NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कहिले पाउँदैछ देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन तेस्रो साता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार भएको छलफलमा आयोगका पदाधिकारीले २२ वा २३ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी रहेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डले आयोगले उपयुक्त ठानेको समयमा चुनाव गर्न सरकार आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न तयार रहेको बताएका थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एक साताभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरिने बताए । ‘सरकारको परामर्शमा फागुन तेस्रो साता राष्ट्रपति चुनाव गराउने आयोगको तयारी छ,’ उनले भने, ‘यसको १५ दिनभित्र उपराष्ट्रपतिको चुनाव गराउने व्यवस्थाअनुसार फागुनभित्रै सम्पन्न गर्छाैँ । फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउँछ ।’

प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि आयोग आवश्यक तयारीमा रहेको बताए । ‘मतदाता अन्तिम नामावली तयार पार्नेलगायत कामहरू भइरहेको छ । निर्वाचनलाई पुग्ने गरी सबै सामग्री तयार छ । सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने भनिसकेको छ,’ उनले भने । नयाँबानेश्वरमा कार्यालय स्थापना र उच्च अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने प्रक्रिया अघि बढेको थपलियाले बताए । थपलियाले फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाइसक्ने बताए ।

संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभाका सदस्य मतदाता हुन्छन्, जसलाई निर्वाचकमण्डल भनिन्छ । निर्वाचकमण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुने र त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने व्यवस्था संविधानमा छ । यो मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुने र त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति हुन संघीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानुनले अयोग्य नभएको हुनुपर्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २९ फागुन ०७४ मा दोस्रोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन ४ चैतमा निर्वाचित भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।