NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

चर्चित दुई काण्ड खुलासा गर्ने पूर्वपत्रकारले मागे सरकारसँग सुरक्षा

काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस बार्गेनिङको अडियो तथा तत्कालीन सभामुख कृष्णबहादुर महराले आफ्नै सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेर चर्चामा आएका पूर्वपत्रकार एवं कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारसँग सुरक्षा माग गरेका छन् ।

राजनीतिमा प्रवेश गर्नुअघिको व्यावसायिक पृष्ठभूमिका कतिपय घटनाका कारण आफूमाथि सुरक्षा खतरा रहेको भन्दै शिवाकोटीले सरकारसँग सुरक्षाकर्मी मागेका हुन् ।

गृह मन्त्रालयमा एक निवेदन दिँदै शिवाकोटीले पछिल्लो बदलिँदो परिस्थितिमा सुरक्षा चुनौती थपिएकाले सुरक्षाकर्मी उपलब्ध गराइदिन भनेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कार्यविधिमा कुनै पनि नागरिकले असुरक्षित महसुस गरेको अवस्थामा त्यसको अध्ययन गरेर सुरक्षाकर्मी उपलब्ध गराउने व्यवस्था छ । तत्कालीन सभामुखले आफ्नै सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको काण्ड र तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड घुस बार्गेनिङको अडियो सार्वजनिकपछि शिवाकोटीकै मागअनुसार सरकारले उनलाई सुरक्षाकर्मी उपलब्ध गराएको थियो । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएपछि भने शिवाकोटीको सुरक्षामा खटिएका प्रहरी पनि फिर्ता भएका थिए ।

‘पछिल्लो समय सुरक्षा चुनौती थपिएको महसुस गरिरहेकै बेला पिएसओ फिर्ता लिने निर्णय भएबाट असुरक्षित महसुस गर्ने अवस्था सिर्जना भएको छ,’ शिवाकोटीले सुरक्षा माग गर्दै दिएको निवेदनमा भनिएको छ, ‘तसर्थ पूर्ववत् अवस्थामा पिएसओ खटाइ भयरहित रूपमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय हुनसक्ने अवस्था निर्माणका लागि अनुरोध छ ।’

उपप्रधान तथा गृह मन्त्रीमा नियुक्त भएलगत्तै रवि लामिछानेले कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्ने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयपछि विगतमा कार्यविधिविपरीत सुरक्षाकर्मी लिएकाले गृह मन्त्रालयमा धमाधम निवेदन दिन थालेका छन् । कार्यविधिअनुसार, सरकारले सुरक्षा खतरा भएका व्यक्तिलाई आवश्यक हेरेर सुरक्षाकर्मी दिनसक्छ । यस्तो आग्रहपछि गृह मन्त्रालय आफैंले आफ्नो निर्णयविपरीत सुरक्षाकर्मी पठाउन थालेको छ । केही दिनअघि मात्रै राप्रपाका नेता तथा पूर्वमन्त्री प्रकाचन्द्र लोहनीलाई कार्यविधिविपरीत पुनः नेपाल प्रहरीका एक हवल्दार पठाइएको छ ।