NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यसकारण आउँछ नेपालमा अमेरिकी गाँजा

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले तीन वर्षमा गरेको आठ अप्रेसनमध्ये पाँच अप्रेसनमा बरामद गाँजा अमेरिकी नश्लका थिए । बाँकी तीन बेलायत, क्यानडा र नेदरल्यान्डका थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत थियो । पूर्वडिआइजी मल्लका अनुसार अमेरिकी गाँजा तस्करी भएर नेपाल आउनुमा अमेरिका बसेर नेपाल फर्किएका दुर्व्यसनी, नेपाल आएका अमेरिकी पर्यटक र तेस्रो मुलुक निर्यात कारण हुन सक्छन् । अमेरिकी गाँजा नेपाल आउनुमा तीनवटा मुख्य कारण देखिन्छ । पहिलो, अमेरिका बसेर नेपाल फर्किएका दुर्व्यसनी नेपाली । उनीहरूमा अमेरिकी गाँजाको लत बसेको हुन सक्छ । त्यस्ता दुर्व्यसनीले अमेरिकी गाँजा मगाएका हुन सक्छन् । दोस्रो, अमेरिकी पर्यटक । नेपाल आउने अमेरिकी पर्यटक बढेका छन् । उनीहरूबाट अमेरिकी गाँजाको माग भएकाले नेपालमा तस्करी भएको हुन सक्छ । र, तेस्रो, गाँजा तस्करले नेपाललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गरेको हुन सक्छ । तेस्रो मुलुक लैजान नेपाललाई प्रयोग गरेको हुन सक्छ ।

११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेटको रासायनिक अनुसन्धान भयो । उक्त चकलेटमा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) नामक रसायन भएको भेटियो । जुन रसायनको सेवनपछि मानिसले ‘कृत्रिम आनन्द’ महसुस गर्छ । यो त्यही रसायन हो, जुन गाँजामा प्रशस्त मात्रामा पाइन्छ । अमेरिकी नश्लको गाँजामा यसको मात्रा अझ धेरै हुन्छ । स्वाद पनि केही नौलो हुन्छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार अमेरिकी गाँजामा डेल्टा– ९ टिएचसीको मात्रा नेपाली गाँजामा भन्दा तीन गुणा धेरै हुन्छ । ‘हाइब्रिड’ गरिएको हुनाले पनि अमेरिकी गाँजामा डेल्टा– ९ टिएचसी धेरै हुने उनको भनाइ छ ।

‘नेपाली गाँजा र अमेरिकी गाँजाको नश्ल फरक छ । गाँजामा डेल्टा– ९ टिएचसी रसायन हुन्छ । जुन अमेरिकी गाँजामा नेपालीको भन्दा दुई–तीन गुणा धेरै हुन्छ,’ उनले भने, ‘अर्कोतिर अमेरिकी गाँजा ‘हाइब्रिड’ गरिएका छन् । त्यस्ता गाँजामा डेल्टा– ९ टिएचसी रसायन धेरै हुनु स्वाभाविक हो । जसको सेवनपछि मानिसले कृत्रिम आनन्द अधिक मात्रामा महसुस गर्छ । किनकि यो कडा हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।