NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यसरी भारी मतले प्रदेश १ मा मुख्यमन्त्री नियुक्त हुँदैछन् कार्की

काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री चयनका लागि दलहरूलाई दाबी पेश गर्ने दिएको समयसीमा आइतबार ५ बजे सकिँदैछ ।

१७ पुसमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम एक साताको समय दिएर मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए ।

मुख्यमन्त्रीका लागि गठबन्धनबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गर्ने भएका छन् । मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की झापा–५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी एमाले स्थायी समिति सदस्यसमेत हुन् ।

अध्यक्ष केपी ओलीका विश्वासिला पात्र रहेका उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । यहाँ सबैभन्दा ठूलो दल रहेको एमालेले ४० सिट जितेको छ । गठबन्धन दल माओवादीको १३ सिट छ ।

मुख्यमन्त्री दाबी गर्दै आएको माओवादीले भागबण्डाको आधारमा प्रदेश १ एमालेलाई छाडेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । कार्कीलाई राप्रपा र जसपाकोसमेत समर्थन रहेकाले उनको पल्ला भारी भएको छ । प्रदेश १ मा राप्रपाको ६ र जसपाको एक सिट गरी ६० सदस्यको समर्थन कार्कीलाई रहेको छ ।

‘गठबन्धनको तर्फबाट हामीले एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री दाबीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष पेश गर्दैछौंं’, उनले भने, ‘माओवादीका साथीहरूले प्रदेश एकमा दाबी गर्नुहुनेछैन । कार्की नै गठबन्धनका साझा उम्मेदवार हुन् ।’

विपक्षी कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ सिट रहेको छ । गठबन्धन सरकारलाई समर्थन गर्ने/नगर्ने सम्बन्धमा नेकपा एसको केन्द्रीय बैठकले कुनै निर्णय नभएकाले कार्कीलाई मत दिने विषयमा अलमल देखिएका छन् ।

प्रदेशको भागबण्डा टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक आइतबार बोलाइएको छ । संविधान धारा १६८ को उपधारा (१) बमोजिम कुनै दलको बहुमत नभएकाले उपधारा (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हु्न् ।