियो । तस्करले ‘पेडियाट्रिक न्युट्रेसन’को टिनभित्र लुकाएर उक्त गाँजा नेपाल पठाएको थियो । अनुसन्धानपछि उक्त गाँजा पनि अमेरिकी ‘ब्रिड’ (नश्ल)को रहेको खुलेको थियो ।

यी घटनाले पछिल्लो समय लागुऔषध तस्करी गर्न गोश्वारा हुलाकको प्रयोग भइरहेको स्पष्ट पार्छ । लागुऔषध ब्युरोको तथ्यांकअनुसार तीन वर्षयता तस्करले लागुऔषध तस्करी गर्न हुलाक प्रयोग गरेको देखिन्छ । साना–ठूला गरी हुलाकबाट तस्कर हुने लागुऔषधका आठ ‘अप्रेसन’मा प्रहरी संलग्न भयो । जुन सबै गाँजा र चरेससँग सम्बन्धित थिए । तथ्य के भेटियो भने, पाँच ‘अप्रेसन’मा बरामद गाँजा अमेरिकी ‘ब्रिड’का थिए । बाँकी तीन ‘अप्रेसन’मध्ये बेलायत, क्यानडा र नेदरल्यान्डका गाँजा थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत देखिएको थियो ।

ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्का लागुऔषध तस्करले पछिल्ला दिन हुलाक प्रयोग गर्ने गरेको विभिन्न घटनाले नै पुष्टि गरेको बताउँछन् । ‘गएको केही वर्षयता हुलाकमार्फत लागुऔषध तस्करी हुने गरेको अनुसन्धानबाट देखिन्छ । यस क्रममा विशेषगरी गाँजा तस्करी भएको छ, त्यो पनि अमेरिकादेखि,’ उनले भने, ‘यसले एउटा स्वाभाविक प्रश्न के उठाएको छ भने अमेरिकादेखि गाँजा नेपालमा किन आइरहेको छ ? तथ्यमा आधारित उत्तर भेटाउन सकिएको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष